नवलपरासी । नवलपरासीको हुप्सेकोटस्थित नेपालकै ठूला र जोखिमयुक्त पहिरोमध्ये एक मानिने राम्चे पहिरो न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग सुरु गरिएको छ। पहिरो प्रभावित क्षेत्रमा ड्रोनमार्फत अम्रिसोको बीउ छरेर भू–क्षय नियन्त्रण तथा माटो संरक्षण गर्ने अभियान थालिएको हो।
करिब ४० देखि ४२ हेक्टर क्षेत्रफलमा फैलिएको राम्चे पहिरो सन् १९८१ देखि निरन्तर सक्रिय रहँदै आएको छ। गिन्द्री जलाधारको शिरमा रहेको यस क्षेत्रमा मौसमी प्रभावका कारण माटो खुम्चिने, जमिनमा चिरा पर्ने तथा मनसुनको समयमा तीव्र भू–क्षय हुने समस्या देखिँदै आएको छ। यसका कारण पहिरोको जोखिम वर्षेनी बढ्दै गएको स्थानीयको भनाइ छ।
मानवीय रूपमा पुग्न कठिन र जोखिमयुक्त भू–भाग भएकाले पहिरो नियन्त्रण तथा वनस्पति पुनःस्थापनाका लागि ड्रोन प्रविधिको प्रयोग गरिएको हो। ड्रोनबाट अम्रिसोको बीउ छरेर पहिरो प्रभावित क्षेत्रमा वनस्पति आवरण विस्तार गर्ने र माटोको क्षय कम गर्ने लक्ष्य राखिएको छ।
अम्रिसोको बलियो र फैलिने जराले माटोलाई बाँधेर राख्न सहयोग गर्ने भएकाले पहिरो न्यूनीकरणमा यसको प्रयोग प्रभावकारी हुने अपेक्षा गरिएको छ। दुर्गम तथा जोखिमयुक्त भू–भागमा ड्रोनमार्फत बीउ छर्ने प्रविधिले कम समय र श्रममा ठूलो क्षेत्रमा वनस्पति विस्तार गर्न सकिने भएकाले यो अभियानलाई नयाँ प्रयोगका रूपमा हेरिएको छ।
प्रविधि र प्रकृति संरक्षणलाई एकसाथ जोडेर अघि बढाइएको यस अभियानले राम्चे पहिरोको दीर्घकालीन न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, वन तथा वातावरण क्षेत्रका विज्ञ र सम्बन्धित सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ।

