काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले झापा–३ क्षेत्रमा भारतबाट प्रवेश गर्ने जंगली हात्तीका कारण स्थानीयवासीको जनजीवन असुरक्षित बन्दै गएको भन्दै हात्ती नियन्त्रण तथा व्यवस्थापनका लागि तत्काल प्रभावकारी र वैज्ञानिक नीति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद पाठकले हात्तीको बथानले किसानले लगाएको धानबाली नष्ट गर्नुका साथै घर तथा भौतिक संरचनामा क्षति पुर्याउने गरेको बताए। हात्ती जुनसुकै बेला बस्तीमा प्रवेश गर्न सक्ने जोखिमका कारण स्थानीयवासी त्रासमा बस्नुपरेको उनको भनाइ छ।
उनले विशेषगरी बालबालिका र वृद्धवृद्धाको सुरक्षामा गम्भीर जोखिम उत्पन्न भएको बताए। हात्ती आतंकका कारण कतिपय नागरिक बसाइँ सर्नुपर्ने अवस्थासमेत सिर्जना भएको भन्दै उनले समस्या समाधानका लागि राज्यले दीर्घकालीन र परिणाममुखी योजना ल्याउनुपर्नेमा जोड दिए।
सांसद पाठकले हात्ती नियन्त्रणका लागि हाल प्रयोग भइरहेका उपाय प्रभावकारी हुन नसकेको बताए। उनका अनुसार प्रभावित क्षेत्रमा सुरक्षा संयन्त्रको उपस्थिति कमजोर हुनुका साथै विद्युत् आपूर्ति पर्याप्त नहुँदा घर तथा सडक क्षेत्रमा अँध्यारो हुने गरेको छ। यसले हात्तीको आवागमनका बेला जोखिम थप बढाएको उनले बताए।
हात्ती प्रभावित क्षेत्रमा उच्च क्षमताका ट्रान्सफर्मर जडान गर्न तथा सडकमा सोलार बत्तीको व्यवस्था गर्न उनले सरकारसँग माग गरेका छन्। स्थानीय अवस्थाअनुसार वैज्ञानिक प्रविधिको प्रयोग, पूर्वतयारी र प्रभावकारी सुरक्षा व्यवस्थामार्फत मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्नुपर्ने उनको भनाइ छ।
उनले सम्भावित क्षति भइसकेपछि मात्र राहत, समवेदना र सहानुभूति प्रकट गर्ने प्रवृत्तिभन्दा क्षति हुनै नदिने गरी पूर्वतयारी र व्यवस्थापनमा राज्यले ध्यान दिनुपर्ने बताए।
‘हात्ती नियन्त्रणका लागि प्रयोग भएका उपायहरू प्रभावकारी बन्न नसक्दा त्यसको गम्भीर असर नागरिकमा परिरहेको छ,’ उनले भने, ‘अब अनुगमन र निरीक्षण मात्र होइन, परिणाममुखी काम गर्नुपर्छ।’
सांसद पाठकले हात्ती प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझेर स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। मानव बस्ती र हात्तीको आवागमन क्षेत्रबीच जोखिम घटाउने पूर्वाधार निर्माण तथा रातको समयमा सुरक्षा र निगरानी बढाउनसमेत उनले सरकारको ध्यानाकर्षण गराए।
झापा–३ क्षेत्रमा जंगली हात्तीको बढ्दो आवागमनले कृषि उत्पादन, घर तथा सम्पत्तिमा क्षतिसँगै स्थानीयवासीको दैनिक जीवन र सुरक्षामै असर पारिरहेको भन्दै उनले सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने माग गरेका छन्।

