काठमाडौं। नेपालको निजामती सेवाभित्र सबैभन्दा प्राविधिक, संवेदनशील र वातावरणीय दृष्टिले महत्त्वपूर्ण मानिने नेपाल वन सेवा (जनरल फरेस्ट्री) मा व्यापक नेतृत्व परिवर्तन र संगठनात्मक रूपान्तरणको नयाँ अध्याय सुरु भएको छ। देशका सातै प्रदेशमा लामो समयदेखि सेवारत उच्च तहका वरिष्ठ डिभिजनल वन अधिकृत तथा वन निर्देशकहरू ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधिको प्रावधानका कारण अवकाशको नजिक पुगेसँगै सम्पूर्ण वन क्षेत्रमा नयाँ उत्साह र पदोन्नतिको लहर सिर्जना भएको छ।
विशेष गरी बागमती प्रदेशमा ३० -५५ को सेवा र उमेर हदको प्रावधानका कारण ११ औं तहका २ जना, १० औं तहका ६ जना र ९ औं तहका ९ जना अधिकृतहरू अवकाशको संघारमा हुनुहुन्छ भने १ जना ९ औं तहका अधिकृतले राजीनामा दिनुभएको छ। यसरी बागमतीमा मात्रै कुल १८ जना अनुभवी वरिष्ठ अधिकृतहरू सेवाबाट निवृत्त हुने प्रक्रियामा रहनुभएको छ। यद्यपि, बागमतीमै ३० -५५ को दायरामा नपर्ने ९ औं तहका ७ जना उर्जावान् अधिकृतहरूले भने वन प्रशासनको जिम्मेवारीलाई निरन्तरता दिइरहनुभएको छ।
त्यस्तै, देशका अन्य प्रदेशहरूमा पनि जनरल फरेस्ट्रीतर्फ ठूलो संख्यामा नेतृत्व तहका पदहरू रित्त हुने र नयाँ नेतृत्व आउने क्रम जारी छ। कोशी प्रदेशमा ११ औं तहका १ जना, १० औं तहका ४ जना र ९ औं तहका ३ जना गरी ८ जना वरिष्ठ अधिकृतहरूले वन क्षेत्रको कमान्ड सम्हाल्दै आउनुभएको छ। मधेस प्रदेशमा १० औं तहका ५ जना र ९ औं तहका १ जना गरी ६ जना उच्च अधिकृतहरू कार्यरत हुनुहुन्छ। गण्डकी प्रदेशमा ९ औं र १० औं तहका गरी ७ जना, कर्णाली प्रदेशमा १० औं तहका २ जना र ९ औं तहका २ जना गरी ४ जना अधिकृतहरू प्राविधिक नेतृत्वमा हुनुहुन्छ।
सुदूरपश्चिम प्रदेशमा केशव पराजुली, गोकुल रिजाल, भीम कँडेल, भक्तराज गिरी, कृष्ण भट्ट, रामचन्द्र कँडेल र शम्भु तिवारी जस्ता पुराना तथा अनुभवी अधिकृतहरूसँगै करिब अरुभन्दा उमेर हदमा कम उमेर वर्ष देखिएका शुदुरपश्चिम डाईरेक्टर हेमराज विष्ट जस्ता उच्च प्राविधिक व्यक्तित्वहरूले वन प्रशासनको नेतृत्व सम्हालिरहनुभएको छ।
वर्षौंम्म अमूल्य वन पैदावार, वन्यजन्तु संरक्षण, जलधार व्यवस्थापन र जैविक विविधता रक्षामा समर्पित वरिष्ठ वन अधिकृतहरूको यो सम्मानजनक अवकाशसँगै निजामती वन सेवामा तल्ला तहका अधिकृतहरूका लागि द्रुत पदोन्नतिको ढोका खुलेको छ। ९ औं, १० औं र ११ औं तहका माथिल्लो दर्जाका पदहरू खाली हुँदा वर्षौँदेखि प्रयासरत वन प्राविधिकहरूले माथिल्लो नेतृत्वमा पुग्ने सुवर्ण अवसर पाउनेछन्।
यस परिवर्तनले वानिकी वन विषय अध्ययन गरिरहेका तथा लोक सेवा आयोगको तयारीमा जुटेका नयाँ युवा पुस्ताका लागि नेपाल वन सेवामा प्रवेश गर्ने अभूतपूर्व आकर्षण र सम्भावना बढाएको छ। अग्रजहरूको समृद्ध अनुभवको जगमा टेकेर नयाँ आउने युवाहरूले आधुनिक प्रविधि, जिआइएस, ड्रोन र वैज्ञानिक वन व्यवस्थापनका नवीन सोच लागू गर्दै देशको हरियाली र प्राकृतिक स्रोतको संरक्षणमा थप योगदान पुर्याउन सक्नेछन्।

