चितवन । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि चर्चित र लोकप्रिय रहँदै आएको जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ। निकुञ्जको विषहजारी ताल तथा आसपासको पोस्ट नजिकै नियमित गस्तीमा रहेका कर्मचारी र प्राविधिक टोलीले हात्तीलाई मृत भेटेका हुन्।
हात्तीको मृत्युको वास्तविक कारण भने खुल्न सकेको छैन। निकुञ्जका पशु चिकित्सक र विशेषज्ञ टोली घटनास्थल पुगेर प्रारम्भिक अध्ययन तथा पोष्टमार्टमको तयारी गरिरहेका छन्। उमेर वा रोग जस्ता प्राकृतिक कारण, अन्य हात्तीहरूसँगको जुधाइ वा अन्य कुनै कारणले मृत्यु भएको हो भन्नेबारे पोष्टमार्टम रिपोर्ट आएपछि मात्र आधिकारिक पुष्टि हुने निकुञ्ज प्रशासनले जनाएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा आफ्नै छुट्टै प्रभाव जमाएको यो हात्तीको नाम चर्चित फुटबलरको नामबाट ‘रोनाल्डो’ राखिएको थियो। खासगरी प्रजनन सिजनमा हात्तीसारका घरपालुवा पोथी हात्तीहरूसँग नजिकिन आउने र आफ्नो वर्चस्व देखाउने स्वभावका कारण रोनाल्डो निकै चर्चित थियो। समय-समयमा मध्यवर्ती क्षेत्रका मानव बस्ती नजिक पुग्ने र बालीनालीमा क्षति पुर्याउने गरे पनि निकुञ्ज क्षेत्रको एक शक्तिशाली र आकर्षक वन्यजन्तुका रूपमा यसलाई हेरिन्थ्यो।
चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्तीहरूको संख्या सीमित रहेको अवस्थामा ‘रोनाल्डो’ जस्तो वयस्क र मुख्य भाले हात्तीको मृत्यु हुनुलाई संरक्षणकर्मीहरूले ठूलो क्षतिका रूपमा लिएका छन्। निकुञ्ज टोलीले कानूनी प्रक्रिया र पोष्टमार्टम पूरा गरी हात्तीलाई सोही क्षेत्रमा व्यवस्थापन गर्ने जनाएको छ।

