इलाम । इलामको माई नगरपालिका–९ स्थित सोक्तिमभ्याली सामुदायिक वनमा साल जातको रुख कटान गरी काठ चिरान गरिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा डिभिजन वन कार्यालय इलामका वन अधिकृत तथा सूचना अधिकारी भुवनमणि शर्माको नेतृत्वमा माई सब–डिभिजन वन कार्यालय सुखानीका सशस्त्र वन रक्षकसहितको संयुक्त गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
गस्तीका क्रममा सामुदायिक वन क्षेत्रमा रुख कटान गरी धरान थापी काठ चिरान गरिरहेको अवस्थामा माई नगरपालिका–९ विष्टगाउँका ५६ वर्षीय राजेन्द्र राई र सोही स्थानका ५० वर्षीय पेम्बा हेल्मुलाई पक्राउ गरिएको सूचना अधिकारी शर्माले जानकारी दिए ।

पक्राउ तथा बरामद कार्यमा प्रहरी चौकी चिसापानीका प्रहरी सहायक निरीक्षक चन्द्रकान्त राय नेतृत्वको प्रहरी टोलीले समेत सहयोग गरेको थियो ।
घटनास्थलबाट साल जातका ४ वटा गोलिया र चिरान गर्दै गरेका २ वटा फक्लेटासहित ६ थानमा ३३।५३ घनफिट काठ बरामद गरिएको छ । त्यस्तै, चिरान भइसकेको ८ थानमा ८.१७ घनफिट काठसमेत बरामद भएको वन कार्यालयले जनाएको छ ।

यसरी घटनास्थलबाट कुल १४ थानमा ४१.७० घनफिट सालको काठ बरामद गरिएको छ । बरामद काठको बिगो रु। ५६ हजार २१० कायम गरिएको सूचना अधिकारी शर्माले बताए ।
वन कार्यालयको टोलीले काठ कटान तथा चिरानमा प्रयोग भएको एक थान गोरखपुरे चिरान आरा, एक थान गल, आराको दाँत मिलाउने एक थान नारिस, एक थान मिटर टेप र एक थान दाउ समेत बरामद गरेको छ ।

घटनाका सम्बन्धमा थप क्षतिको जाँचबुझ भइरहेको र काठ कटानमा अन्य व्यक्तिको समेत संलग्नता भए–नभएकोबारे खोजी भइरहेको डिभिजन वन कार्यालय इलामले जनाएको छ ।
डिभिजनल वन अधिकृत उत्सव थापाले सीमित स्रोतसाधनका बाबजुद वन संरक्षणको कामलाई प्रभावकारी रूपमा अघि बढाइएको बताए । वन क्षेत्र अतिक्रमण नियन्त्रण तथा वन संरक्षणका विषयमा कार्यालयले शून्य सहनशीलताको नीति अपनाएर काम गरिरहेको उनको भनाइ छ ।

