ताजा खबर
‘निष्क्रिय सामुदायिक वनलाई सक्रिय बनाउँदै समृद्ध भोजपुर बनाउने हाम्रो लक्ष्य हो’ : डिभिजनल वन अधिकृत खुद्रुस मियाँ (अन्तर्वार्ता)
चम्पादेवीमा अतिक्रमण नियन्त्रण, करिब ०.५ हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त
५० हेक्टर वन क्षेत्रमा २० वटा बाघ राख्न सक्ने टाइगर सेन्चुरी बनाइदै
डिभिजन वन कार्यालयद्वारा घरभित्र अड्किएको चितुवाको सफल उद्धार
बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार
फेवा ताल जोगाउन १५ वर्षे एकीकृत योजना स्वीकृत, कार्यान्वयन सुरु
वन्यजन्तु अपराध नियन्त्रणमा बलियो क्षेत्रीय सहकार्य आवश्यक: मन्त्री चौधरी
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते

‘निष्क्रिय सामुदायिक वनलाई सक्रिय बनाउँदै समृद्ध भोजपुर बनाउने हाम्रो लक्ष्य हो’ : डिभिजनल वन अधिकृत खुद्रुस मियाँ (अन्तर्वार्ता)

काठमाडाैं । ​पहाडी जिल्ला भोजपुर जैविक विविधता र बहुमूल्य जडीबुटीका लागि प्रख्यात छ। जिल्लाको विशाल वन क्षेत्रको दिगो व्यवस्थापन, डढेलो नियन्त्रण, जडीबुटीको बजारीकरण तथा पर्यापर्यटन प्रवर्द्धनका लागि डिभिजन वन कार्यालय भोजपुर कसरी अघि बढिरहेको छ त पूर्वकाे वनलाइ कसरी हेरिएकाे छ? प्रस्तुत छ, भोजपुरका डिभिजनल वन अधिकृत खुद्रुस मियाँसँग ‘वनका कुरा डटकम’का लागि गरिएको कुराकानीको सम्पादित अंश:

भोजपुरमा डिभिजनल वन अधिकृतका रूपमा यहाँको मुख्य प्राथमिकता र चालु आर्थिक वर्षका प्रमुख कार्यक्रमहरू के-के हुन्?

म गत २०८२ मंसिर २४ गते यस कार्यालयमा हाजिर भएर काम गरिरहेको छु। मेरो मुख्य प्राथमिकता वन तथा जैविक विविधता संरक्षण, दिगो वन व्यवस्थापन, सार्वजनिक तथा निजी वनको विकास, र वन उद्यम तथा पर्यापर्यटन प्रवर्द्धनमा छ। साथै, सुशासन, जलवायु उत्थानशीलता, कार्बन सञ्चिति र प्रकाशकीय सुधारलाई पनि जोड दिएको छु।

​चालु आर्थिक वर्ष २०८३/८४ मा हामीले संरक्षण, विकास र दिगो व्यवस्थापनलाई एकीकृत रूपमा अगाडि बढाएका छौं, जसमावन तथा वन्यजन्तु संरक्षण अन्तर्गत रेड पाण्डाको वासस्थान व्यवस्थापन (पोखरी र टोड्का निर्माण), मिचाहा प्रजाति व्यवस्थापन, सुरक्षा निकायसँगको सहकार्यमा गस्ती तथा एफएम र पत्रपत्रिकामार्फत जनचेतना अभिवृद्धि गर्ने

अर्काे छ ​वन विकास: नर्सरी निर्माण, बिरुवा उत्पादन र सार्वजनिक तथा निजी जग्गामा वृक्षारोपण, कबुलियती वनमा जीविकोपार्जनका लागि फलफूल, मौरीपालन, बाख्रापालन र जडीबुटी खेतीमा जाेड दिने । त्यसैगरी दिगो व्यवस्थापन र उद्यम: काठ-दाउराको दिगो उत्पादन, कागजात र बाँसका सामग्रीमा आधारित वन उद्यम, जैतुन खेती विस्तार, अतिक्रमण नियन्त्रण, र जडीबुटीको व्यापारीकरणमा जाेड गर्ने नीति लिएका छाैं ।

प्रदेश मन्त्रालय र धरानस्थित प्रदेश वन निर्देशनालयसँगको समन्वय र सहकार्य कस्तो छ?

उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय (विराटनगर) र प्रदेश वन निर्देशनालय (धरान) सँगको समन्वय एकदमै सहज र सकारात्मक छ। प्राविधिक मार्गदर्शन र अनुगमन समयमै हुने गरेको छ। यद्यपि, कार्यक्रम स्वीकृत भएपछि कार्यान्वयन कार्यविधि समयमै प्राप्त नहुँदा केही ढिलाइ हुने गर्छ। नियमित अनुगमन र प्राप्त सुझावलाई कार्यान्वयन गर्दै सम्बन्ध अझ सुदृढ बनाइरहेका छाैं।

तीन तहका सरकार (संघ, प्रदेश र पालिका) बीच क्षेत्राधिकार र कानुन कार्यान्वयनमा कुनै दोहोरोपन छ?

संघमा विवरण पठाउँदा प्रदेश मन्त्रालय र निर्देशनालयमार्फत पठाउने परिपाटीलाई अझ सुदृढ बनाउन आवश्यक छ। निजी जग्गाका रुख कटान र ओसारपसारका लागि वन ऐनले स्थानीय तहलाई अधिकार दिएको भए पनि पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन। यद्यपि, अन्य कार्यमा स्थानीय पालिकासँग राम्रो सहकार्य भइरहेको छ।

भोजपुरमा सामुदायिक वन र उपभोक्ता समूहहरूको सक्रियता कस्तो छ? उनीहरूलाई आत्मनिर्भर बनाउन के गर्दै हुनुहुन्छ?

भोजपुरमा ५६५ वटा सामुदायिक वन छन्, तर त्यसमध्ये करिब ५० प्रतिशत निस्कृय वा संरक्षणमुखी मात्र छन्। साना-साना (०.५ देखि १० हेक्टरसम्मका १३६ वटा) वन क्षेत्र भएकाले बजेटको अभावमा कार्ययोजना नवीकरण हुन सकेको छैन। हामीले साना वनहरूलाई मर्ज (ग्याभ्ने) गर्ने र कार्ययोजना नवीकरण गरी उनीहरूलाई सक्रिय बनाउने अभियान चलाएका छौँ। उपभोक्ताहरूलाई आत्मनिर्भर बनाउन विभिन्न तालिम र सशक्तीकरणका कार्यक्रम भइरहेका छन्।

भोजपुर चिराइतो र सतुवाजस्ता बहुमूल्य जडीबुटीका लागि धनी छ। यसको बजारीकरणका लागि के योजना छन्?

टेम्केमैयुङ र भोजपुर नगरपालिकामा चिराइतो र सतुवा, षडानन्दमा रुद्राक्ष, साल्पासिलिछोमा अल्लो र अर्गेली, आमचोकमा लौठसल्ला, र सुख्खाग्रस्त क्षेत्रहरूमा टिमुर, सजिवन, तेजपात, खयर खेती विस्तार भइरहेको छ।

​जडीबुटीको मूल्य अभिवृद्धिका लागि पकेट क्षेत्रहरूमा गोदामघर र हाइड्रोलिक कम्प्रेशन मेसिनसहितको प्याकिङ व्यवस्था मिलाइएको छ। संकलन, प्रशोधन, भण्डारण र बजार सूचना प्रणालीका लागि किसान र सरोकारवालाको क्षमता अभिवृद्धि गरिरहेका छौं।

सुखा मौसममा देखिने वन डढेलो, भू-अतिक्रमण र चोरी-निकासी नियन्त्रणका लागि के-कस्ता पूर्वतयारी छन्?

मुख्यगरी ​डढेलो नियन्त्रणका लागि भोजपुर, विशेष गरी अरुण नदी तटीय क्षेत्र डढेलोका दृष्टिले संवेदनशील छ। हामीले सेना, प्रहरी, सशस्त्र र वन कर्मचारी सम्मिलित ‘डढेलो नियन्त्रण विशेष टोली’ र सब-डिभिजन स्तरसम्म सञ्जाल गठन गरेका छौं। डढेलो नियन्त्रण सामग्री (वाटर ब्याग, स्वाटर, साबेल आदि) खरिद गरी सुरक्षा निकायलाई हस्तान्तरण गरिएको छ।

त्यसैगरी ​अतिक्रमण नियन्त्रण: तथ्यांक अद्यावधिक गरी गस्ती बढाएका छौं अतिक्रमित क्षेत्र फिर्ता गराई गरिब घरधुरी पहिचान गरेर कबुलियती वनका रूपमा हस्तान्तरण गर्ने रणनीति लिएका छौं। अर्काे महत्वपूर्ण भनेकाे ​चोरी-निकासी नियन्त्रण हाे भोजपुर ६ वटा जिल्लासँग जोडिएकाले समुदायमा आधारित संयन्त्र निर्माण गरी गैरकानूनी कटान र चोरी-निकासी निरुत्साहित गरिरहेका छौं।

जलवायु परिवर्तनका कारण सुक्दै गएका पानीका मुहान र जलधार संरक्षणका लागि के-स्ता अनुकूलन कार्यक्रम छन्?

जलवायु परिवर्तनका कारण परेको असर न्यूनीकरण गर्न स्थानीय तह र सामुदायिक वनसँगको सहकार्यमा मुहान पुनर्भरणका लागि ‘संरक्षण पोखरी’ निर्माण र मर्मत भइरहेको छ। साथै, पानीका मुहान वरिपरि वृक्षारोपण, भू-क्षय र पहिरो नियन्त्रण, सोत्तर-सुधारिएको चुलोको प्रयोग, र ‘रेड प्लस’ (REDD+) सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरिरहेका छौं।

सर्वसाधारणले आफ्नै निजी जग्गाको रुख कटान गर्दा सास्ती पाएको गुनासो सुनिन्छ। यसलाई सरल बनाउन के गर्नुभयो?

निजी प्रयोगका लागि रुख कटान र ओसार पसारमा अहिले कुनै झन्झट छैन। व्यावसायिक प्रयोजनका लागि कानुनी प्रक्रिया पुर्याउनुपर्ने भएकाले केही समय लाग्न सक्छ। प्रक्रियालाई सरल बनाउन मैले छोडपुर्जी बाहेकका अधिकांश प्रशासनिक अधिकार सम्बन्धित सब-डिभिजन वन कार्यालयहरूलाई नै प्रत्यायोजन (Delegation) गरिदिएको छु।

भोजपुर डिभिजनमा जनशक्ति र भौतिक स्रोत-साधनको स्थिति कस्तो छ?

डिभिजन कार्यालयको पुरानो भवन र साना कोठाहरूका कारण केही कठिनाइ छ, तर जनशक्ति र प्राविधिक स्रोतको स्थिति सन्तोषजनक छ। दरबन्दी अनुसारका कर्मचारी रहेकाले दैनिक कार्यसम्पादनमा कुनै असर परेको छैन।

अन्त्यमा, भोजपुरबासीलाई वन तथा वातावरण संरक्षणका लागि के सन्देश दिन चाहनुहुन्छ?

वन र प्राकृतिक सम्पदाको संरक्षण हामी सबैको साझा जिम्मेवारी हो। भोजपुरको वन क्षेत्रलाई दिगो व्यवस्थापन गर्दै रोजगारी र जीविकोपार्जनसँग जोड्नु नै हाम्रो मुख्य लक्ष्य हो।

​खाली तथा सार्वजनिक जग्गामा वृक्षारोपण गरौं, डढेलो नियन्त्रणमा सहयोग गरौँ, चोरी-निकासी रोकौं र निजी जग्गामा जडीबुटी तथा कृषि-वनको विकास गरी आयआर्जन बढाऔं। वन जोगाउनु भनेको हाम्रो भावी पुस्ताको भविष्य सुरक्षित गर्नु हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top