चितवन ।चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) परिसरमा रहेको बिजुलीको ट्रान्सफर्मरमा ठोक्किएर करेन्ट लाग्दा एक चितुवाको मृत्यु भएको छ।
जिल्ला वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार करेन्ट लागेर ज्यान गुमाउने चितुवा करिब १० महिना उमेरकी पोथी रहेको छ।
विश्वविद्यालय परिसरभित्र राखिएको विद्युत् ट्रान्सफर्मर नजिकै जाने क्रममा एकाएक करेन्ट लागेर चितुवाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटनाको सूचना पाउनासाथ जिल्ला वन कार्यालय चितवन र प्राविधिक टोली घटनास्थल पुगेर अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको छ।
नजिकैको वन क्षेत्र वा मध्यवर्ती इलाकाबाट आहारा तथा बासस्थानको खोजीमा निस्किएको बच्चा (पोथी चितुवा) विश्वविद्यालय परिसरभित्र प्रवेश गरेको हुन सक्ने अनुमान गरिएको छ। मृत चितुवाको शवलाई आवश्यक परीक्षण (पोष्टमार्टम) पछि नियमानुसार व्यवस्थापन गरिने वन कार्यालयले जनाएको छ।
पछिल्लो समय मानव बस्ती तथा विकास निर्माणका पूर्वाधार नजिक वन्यजन्तुको आवतजावत बढ्दै जाँदा यस्ता जोखिमपूर्ण दुर्घटनाहरू दोहोरिने गरेका छन्। विश्वविद्यालय परिसरभित्र रहेका विद्युतीय संरचना तथा ट्रान्सफर्मरहरूलाई सुरक्षित बनाउनेतर्फ ध्यान नदिँदा यस्तो घटना हुन पुगेको भन्दै स्थानीय तथा वातावरणप्रेमीहरूले चिन्ता व्यक्त गरेका छन्।

