अर्घाखाँची:- स्रोत नखुलेको साल जातको चिरान काठ राखेको आरोपमा शितगंगा नगरपालिका–११, लडुग्री निवासी ३० वर्षीय रेसम पल्लीविरुद्ध डिभिजन वन कार्यालय अर्घाखाँचीमा वन मुद्दा दायर गरिएको छ।
लडुग्री क्षेत्रमा अवैध काठको ओसारपसार तथा चोरी–तस्करीजन्य गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा सबडिभिजन वन कार्यालय शितगंगाले उक्त क्षेत्रमा निगरानी बढाएको थियो। सोही क्रममा स्रोत नखुलेको साल जातको चिरान काठसहित पल्लीलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयले जनाएको छ।
वन क्षेत्रमा अवैध गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा निगरानी तथा अनुगमनलाई तीव्रता दिइएको र सोही क्रममा काठसहित व्यक्ति नियन्त्रणमा लिन सफल भएको कार्यालयले जनाएको छ।
डिभिजन वन कार्यालयका अनुसन्धान अधिकारी प्रदीप चौधरीका अनुसार घटनासम्बन्धी अनुसन्धान पूरा गरी अभियोगपत्र दर्ता गरिएको हो। अभियोगपत्रमा बिगोबमोजिमको रकम असुल तथा तीन महिना कैद सजायको मागदाबी गरिएको चौधरीले जानकारी दिए।
डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार चालु आर्थिक वर्षमा अवैध वन पैदावार तथा वनसम्बन्धी कसुरमा तीन वटा मुद्दा दायर भइसकेका छन्। वन क्षेत्रमा हुने चोरी, तस्करी तथा अवैध वन पैदावारको कारोबार नियन्त्रणका लागि निगरानी तथा कानुनी कारबाहीलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ।

