शितगङ्गा (अर्घाखाँची)। नेपालमा मात्र पाइने अति दुर्लभ तथा रैथाने चरा ‘काँडे भ्याकुर’ (Spiny Babbler) अर्घाखाँची जिल्लामा पहिलोपटक अभिलेख गरिएको छ। जिल्लाको शितगङ्गा नगरपालिकास्थित पर्यटकीय तथा जैविक दृष्टिले महत्वपूर्ण ठाडादह क्षेत्रमा यो दुर्लभ प्रजाति फेला परेको हो।
डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा काँडे भ्याकुर भेटिएको वा अभिलेख राखिएको कुनै इतिहास थिएन। ठाडादह क्षेत्रमा यसको उपस्थिति आधिकारिक रूपमा पुष्टि भएपछि यहाँको वन क्षेत्र र प्राकृतिक बासस्थानमा चराचुरुङ्गीको विविधता थप समृद्ध रहेको खुलासा भएको छ।
काँडे भ्याकुर नेपालमा मात्र पाइने (Endemic) चरा भएकाले यसको संरक्षण र उपस्थिति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै रूपमा विशेष महत्वको मानिन्छ। यसअघि मध्यपहाडी क्षेत्र र काठमाडौं उपत्यका आसपास बढी देखिने यो चरा अर्घाखाँचीको दक्षिणी भू-भागमा फेला पर्नुले यसको भौगोलिक फैलावट (Range expansion) र अनुसन्धानको दायरा फराकिलो भएको संकेत गरेको छ।
ठाडादह क्षेत्रमा यस्ता दुर्लभ वन्यजन्तु तथा पक्षीको उपस्थिति पाइनुले आगामी दिनमा ‘बर्ड वाचिङ’ (चरा अवलोकन) पर्यटन प्रवर्द्धन गर्न र स्थानीय तहमा संरक्षणप्रति जनचेतना जगाउन ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ।
डिभिजन वन कार्यालयले यस क्षेत्रका जंगल तथा प्राकृतिक बासस्थानहरूको संरक्षणमा थप जोड दिने बताएको छ। स्थानीय प्रकृतिप्रेमी र संरक्षणकर्मीहरूले पनि यस दुर्लभ पाहुनाको संरक्षणका लागि विशेष कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

