ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन

काठमाडाैं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि देशभर मानवीय क्षति, भत्किएका घर, बगेका पुल, सडक र क्षतिग्रस्त जलविद्युत् आयोजनाको चर्चा भइरहेका बेला एउटा महत्वपूर्ण प्रश्न भने अझै ओझेलमा परेको छ—यो विपत्तिसँगै कति वन, माटो, वनस्पति र प्राकृतिक वासस्थान बगे?

किनकि यो क्षेत्रमा विश्वप्रसिद्ध लाङटाङ राष्ट्रिय निकुञ्ज पनि पर्दछ। नेपालमा क्षति मूल्याङ्कन प्रायः घर, सडक, पुल र आर्थिक सम्पत्तिमा केन्द्रित हुने गरेको छ। तर अब पारिस्थितिक क्षति तथा हानि (Ecological Loss and Damage) लाई पनि छुट्टै रूपमा मापन गर्ने समय आएको छ।

भोटेकोशी बाढीले बगाएको सबै कुरा आँखाले देख्न सकिँदैन। बगेका पुल देखिन्छन्। भत्किएका घर देखिन्छन्। तर बगेको माटो, हराएको वनस्पति, विस्थापित वन्यजन्तु र बदलिएको नदीको पारिस्थितिक सहजै देखिँदैन। यि नदेखिएका क्षति पनि हामीले नै वेहोर्ने हो।

भोटेकोशी बाढीपछि अब एउटा विस्तृत पारिस्थितिक क्षति मूल्याङ्कन आवश्यक छ, जसमा वन, जैविक विविधता, माटो, नदी प्रणाली, कार्बन भण्डारण र प्राकृतिक वासस्थानको परिवर्तनलाई समेटियोस्। किनकि विपत्तिमा केवल मानिसका घर मात्र बग्दैनन्, प्रकृतिका पनि घर बग्छन्। र, जबसम्म हामीले प्रकृतिको त्यो क्षतिको हिसाब राख्दैनौं, तबसम्म हाम्रो पुनर्निर्माणको हिसाब पनि अधुरै रहनेछ।

प्रारम्भिक रूपमा बाढी तथा ढुंगा–माटोको लेदोले नदी प्रणाली र आसपासको भू–परिदृश्यमा व्यापक परिवर्तन ल्याएको देखिन्छ। नदी सतहबाट करिब १०० मिटर माथिसम्म बाढीको क्षति भएको अनुमान छ। नेपाल सरकारका विभिन्न निकायले गरेको अनुमानित पुनर्स्थापना लागतमा पनि वन तथा पारिस्थितिक प्रणालीको पुनर्स्थापनामा लाग्ने लागत स्पष्ट रूपमा उल्लेख भएको छैन। त्यसैले वन तथा पारिस्थितिक प्रणालीमा भएको क्षतिको छुट्टै र विस्तृत मूल्याङ्कन अझै आवश्यक देखिन्छ।

बाढीले नदी किनारका रुख, झाडी र वनस्पति बगाएको छ। नयाँ नदी किनार, गेग्रान र खुला भूभाग बनेका छन्। यससँगै त्यहाँ रहेका वन्यजन्तुका वासस्थान, साना जीवजन्तु, माटोमा रहेका सूक्ष्मजीव तथा नदी–किनारको सम्पूर्ण पारिस्थितिक सम्बन्ध प्रभावित भएको छ। यसकारण, वनको क्षति भन्नाले केवल कति हेक्टर जंगल नष्ट भयो भन्ने मात्र होइन। यसमा कति परिमाणमा माटो बग्यो, कति जैविक पदार्थ हरायो, कति कार्बन सञ्चित वनस्पति नष्ट भयो र कति प्राकृतिक वासस्थान परिवर्तन भयो भन्ने प्रश्न पनि जोडिन्छ। वन भएको भए वार्षिक रूपमा कति वन पैदावार सतत रूपमा प्राप्त गर्न सकिन्थ्यो भन्ने पक्ष पनि उत्तिकै महत्वपूर्ण हुन्छ। यस क्षेत्रमा केही समय आएको एउटा बाढीले केही घण्टामै दशकौं लगाएर बनेको माटो र वनस्पति बगाएको छ, तर त्यसको पुनर्स्थापनमा शताब्दी लाग्न सक्छ। यसकारण यहाँ वनसँग रुख मात्र होइन, त्यहाँ भएको वनस्पति तथा वन्यजन्तु र माटो तथा हावापानीबीचको अन्तरक्रिया समेत बगेको छ।

भोटेकोशीको विपत्तिमा देखिने सबैभन्दा ठूलो तर कम चर्चामा आएको क्षति माटो हो। बाढीसँगै बगेको माटो केवल नदीमा मिसिएको पदार्थ होइन। त्यो माटोमा वर्षौंसम्म सञ्चित जैविक पदार्थ, पोषक तत्व र वनस्पति पुनर्जीवनको आधार थियो। त्यही वनको फेदिमा हुर्केका चरण क्षेत्र र खेती भूमि पनि थियो। कुनै क्षेत्रमा रुख मात्र ढले पनि त्यहाँबाट पुनः प्राकृतिक पुनर्जनन हुन सक्छ। तर माटोको तह नै बग्यो भने पुनः पारिस्थितिक प्रणाली स्थापना हुन निकै लामो समय लाग्न सक्छ।

त्यसैले बाढीपछि गरिने क्षति मूल्याङ्कनमा निम्न प्रश्नको जवाफ खोज्न आवश्यक छ:
• कति क्षेत्रको वन तथा नदीकिनारको वनस्पति नष्ट भयो?
• कति माटो र जैविक पदार्थ बग्यो?
• कति वन्यजन्तुको सम्भावित वासस्थान प्रभावित भयो?
• कतिपय स्थानमा भविष्यमा पहिरोको जोखिम कति बढ्यो?
• प्रभावित क्षेत्रमा प्राकृतिक पुनर्जनन सम्भव छ कि वृक्षारोपण आवश्यक छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top