वन डढेलो रोकथामका लागि विशेष अभियान 

पाल्पा — अघिल्लो वर्ष ४ सय बढी स्थानमा डढेलो तथा आगलागीको घटना भएको पाल्पामा यसवर्ष रोकथामका लागि विशेष तयारी थालिएको छ । लामो समयदेखि पानी नपरेर सुक्खा मौसम बढेसँगै हावाहुरी चल्न सुरु भएकाले डढेलो रोकथामका कार्यहरू भइरहेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले बताए ।

१० स्थानीय तहका ८१ वडामध्ये ३९ वटा वन डढेलोको उच्च जोखिममा रहेको उनले बताए । ‘यसवर्ष सुख्खा मौसम अझ लामो हुने देखिएकाले पनि सचेतनाका अभियान सुरु गर्नुपर्ने अवस्था आएको हो,’ उनले भने, ‘त्यसैले पनि विशेष अभियान सञ्चालन गरेर नियन्त्रण र रोकथामको काम गर्नुपर्ने हुन्छ ।’

जिल्लाका ९६ प्रतिशत वनमा डढेलो मानवीय कारणले लाग्ने गरेको छ । ६४ प्रतिशत जानेर र ३२ प्रतिशत हेलचेक्र्याँइका कारण लाग्ने गरेको हो । २६ वडा मध्यम र १६ वडा न्यून जोखिममा रहेको कार्यालय प्रमुख भट्टराईले बताए ।

डढेलोबाट हुने वातावरणीय तथा जनधनको क्षति न्यूनीकरण गर्नका लागि अभियान सञ्चालन गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीले जनाएको छ । अभियान अन्तर्गत प्रहरीले बस्तीनजिक रहेका जलनशील पदार्थ पातपतिङ्गर हटाउने, अग्निरेखा कोर्ने, घरनजिक राखिएका स्याउला हटाउने, जनचेतनामूलक सामग्री वितरण गर्ने र सुकेका पातपतिङ्गरको व्यवस्थान गर्ने काम गरिरहेको छ ।

जिल्लाका सामुदायिक वन उपभोक्ता समिति, कर्मचारी तथा सरोकारवाला निकाय र समुदायसाग अन्तर्क्रिया गर्दै सुरक्षाकर्मी र वन कर्मचारीसहितको टोली परिचालन गरिने उनले बताए । नागरिकलाई सचेत हुन कार्यालयले सञ्चार माध्यमबाट सूचना प्रवाह गर्नुका साथै अन्तर्क्रिया, छलफल तथा जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिने उनले बताए । जिल्लास्तर, इलाका वनस्तरमा पनि जनप्रतिनिधि र सरोकारवालालाई राखेर कार्यक्रम संचालन गरिनेछ ।

Back To Top