अन्तर्राष्ट्रिय। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्प प्रशासनले मंगलबार दशकौँ पुरानो सडक तथा अन्य विकास पूर्वाधार नपुगेका प्राकृतिक वन क्षेत्र संरक्षणसम्बन्धी नियम खारेज गर्ने दिशामा एक कदम अघि बढाएको छ।
प्रशासनका अनुसार यस कदमले डढेलोको जोखिम कम गर्न सहयोग गर्नेछ। तर वातावरणीय समूहहरूले यसको विरोध गर्दै यसले उल्टै डढेलोको जोखिम बढाउने बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले वातावरणीय नियमहरू खुकुलो बनाउने तथा ऊर्जा उत्खननजस्ता प्रयोजनका लागि सडक तथा अन्य विकास पूर्वाधार नपुगेका प्राकृतिक वन क्षेत्र अन्तर्गत रहेका केही जमिनलाई संरक्षणको दायराबाट हटाउने नीति अघि बढाउँदै आएका छन्।
अमेरिकी वन सेवाले प्रस्ताव गरेको नयाँ नियमले सन् २००१ देखि लागू रहेको Roadless Area Conservation Rule खारेज गर्नेछ। उक्त नियमले सडक तथा अन्य विकास पूर्वाधार नपुगेका प्राकृतिक वन क्षेत्रमा काठ कटानी, सडक निर्माण र खानी सञ्चालनमा प्रतिबन्ध लगाएको छ। अमेरिकी कृषि विभागद्वारा जारी विज्ञप्तिअनुसार प्रस्तावित परिवर्तनपछि यस्ता वन क्षेत्रको व्यवस्थापनसम्बन्धी अधिकार स्थानीय राष्ट्रिय वन व्यवस्थापकहरूलाई हस्तान्तरण गरिनेछ।
अमेरिकाले हाल डढेलोका दृष्टिले आफ्नो सबैभन्दा खराब समय सामना गरिरहेको छ। राष्ट्रिय अग्नि केन्द्रका अनुसार अगस्ट १७ सम्म करिब ४९ हजार डढेलोका घटनाबाट ७३ लाख एकड अर्थात् करिब ३० लाख हेक्टर क्षेत्रफल जलेको छ।
कृषिमन्त्री ब्रुक रोलिन्सले उक्त नियम खारेज गर्दा वन व्यवस्थापन हुन गइ वनको स्वास्थ्य सुधार हुने र डढेलोको जोखिम कम गर्न सहयोग पुग्ने बताएकी छन्। उनले भनिन्, “आज हामीले स्थानीय वन व्यवस्थापकहरूलाई पुनः अधिकार प्रदान गर्ने प्रस्ताव दर्ता गरेका छौँ। उनीहरूले जमिनलाई सबैभन्दा राम्रोसँग चिन्छन्। जमिनको आवश्यकताअनुसार काम गर्नबाट रोकिरहेका अवरोधहरू हटाउनु आवश्यक छ।”
तर वातावरणीय समूहहरूले नियम खारेज गर्दा वन क्षेत्रमा मानव गतिविधि बढ्ने र त्यसले डढेलोको जोखिम झन् बढाउने तर्क गरेका छन्। Wilderness Society ले सन् २०२५ मा गरेको एक विश्लेषणअनुसार डढेलोको घनत्व संरक्षित वन क्षेत्रहरूमा सबैभन्दा कम र सडक नजिकका क्षेत्रमा सबैभन्दा बढी देखिएको थियो। संस्थाका संरक्षण अभियान निर्देशक जोश हिक्सले धेरै समुदाय, पारिस्थितिक प्रणाली, वन्यजन्तुका प्रजाति र स्थानीय अर्थतन्त्र स्वस्थ तथा मानव गतिविधि कम भएका वनमा निर्भर रहेको बताए।
उनले भने, “हाम्रा दुर्गम वन क्षेत्रमा थप सडक र विकास विस्तार गर्नु, र त्यससँगै आगलागीका सम्भावित स्रोतहरू बढाउनु, डढेलो नियन्त्रणको समाधान होइन र कहिल्यै हुन सक्दैन।”
अमेरिकी कृषि विभागका अनुसार Roadless Rule ले करिब २ करोड ४० लाख हेक्टर वन क्षेत्रमा विकास गतिविधिहरूलाइ सीमित गरेको छ। यो क्षेत्र अमेरिकाको राष्ट्रिय वन प्रणालीको करिब ३० प्रतिशत हो।प्रस्तावित नियममाथि अमेरिकी वन सेवाले सेप्टेम्बर २१ सम्म सार्वजनिक सुझाव तथा प्रतिक्रिया लिनेछ।

