काठमाडौं । काठमाडौंको शंखरापुरस्थित बहुप्राविधिक शिक्षालयको कम्पाउण्डभित्र पसेको चितुवाको सफल उद्धार गरिएको छ।
बिहीबार शिक्षालयको परिसरभित्र चितुवा प्रवेश गरेपछि डिभिजन वन कार्यालय काठमाडौंको प्राविधिक टोली, सबडिभिजन वन कार्यालय साँखु र प्रहरी प्रभाग साँखुको संयुक्त समन्वयमा उद्धार कार्य अघि बढाइएको थियो।

संयुक्त टोलीले सक्रियता देखाउँदै चितुवालाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर उद्धार गरेको हो। मानव–वन्यजन्तुबीचको सम्भावित द्वन्द्व रोक्न तथा वन्यजन्तुको संरक्षण सुनिश्चित गर्न सम्बन्धित निकायबीचको समन्वय र सहकार्यमा उद्धार कार्य सफल भएको जनाइएको छ।
चितुवाको उद्धारमा खटिएका वन कार्यालयका प्राविधिक टोली, प्रहरी तथा सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद दिँदै मानव–वन्यजन्तु सहअस्तित्व र संरक्षणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताइएको छ।

