ताजा खबर
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला
अवैध काठसहित पक्राउ परेका व्यक्तिविरुद्ध डिभिजन वन कार्यालयमा मुद्दा दायर
पहिलाखोला सामुदायिक वनले २ हजार ३८० क्यु.फिट काठ लिलाम गर्दै
काठमाडौँ फरेस्ट्री कलेजमा जनशक्ति आवश्यकता
लुम्बिनीमा स्थायी O&M हुँदै, वन संगठन संरचनामा वन प्राविधिकको चासो
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै,एक वर्षमा ९० लाख भन्दा आम्दानी
खर्क नीति २०६८ समसामयिक सुधारका लागि बहुसरोकारवाला छलफल
वन तथा वातावरण क्षेत्रका कर्मचारीको सरुवा र काज व्यवस्थित गर्न नयाँ मापदण्ड लागू

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

बाँके । बाँकेमा आर्थिक वर्ष २०८२ -०८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणमा परेको छ ।

अतिक्रमित वनक्षेत्रमा करिब तीन हजार ९९० घरटहरा निर्माण भएका छन् । हालसम्म बाँके जिल्लामा ६०७ दशमलव ९८ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी टङ्क गुरुङले जानकारी दिए ।

उनका अनुसार, अतिक्रमणको ठूलो हिस्सा विगतमा बाढीबाट विस्थापित भएका परिवारसँग जोडिएको छ । नरैनापुर गाउँपालिकामा मात्रै २७३ हेक्टर वनक्षेत्र अतिक्रमण गरी ९७५ घरधुरी बसोबास गरिरहेका छन् ।

तत्कालीन समयमा बाढीपीडितलाई बस्न दिइएको क्षेत्रमा अतिक्रमण हटाउने प्रयास भए पनि पुनः बाढी आएपछि विस्थापित परिवार फर्केर बस्न थालेका हुन् ।

विसं २०६६ र त्यसपछि बाढीबाट प्रभावित परिवारलाई तत्कालीन अवस्थामा बसोबासका लागि दिइएको वनक्षेत्र व्यवस्थित हुन नसक्दा समस्या बढ्दै गएको छ । २०७४ सालको बाढीपछि पनि त्यस्ता परिवार पुनः वनक्षेत्रमा आएर बसोबास गर्न थालेका छन् ।

सूचना अधिकारी गुरुङका अनुसार, राप्तीसोनारी गाउँपालिकाको वडा नं ५, ६ र ७ मा २११ हेक्टर वनक्षेत्र अतिक्रमण गरी एक हजार ९२५ घरधुरीले बसोबास तथा खेतीपाती गर्दै आएका छन् ।

वडा नं २ मा ३२ दशमलव ९८ हेक्टर वनक्षेत्र अतिक्रमण गरी ६०४ घरटहरा निर्माण गरिएको छ भने वडा नं १, ३ र ४ मा ४१ हेक्टर वनक्षेत्र अतिक्रमण गरी ७२ घरधुरी बसोबास गरिरहेको पाइएको छ ।

कोहलपुर नगरपालिका वडा नं ७, ८ र १२ तथा बैजनाथ गाउँपालिका–२ मा समेत वनक्षेत्र अतिक्रमण भएको छ । ती क्षेत्रमा २०४४ -०४५ देखि २०७१ -०७२ सम्म गैरबाढीपीडितका २० घरटहरा निर्माण भएपनि अहिले त्यहाँ नियमित बसोबास नरहेको र सात जनाले भने खेतीपाती गर्दै आएका छन् ।

त्यस्तै, डुडुवा गाउँपालिका–१ बाहेक अन्य वडा र नेपालगञ्जका विभिन्न क्षेत्रमा समेत वनक्षेत्रमा ३९४ घरटहरा निर्माण भएको गुरुङले जानकारी दिए । बाँकेमा भएको अधिकांश वन अतिक्रमण २०७५ सालअघि नै भएको हो । वन अतिक्रमण हटाउन चालु आर्थिक वर्षमा योजना बनाएर अगाडि बढ्ने डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top