काठमाडौँ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरू बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जन स्वास्थ्यमा असर परेको देखिएकाले त्यसबाट जोगिन अपिल गरेको छ ।
Tata
RATOPATI PATRO
वायु प्रदूषणका कारण आँखा पोल्ने, नाक चिलाउने, घाटी खसखसाउने, खोकी लाग्ने समस्या तुरुन्त देखिने गर्दछन् भने दीर्घकालीन रूपमा श्वास प्रश्वास, मुटु, गर्भावस्थामा जटिलतालगायतका विभिन्न स्वास्थ्य समस्या हुने गर्दछ ।
यसले विशेष गरी वृद्धवृद्धा, बालबालिका, श्वासप्रश्वास, मुटु रोगी, दीर्घरोगी, साथै गर्भावस्थाका महिला बढी प्रभावित हुने भएकोले यस्तो बेला विशेष सावधानी अपनाउन विभागले सबैमा अपिल गरेको हो ।
Laxmi sunrise bank 2034
नेपालमा फागुन, चैत, वैशाख र जेठ महिनामा वायु प्रदूषण बढ्ने गरेको वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रबाट प्राप्त तथ्याङ्कले देखाएको छ । यस अवधिमा विशेष गरी बढ्दो तापमान, कम सापेक्षित आद्रता र सुक्खा मौसमजस्ता प्राकृतिक कारणबाट हुने डढेलो, मानवीय कारणजस्तै फोहर तथा कृषि अवशेष जलाउँदा तथा उद्योग कलकारखाना, सवारी साधन, भौतिक निर्माण आदिबाट निस्कने प्रदूषित धुवाँ धुलोबाट वायु प्रदूषण हुने गरेको पाइएको छ ।
Shivam Cement
हाल देशका अधिकांश भूभागमा डढेलो तथा आगलागीका घटना बढिरहेको तथा डढेलोको कारणले जनधनको क्षतिका विवरण प्राप्त भइरहेका विभागले जनाएको छ ।
भू–उपग्रहको तथ्याङ्क विश्लेषणबाट प्राप्त विवरणबमोजिम सन् २०२४ को सुरुआतदेखि हालसम्म एक हजार ६५३ डढेलो तथा आगलागीका घटना भएको देखिन्छ । पछिल्लो दिनमा डढेलो तथा आगलागीका घटना बढेसँगै नेपालको अधिकांश भूभागमा वायु प्रदूषण बढेको पाइएको छ ।
प्रदूषण बढी भएका स्थानमा घर बाहिर निस्कँदा सबै नागरिकले अनिवार्य रूपमा मास्कको प्रयोग गर्न तथा वायु प्रदूषण बढाउने किसिमका क्रियाकलापजस्तै फोहर बाल्ने, कृषिजन्य अवशेष बाल्नेलगायतका क्रियाकलाप नगर्नसमेत विभागको अनुरोध छ । सानो लापरबाहीका कारण वन डढेलोले ठुलो क्षति पुर्याउन सक्ने भएकाले सचेत हुनका साथै वन डढेलो नियन्त्रणका लागि जिम्मेवार निकायले सक्रियता बढाउन तथा सरोकारवाला निकायसँग हातेमालो समेत गर्न आम समुदायलाई विभागले अपिल गरेको छ ।