काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आफ्ना मातहतका रा.प.तृतीय श्रेणीसम्मका कर्मचारीहरूको सरुवा तथा काज प्रणालीलाई व्यवस्थित, पारदर्शी र अनुमानयोग्य बनाउन नयाँ मापदण्ड (२०८३) स्वीकृत गरी लागू गरेको छ।निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५० बमोजिम तयार पारिएको यस मापदण्डले भौगोलिक अनुभव, कार्यचाप र दरबन्दीका आधारमा सरुवा प्रक्रियालाई स्पष्ट पारेको छ।
मापदण्ड अनुसार मातहतका कार्यालयहरूलाई कार्यचाप र दरबन्दीका आधारमा ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार वर्गमा विभाजन गरिएको छ। ‘क’ र ‘ख’ वर्गमा कम्तिमा डेढ वर्ष काम गरेका कर्मचारीलाई ‘ग’ वा ‘घ’ मा (कम्तिमा दुई वर्षका लागि) र ‘ग’ वा ‘घ’ मा कम्तिमा दुई वर्ष काम गरिसकेकालाई ‘क’ वा ‘ख’ वर्गमा (कम्तिमा डेढ वर्षका लागि) सरुवा गरिने व्यवस्था छ। साथै, एउटै कार्यालयमा लगातार तीन वर्षभन्दा बढी कार्यरत रहेका कर्मचारीहरूलाई भने अनिवार्य सरुवा गरिनेछ।
निजामती सेवामा कार्यरत दम्पती दुवै राजपत्र अनङ्कित श्रेणीका भएमा पद उपलब्ध भएसम्म एउटै ठाउँमा पदस्थापन गरिनेछ। ५० वर्ष उमेर पुगेका वा अनिवार्य अवकाश हुन एक वर्ष वा सोभन्दा कम अवधि बाँकी रहेका कर्मचारीलाई निजको इच्छाविपरीत ‘क’ वर्गमा वा अन्यत्र सरुवा गरिने छैन। यसै गरी, तीन महिनाभन्दा बढी अध्ययन वा अन्य विदामा बस्ने कर्मचारीको स्थानमा अर्को कर्मचारी खटाइनेछ भने वैदेशिक वा स्वदेशी अध्ययन सकेर फर्कने कर्मचारीलाई अनिवार्य रूपमा ‘क’ वा ‘ख’ वर्गका वा बढी कार्यचाप भएका कार्यालयमा सरुवा गरिनेछ।
गम्भीर बिरामी परेका कर्मचारीहरूलाई चिकित्सकको सिफारिसका आधारमा पायक पर्ने स्थानमा खटाइनेछ भने महिला कर्मचारीहरूले मागेको कार्यालयमा मापदण्ड प्रतिकूल नहुने गरी प्राथमिकता दिइनेछ। रा.प.तृतीय श्रेणीको कार्यालय प्रमुख चयन गर्दा जेष्ठता, कार्यक्षमता र अनुभवलाई मुख्य आधार बनाइनेछ, जहाँ समान क्षमता भएका महिला कर्मचारीलाई प्रोत्साहन गरिनेछ। यस नयाँ व्यवस्थाले कर्मचारी सरुवामा हुने अन्योल हटाई विभागीय कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।




