नदी ढुङ्गाहरूसँग खेल्दै बग्थी। साना ढुङ्गाका बीच पानी ठोक्किँदा मुल्का बन्थे—जहाँ नदी उफ्रिन्थी, छचल्किन्थी र घुम्दै अघि बढ्थी। ठूला ढुङ्गाले उसको वेग छेक्दै बहावलाई दिशा दिन्थे। तिनलाई पार गरेपछि नदी शान्त हुन्थी र गहिरो पानी जमेको दहमा केहीबेर सुस्ताउँथी।
ठूला ढुङ्गाका ओट र चेपमा गुफाजस्ता कुर बन्थे। त्यहीँ माछाहरू लुक्थे, अण्डा पार्थे र आफ्ना बच्चा हुर्काउँथे। ती कुर माछाका लागि केवल लुक्ने ठाउँ थिएनन्, तिनको सुरक्षित संसार थिए। नदीको बहावमा जीवन थियो, सङ्गीत थियो।
एक दिन मानिसहरू विकासको नक्सा बोकेर आए। उनीहरूले ढुङ्गा फुटाए, बगर खोतले र नदीको बाटो सोझ्याए। नदीको छाती फराकिलो भयो। मानिसहरूले ताली बजाउँदै भने, “विकास भयो ”तर त्यसपछि न मुल्का बने, न भुमरी उठे। शान्त दहहरू पनि बग्न थाले। ढुङ्गाका ओटमा बनेका माछाका कुर पुरिए वा भत्किए। ढुङ्गा र बालुवा सहर पुगेस तिनबाट घर र सडक बने। नदी किनारमा झिलिमिली बढ्यो, तर नदीभित्रका जीवनका आश्रय उजाडिए।
नदी हार मानिन। बगिरही। तर उसको लय हरायो। एकनासको बहावमा ऊ आफैँ नीरस हुन थाली। माछा र अन्य जलचरहरू पुरानै लयमा फर्कन उसलाई पुकार्न थाले। नदीलाई पनि फेरि मुल्कामा उफ्रिन, दहमा सुस्ताउन र कुरहरूमा माछाका बच्चाहरू पौडिएको हेर्न मन लाग्यो।
अन्ततः नदीले पहाडलाई पुकार्दै भनी, “मेरा ढुङ्गा फर्काइदेऊ। मलाई सहायता गर।” डोजरले थिल्थिलिएको पहाडले उसको पुकार सुन्यो। कतै चिरा परे, कतै पहिरो खस्यो, कतै अजङ्गका चट्टान नदीतिर गुडिए।पहाडको साथ पाएपछि नदी उग्र बनी। आफ्ना पुराना सीमाहरू छुन थाली। कतै बहाव मोडियो, कतै बगर काटियो, कतै किनारका संरचनाहरू बगे। नदीका विभिन्न मोडमा फेरि अजङ्गका ढुङ्गाहरू थुप्रिए। नदीले आफ्नो बाटो फेरि मोड्न थालीस ढुङ्गाहरूले पुरानो बहावको स्मृति जगाए।
नयाँ बनेको बगरमा मानिसहरू भेला भएका थिए। भत्किएका घर र बगेका सपनाहरूको हिसाब कसैले गरिरहेको थियो। कसैको हातमा प्लेकार्ड थियो।
त्यही बेला पहाड गर्जियो। अर्को अजङ्गको ढुङ्गा नदीतिर खस्यो। नदीले त्यसलाई अँगाल्दै आफ्नो बाटो मोडी। किनारमा उभिएको एउटा बालकले प्लेकार्ड समात्ने मानिसलाई सोध्यो, “अङ्कल, नदीले पनि न्याय माग्न पाउँछ?”
मानिसले उत्तर दिन नपाउँदै नदीको छालले प्लेकार्ड खोसेर लग्यो।
नदी बगिरही। त्यसमा लेखिएको थियो—“हामीलाई जलवायु न्याय चाहिन्छ !”

