काठमाडौं । वन तथा भू-संरक्षण विभागले असोजमा वडादसैंको घटस्थापना अगाडि नै देशभरका डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी थालेको छ।
देशभरको वन व्यवस्थापन, भू-संरक्षण, वन्यजन्तु संरक्षण तथा समसामयिक नीतिगत विषयमा छलफल गर्न विभागले यो सम्मेलन आयोजना गर्न लागेको हो।
सम्मेलनका लागि आवश्यक बजेट व्यवस्थापनका हेतुले हाल वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन महाशाखासँग समन्वय भइरहेको विभागले जनाएको छ। विभागका महानिर्देशक धीरेन्द्र प्रधानका अनुसार बजेटको सुनिश्चितता हुनासाथ सम्मेलनको अन्तिम मिति, कार्यसूची तथा अन्य प्राविधिक तयारीका कामहरू द्रुत गतिमा अगाडि बढाइनेछ।
‘हामी घटस्थापना अगावै राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने गरी आन्तरिक तयारीमा जुटेका छौं, ‘महानिर्देशक प्रधानले भने, ‘सम्मेलनका लागि बजेट व्यवस्थापनको प्रक्रिया चलिरहेकाले बजेट सुनिश्चित हुनेबित्तिकै मिति र अन्य आवश्यक व्यवस्थापनलाई अन्तिम रूप दिइनेछ।’
सम्मेलनमा ७७ वटै जिल्लाका डिभिजनल वन अधिकृतहरू, वन मन्त्रालय तथा विभागका उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहने अनुमान गरिएको छ। सम्मेलनमा वनको दिगो व्यवस्थापन, डढेलो नियन्त्रण, जलवायु परिवर्तनका चुनौती र अनुकूलनका प्रयास, वन क्षेत्रमा हुने अतिक्रमण रोक्ने रणनीति लगायतका विषयमा गहन छलफल हुने विभागको अपेक्षा छ।

