ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?

शिव परियार । हालै डिभिजन वन कार्यालय लमजुङका वन कर्मचारीलाई कार्यालय परिसरमा उद्दार गरी ल्याइएको चितुवालाई ठूलो खोरमा स्थानान्तरण गर्ने क्रममा आक्रमण गरेको भिडियो र समाचार सार्वजनिक भयो। त्यो दृश्यले मलाई झण्डै नौ वर्षअघिको एउटा घटना सम्झाइदियो, जतिबेला म पहिलोपटक समस्याग्रस्त वन्यजन्तुको उद्दार तथा व्यवस्थापनका लागि फिल्डमा खटिएको थिएँ।

त्यतिबेला म तत्कालीन जिल्ला वन कार्यालय पर्वतमा कार्यरत थिएँ। एक बिहान फलेवास नगरपालिका वडा नं। ७, लिमिठानाको मोटरेबल सडकको बीचमा एउटा चितुवा बसेको र त्यसका कारण चार पाँच घण्टादेखि सवारी आवागमन अवरुद्ध भएको खबर आयो। तत्कालीन डिभिजनल वन अधिकृतले उक्त कामका लागि मलाई खटाउनुभयो। अर्का वन अधिकृत र केही वन रक्षक साथीहरूसहित हामी सम्बन्धित स्थलतर्फ लाग्यौँ।

हामीसँग नियन्त्रणमा आइसकेको चितुवालाई राख्ने एउटा खोर त थियो, तर चितुवालाई सुरक्षित रूपमा नियन्त्रणमा लिन आवश्यक पर्ने विशेष उपकरण भने थिएन।

त्यसैले मैले जिल्ला पशु सेवा कार्यालय पर्वतका प्रमुखलाई फोन गरे। वन्यजन्तुलाई केही समयका लागि बेहोस बनाउन प्रयोग हुने औषधि वा त्यसका लागि आवश्यक उपकरण उपलब्ध छ कि भनेर सोधेँ। दुर्भाग्यवश त्यहाँ पनि त्यस्तो कुनै सुविधा रहेनछ। उहाँ पनि फलेवासतर्फ जाँदै हुनुहुँदो रहेछ र हामीसँगै सोही स्थलतर्फ जानुभयो।
हामी त्यहाँ पुग्दा घाइते अवस्थामा रहेको चितुवा सडकको बीचमै बसेको थियो। त्यसका कारण गाडी आवतजावत पूर्ण रूपमा रोकिएको थियो। वन कार्यालयबाट उद्दार टोली आउँदैछ, सायद आधुनिक उपकरण र प्रविधिसहित आउँछ भन्ने अपेक्षामा एक सयभन्दा बढी स्थानीय घटनास्थलमा भेला भइसकेका थिए।

तर वास्तविकता फरक थियो। घाइते चितुवाले जुनसुकै बेला आक्रमण गर्न सक्छ भनेर हाम्रा साथीहरूले सबैलाई टाढा बस्न आग्रह गरिरहेका थिए। हामी भने केही पर बसेर अब यसलाई कसरी सुरक्षित रूपमा उद्दार गर्ने भनेर सोचिरहेका थियौँ।
त्यही समयमा एउटा अप्रत्याशित घटना भयो। रक्सीले मातेको जस्तो देखिने एक जना स्थानीय सरासर चितुवातर्फ जानुभयो, घाँटीमा समात्नुभयो, जुरुक्क उठाउनुभयो र हाम्रो खोरमा ल्याएर राख्नुभयो। केही मिनेटमै चितुवा खोरभित्र थियो।

संयोगवश चितुवा गम्भीर रूपमा घाइते वा अत्यन्त कमजोर अवस्थामा रहेछ र उसले ती व्यक्तिलाई आक्रमण गरेन। उहाँलाई पनि केही भएन। त्यसपछि हामीले आवश्यक मुचुल्का तयार गर्यौँ, चितुवालाई नियन्त्रणमा लियौँ र कुश्मातर्फ फर्कियौँ।
उद्दार सफल भएको थियो, तर म भने ढुक्क हुन सकिनँ।

मेरो मनमा पटकपटक अनेक प्रश्न आइरहे। यदि त्यो चितुवाले ती दाइलाई आक्रमण गरेको भए के हुन्थ्योरु यदि कोही गम्भीर घाइते वा मृत्युसम्म भएको भए त्यसको जिम्मेवारी कसले लिने?

यदि चितुवा अझै आक्रमण गर्न सक्ने अवस्थामा रहेको भए हामीले के गर्ने थियौँ? र सबैभन्दा महत्वपूर्ण प्रश्न, सम्भावित रूपमा खतरनाक वन्यजन्तु व्यवस्थापन गर्न सरकारी उद्दार टोलीलाई किन आवश्यक उपकरण र सुरक्षित कार्यविधिबिना फिल्डमा पठाइएको थियोरु
त्यो उद्दारको सफलता हाम्रो व्यवस्थित तयारीभन्दा बढी संयोग र भाग्यमा निर्भर थियो।

व्यक्तिगत साहसले संस्थागत सुरक्षाको ठाउँ लिन सक्दैन यो घटना कुनै अपवाद थिएन।
केही समयपछि म प्रदेश मन्त्रालयमा कार्यरत रहँदा अमरसिंह चोकको एउटा बाथरुममा चितुवा पसेको खबर आयो। वन कर्मचारीहरू उद्दारका लागि पुगे।

तत्कालीन डिभिजनल वन अधिकृत समेत उद्दार कार्यमा संलग्न हुनुभयो र उहाँ सामान्य घाइते हुनुभयो।
यस्ता घटना नेपालभर दोहोरिरहेकै छन्।

चितुवा, भालु, हात्ती, सर्प, बाँदर तथा अन्य वन्यजन्तुसँग सम्बन्धित उद्दार तथा नियन्त्रणका क्रममा वन कर्मचारी, निकुञ्ज कर्मचारी, सुरक्षाकर्मी र स्थानीयवासी जोखिममा पर्ने गरेका छन्।

नेपालले वन्यजन्तु संरक्षणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। धेरै संकटापन्न प्रजातिको संरक्षण, संख्या वृद्धि, संरक्षित क्षेत्र विस्तार र जनचेतनामा देशले उल्लेखनीय प्रगति गरेको छ। तर वन्यजन्तु मानव बस्ती, घर, विद्यालय, सडक, खेतबारी वा अन्य सार्वजनिक स्थानमा प्रवेश गर्दा सुरक्षित रूपमा उद्दार गर्ने हाम्रो संस्थागत क्षमता भने त्यही गतिमा विकास भएको देखिँदैन।

अझै पनि धेरै ठाउँमा वन्यजन्तु उद्दार व्यक्तिगत अनुभव, तत्कालको जुक्ति, साहस र जोखिम उठाउने व्यक्तिको तत्परतामा निर्भर हुने गरेको छ।

संरक्षणकर्मीका लागि साहस आवश्यक छ। तर साहस उपकरण, तालिम, स्पष्ट कार्यविधि र सुरक्षित प्रणालीको विकल्प हुन सक्दैन। कुनै कर्मचारीलाई एउटा वन्यजन्तुलाई बचाउने र आफ्नो ज्यान जोखिममा पार्ने दुई विकल्पमध्ये एउटा छान्नुपर्ने अवस्था आउनु हुँदैन।

न्यूजिल्याण्डमा आएपछि बुझेको ‘हेल्थ एण्ड सेफ्टी’
उच्च अध्ययनका लागि न्यूजिल्याण्ड आएपछि यो विषयलाई मैले अझ स्पष्ट रूपमा बुझ्न पाएँ।अनुसन्धानका क्रममा फिल्डमा तथ्याङ्क संकलन गर्न जाँदा यहाँ ‘हेल्थ एण्ड सेफ्टी’ लाई दैनिक कामको अभिन्न हिस्सा बनाइएको अनुभव भयो।

कुनै जोखिमयुक्त काम गर्नुअघि सम्भावित खतरा पहिचान गरिन्छ। जिम्मेवारी स्पष्ट गरिन्छ। आवश्यक उपकरण छनोट गरिन्छ। सम्पर्क र सञ्चारको व्यवस्था मिलाइन्छ। आकस्मिक अवस्थाका लागि योजना बनाइन्छ। सबैभन्दा महत्वपूर्ण कुरा, अनावश्यक जोखिम नलिनुलाई कमजोरी मानिँदैन।

त्यसपछि मैले नेपालका आफ्नै अनुभवहरू सम्झिएँ। हामी कहिलेकाहीँ कठिन परिस्थितिमा ‘गोर्खे पारा’ देखाउनुमा गर्व गर्छौँ। जोखिमको सामना पहिले गर्ने र परिणामबारे पछि सोच्ने प्रवृत्ति हामीमा अझै पनि जीवित छ। व्यक्तिगत साहस र आँटको आफ्नै महत्व छ, तर सरकारी वा संस्थागत काम व्यक्तिगत बहादूरीमा निर्भर हुन मिल्दैन।

व्यावसायिक वन्यजन्तु उद्दार टोलीले कुनै जनावरको नजिक जानुअघि केही आधारभूत प्रश्न सोध्नैपर्छ। कुन प्रजातिको वन्यजन्तु होरु घाइते छ कि सामान्य अवस्थामा छ? भाग्न सक्ने बाटो कहाँ छ?

भीडलाई सुरक्षित दूरीमा राखिएको छ कि छैन? उद्दार टोलीसँग कस्तो सुरक्षात्मक उपकरण छ? डार्ट प्रयोग गर्नुपर्ने हो कि होइन? पशु चिकित्सक वा सम्बन्धित विशेषज्ञ उपलब्ध छन् कि छैनन्? उद्दारपछि जनावरलाई कहाँ लैजानेरु यदि वन्यजन्तुले उद्दारकर्तालाई आक्रमण गर्यो भने तत्कालको उपचार र आपतकालीन योजना के ?

यी प्रश्नहरू अनुभवी कर्मचारीको व्यक्तिगत निर्णयमा मात्र निर्भर हुनु हुँदैन। यी सबै कुरा स्ट्याण्डर्ड कार्यविधिको हिस्सा हुनुपर्छ।

उद्दारकर्ताको सुरक्षा र वन्यजन्तु संरक्षण एकअर्काका विरोधी विषय होइनन्। वास्तवमा सुरक्षित उद्दारकर्ताबिना दिगो वन्यजन्तु संरक्षण सम्भव हुँदैन। यदि तालिमप्राप्त कर्मचारीहरू नै उद्दारका क्रममा बारम्बार घाइते हुन्छन् भने भविष्यमा त्यस्ता जोखिमपूर्ण उद्दारमा कर्मचारीहरूको मनोबल घट्न सक्छ। त्यसैले आजको एउटा असुरक्षित उद्दारले भोलिको उद्दार प्रणालीलाई पनि कमजोर बनाउन सक्छ।

डार्ट गन आवश्यक छ, तर त्यो मात्र समाधान होइन
यी घटनाले मलाई बीएस्सी वन विज्ञान अध्ययन गर्दा सैद्धान्तिक रूपमा पढेको, तर जिल्ला तहमा व्यवहारिक रूपमा बिरलै देखेको एउटा प्रविधिको सम्झना गराउँछ, वन्यजन्तुलाई डार्ट गरेर केही समयका लागि बेहोस बनाउने अर्थात् ‘केमिकल इमोबिलाइजेशन’।

त्यो विधि नेपालमा पूर्ण रूपमा नयाँ थिएन। राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन राष्ट्रिय निकुञ्जजस्ता विशेष वन्यजन्तु व्यवस्थापन क्षेत्रमा यसको प्रयोग भइसकेको थियो। पछि डिभिजन वन कार्यालय काठमाडौंले पनि यस्तो क्षमता विकास गर्न थालेको थियो।

यही अनुभवका आधारमा डिभिजन वन कार्यालय कास्कीले पनि डार्ट गन व्यवस्थापनको पहल गर्यो। तत्कालीन डिएफओले यसका लागि धेरै मेहनत गर्नुभएको सम्झना छ। आवश्यक प्रशासनिक र कानुनी अनुमति, सम्बन्धित निकायसँग समन्वय लगायतका प्रक्रिया पूरा गरेर यस्तो उपकरणको व्यवस्था गरिएको थियो।

यो महत्वपूर्ण सुरुवात थियो। तर एउटा कुरा स्पष्ट बुझ्न आवश्यक छ। केवल डार्ट गन किनेर कार्यालयमा राख्नु भनेको वन्यजन्तु उद्दार प्रणाली तयार हुनु होइन।

डार्टमार्फत औषधि प्रयोग गरेर जनावरलाई बेहोस बनाउने प्रक्रिया आफैँमा संवेदनशील र जोखिमयुक्त हुन्छ। कुन औषधि प्रयोग गर्ने, कति मात्रा दिने, कुन दूरीबाट प्रयोग गर्ने, जनावरको उमेर, तौल, स्वास्थ्य अवस्था र प्रजाति के हो, यी सबै कुरा महत्वपूर्ण हुन्छन्। गलत मात्रा वा गलत प्रयोगले वन्यजन्तुको ज्यानसमेत जोखिममा पर्न सक्छ।

बेहोस भएपछि पनि जनावरलाई निगरानीमा राख्नुपर्छ। श्वासप्रश्वास, शरीरको तापक्रम, चोटपटक, पुनः होसमा आउने अवस्था र सुरक्षित स्थानान्तरणको व्यवस्था गर्नुपर्छ। औषधि सुरक्षित रूपमा भण्डारण र ढुवानी गर्नुपर्छ।

त्यसैले डार्टिङ तालिमप्राप्त र अधिकारप्राप्त प्राविधिकले, आवश्यकताअनुसार पशु चिकित्सक वा वन्यजन्तु स्वास्थ्य विशेषज्ञको सहयोगमा मात्र गर्नुपर्ने व्यवस्था हुनुपर्छ। लक्ष्य डिभिजन वन कार्यालयहरूमा केवल डार्ट गन बाँड्ने होइन, सुरक्षित र व्यावसायिक वन्यजन्तु उद्दार टोली तयार गर्ने हुनुपर्छ।

यस्तो क्षमता वन्यजन्तुमा मात्र उपयोगी हुने होइन। केही वर्षअघि काठमाडौंको एउटा विद्यालय परिसरमा अनियन्त्रित राँगो प्रवेश गरेको अवस्थामा डिभिजन वन कार्यालय काठमाडौंले गरेको प्रयासले समेत यस्तो प्राविधिक क्षमता सार्वजनिक सुरक्षाका अन्य आकस्मिक अवस्थामा पनि उपयोगी हुन सक्ने देखाएको थियो।

एउटा खोरले मात्र उद्दार टोली पूर्ण हुँदैन
वन्यजन्तु नियन्त्रण र ढुवानीका लागि प्रयोग हुने खोरहरूको डिजाइनमा पनि सुधार आवश्यक छ।
विशेषगरी खतरनाक वन्यजन्तुको हकमा हाल प्रयोगमा रहेका साधारण एक तहका खोरहरूलाई जोखिमअनुसार पुनः डिजाइन गर्नुपर्छ।

सम्भव भएसम्म डबल लेयर, सुरक्षित ढोका, स्लाइडिङ प्रणाली वा जनावर र उद्दारकर्ताबीच प्रत्यक्ष सम्पर्क कम हुने संरचना प्रयोग गर्नुपर्छ। प्रजाति र जोखिमअनुसार एउटा व्यावसायिक उद्दार टोलीसँग सुरक्षित खोर, क्याप्चर नेट, सुरक्षा ढाल, व्यक्तिगत सुरक्षात्मक उपकरण, प्राथमिक उपचार सामग्री, डार्टिङ उपकरण र आवश्यक औषधिजन्य सामग्री उपलब्ध हुन सक्छन्।

उद्दारका लागि उपयुक्त सवारीसाधनको व्यवस्था पनि महत्वपूर्ण हुन्छ। अर्को ठूलो चुनौती भीड व्यवस्थापन हो।
वन्यजन्तु देख्नेबित्तिकै सयौँ मानिस फोटो र भिडियो खिच्न घटनास्थलमा पुग्ने प्रवृत्ति बढ्दो छ। मानिसहरू चिच्याउने, नजिक जाने, वन्यजन्तुको भाग्ने बाटो अवरुद्ध गर्ने वा मोबाइल लिएर पछ्याउने अवस्थाले डराएको जनावर झन् आक्रामक बन्न सक्छ।

त्यसैले उद्दार स्थलमा पुग्नेबित्तिकै सुरक्षाको घेरा बनाउने, भीड हटाउने र वन्यजन्तुलाई पर्याप्त खाली ठाउँ दिने काम प्राथमिकतामा पर्नुपर्छ।

उद्दार स्थलमा स्पष्ट कमाण्ड प्रणाली पनि हुनुपर्छ। कसले नेतृत्व गर्ने, कसले वन्यजन्तु ह्यान्डल गर्ने, कसले भीड नियन्त्रण गर्ने, कसले पशु स्वास्थ्य हेर्ने, सबैको जिम्मेवारी पहिल्यै स्पष्ट हुनुपर्छ। र यदि अवस्था असुरक्षित छ भने उद्दार स्थगित गर्ने निर्णय गर्ने अधिकारसमेत टोली नेतृत्वसँग हुनुपर्छ।

छिटफुट तालिमबाट राष्ट्रिय उद्दार प्रणालीतर्फ
नेपालमा केही सकारात्मक अभ्यास सुरु भइसकेका छन्। वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रलगायतका निकायहरूले वन्यजन्तु उद्दार र ह्यान्डलिङसम्बन्धी तालिम सञ्चालन गर्दै आएका छन्।

अब यी प्रयासलाई छिटफुट तालिमको रूपमा मात्र सीमित नराखी राष्ट्रिय प्रणालीको रूपमा संस्थागत गर्न आवश्यक छ। संघीय कृषी, वन तथा पर्यावरण मन्त्रालयले वन्यजन्तु उद्दार तथा ह्यान्डलिङका लागि राष्ट्रिय स्तरको ‘स्ट्यान्डर्ड अपरेटिङ कार्यविधि’ तयार गर्नुपर्छ।

नेपालका ८४ वटै डिभिजन वन कार्यालय र सबै संरक्षित क्षेत्रले या त आफ्नै तालिमप्राप्त तथा उपकरणयुक्त उद्दार टोली राख्नुपर्छ, वा निश्चित समयभित्र त्यस्तो टोली उपलब्ध हुने संयन्त्र बनाउनुपर्छ।वन्यजन्तु उद्दार क्षमता केही कार्यालय, केही अनुभवी कर्मचारी वा केही व्यक्तिको पहलमा मात्र निर्भर रहनु हुँदैन।

वन्यजन्तु उद्दार सम्बन्धी तालिम पनि वन रक्षकमा मात्र सीमित हुनु हुँदैन। वन अधिकृत, रेञ्जर र उद्दारको नेतृत्व गर्न सक्ने अन्य प्राविधिक कर्मचारीले समेत वन्यजन्तुको व्यवहार, जोखिम मूल्याङ्कन, सुरक्षित नियन्त्रण, खोर प्रयोग, प्राथमिक उपचार, आपतकालीन प्रतिक्रिया र घटना व्यवस्थापनसम्बन्धी व्यवहारिक तालिम लिनुपर्छ।

डार्ट प्रयोग गर्नुपर्ने कर्मचारीका लागि विशेष प्रमाणित तालिम, समयसमयमा पुनर्ताजगी तालिम र आवश्यकताअनुसार पशु चिकित्सकीय सहकार्यको व्यवस्था गर्नुपर्छ।विश्वविद्यालयहरूले पनि हालका सैद्धान्तिक विषयसँगै वन्यजन्तु उद्दार, पेशागत स्वास्थ्य तथा सुरक्षा र आपतकालीन प्रतिक्रिया सम्बन्धी व्यवहारिक ज्ञान दिनुपर्छ।

भोलि वन्यजन्तु व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने विद्यार्थीले केवल वन्यजन्तुको पारिस्थितिकीय मात्र होइन, वास्तविक घटनास्थलमा आफू, स्थानीय समुदाय र वन्यजन्तुलाई कसरी सुरक्षित राख्ने भन्ने ज्ञान पनि हासिल गर्नुपर्छ।

अनुसन्धानको प्राथमिकता पनि फराकिलो बनाउन आवश्यक छ। मानव वन्यजन्तु द्वन्द्व र सहअस्तित्वमा धेरै अनुसन्धान हुनु स्वाभाविक र आवश्यक छ। तर वन्यजन्तु उद्दारमा खटिने कर्मचारीहरूको पेशागत स्वास्थ्य तथा सुरक्षा, उद्दार जोखिम, घटनाको कारण र ‘नियर मिस’ अर्थात् ठूलो दुर्घटना हुनबाट जोगिएका घटनाबारे अनुसन्धान अझै सीमित छ। यो विषय अब छायाँमा पर्नु हुँदैन।

अर्को दुर्घटना कुर्नु आवश्यक छैन हालैका घटनालाई केही दिनको समाचार बनाएर बिर्सनु पर्याप्त हुँदैन। नेपाल सरकार र प्रदेश सरकारहरूले सबै डिभिजन वन कार्यालय तथा संरक्षित क्षेत्रको वन्यजन्तु उद्दार क्षमता तत्काल समीक्षा गर्न सक्छन्।

कहाँ तालिमप्राप्त जनशक्ति छरु कहाँ सुरक्षित खोर उपलब्ध छ? कहाँ डार्टिङ क्षमता छ? कहाँ पशु चिकित्सकीय सहयोग उपलब्ध छ? व्यक्तिगत सुरक्षात्मक उपकरण कहाँ छ? त्यसपछि न्यूनतम उपकरण मापदण्ड, तालिम, पुनर्ताजगी तालिम, विशेषज्ञ टोली र उद्दार प्रोटोकल लागू गर्न सकिन्छ।

हरेक वन्यजन्तु उद्दार घटना, त्यसमा भएका घाइते, दुर्घटना र दुर्घटना हुनबाट जोगिएका ‘नियर मिस’ घटनालाई समेत अभिलेखीकरण गर्नुपर्छ। यसो गर्न सके एउटा जिल्लाले गरेको गल्ती अर्को जिल्लाले दोहोर्याउनुपर्ने अवस्था घट्छ।

सबैभन्दा महत्वपूर्ण कुरा, वन्यजन्तु उद्दार सफल भयो कि भएन भन्ने मूल्याङ्कन गर्दा वन्यजन्तु बाँच्यो कि मरेन भन्ने मात्रै हेर्नु पर्याप्त हुँदैन। वन्यजन्तु बाँचे पनि उद्दारकर्ता गम्भीर घाइते भयो भने त्यसलाई पूर्ण रूपमा सफल उद्दार भन्न सकिँदैन।

सबै किसिमका वन्यजन्तुको उद्दार एउटै प्रकृतिको हुँदैन। सर्प उद्दार, घाइते हरिणको उद्दार र घरभित्र पसेको चितुवाको व्यवस्थापन फरक हुन्छ।तर एउटा सिद्धान्त सबैमा समान हुनुपर्छ, खतरनाक वन्यजन्तुको उद्दार गर्दा वन्यजन्तुको सुरक्षा जति महत्वपूर्ण छ, उद्दारकर्ता र आम नागरिकको सुरक्षा पनि त्यत्तिकै महत्वपूर्ण छ।

नेपालका संरक्षणकर्मीहरूले दशकौँदेखि साहस, प्रतिबद्धता र समर्पण देखाउँदै आएका छन्। अब त्यही प्रतिबद्धतालाई आधुनिक उपकरण, स्पष्ट कार्यविधि, व्यावहारिक तालिम र बलियो ‘हेल्थ एण्ड सेफ्टी’ संस्कृतिले साथ दिनुपर्ने समय आएको छ।

अर्को वन कर्मचारी घाइते भएपछि मात्र सुधारको कुरा गर्ने अवस्था आउनु हुँदैन। वन्यजन्तु उद्दार महत्वपूर्ण छ। तर उद्दारकर्ताको जीवन पनि उत्तिकै मूल्यवान् छ। हामी उद्दारकर्ता सुरक्षित रह्यौँ भने मात्र हाम्रा वन्यजन्तु पनि अझ सुरक्षित र व्यवस्थित रूपमा संरक्षण गर्न सकिन्छ।

(लेखक न्यूजिल्याण्डको युनिभर्सिटी अफ क्यान्टरबरीमा वन विज्ञानमा विद्यावारिधी अध्ययनरत छन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top