ताजा खबर
बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार
फेवा ताल जोगाउन १५ वर्षे एकीकृत योजना स्वीकृत, कार्यान्वयन सुरु
वन्यजन्तु अपराध नियन्त्रणमा बलियो क्षेत्रीय सहकार्य आवश्यक: मन्त्री चौधरी
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा। दुई वर्षअघिसम्म रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसानका लागि मकै खेती गर्नु जति कठिन थियो, त्यसलाई जोगाएर घर भित्र्याउनु झनै चुनौतीपूर्ण थियो। बिहान उज्यालो नहुँदै बारी पुग्ने, दिनभरि मकैका बोट नियाल्ने र बाँदरको बथान देखिनेबित्तिकै गुलेली तथा नक्कली बन्दुक लिएर धपाउने किसानको दैनिकी बनेको थियो। साँझ परेपछि पनि बारी छाड्न सक्ने अवस्था थिएन। रातिको समयमा बँदेल बारीमा पस्ने त्रासले किसानलाई घर फर्किएपछि पनि चिन्तित बनाइरहन्थ्यो।

खेती गरेर पनि उत्पादन जोगाउन नसक्ने अवस्था आएपछि कतिपय किसान खेतीप्रति नै निराश हुन थालेका थिए। अहिले भने ख्याहाका किसानको अवस्था केही सहज बनेको छ। वडा कार्यालयले गाउँमा बाँदर हेरालु खटाउनुका साथै जङ्गली जनावरको प्रवेश रोक्न बारी वरिपरि काँडेतारको जाली लगाउन थालेपछि किसानलाई बाली जोगाउन सहज भएको हो।

वडा कार्यालयले २०८० सालदेखि मकै खेती जोगाउन नियमित रूपमा हेरालु परिचालन गर्दै आएको छ। साउन र भदौमा बाँदरको प्रकोप बढी हुने धैरेनी मेयालपानी क्षेत्रसहितका स्थानमा हेरालु खटाएर किसानको बाली संरक्षण गर्ने अभियान सञ्चालन हुँदै आएको छ।

विगतमा जेठदेखि भदौसम्म मकै खेती जोगाउन किसान बिहानदेखि रातिसम्म बारीमै बस्न बाध्य थिए। वडा कार्यालयबाट हेरालुको व्यवस्था भएपछि लामो समयसम्म बारी कुरेर बस्नुपर्ने बाध्यता हटेको स्थानीय सूर्यबहादुर विकको अनुभव छ। दुई वर्षअघिसम्म रातिमा बँदेल र दिउँसो बाँदरले मकैबालीमा क्षति पुर्‍याउने गरेकोमा अहिले हेरालु र जालीको व्यवस्थापछि जङ्गली जनावरबाट हुने क्षति निकै कम भएको स्थानीयको अनुभव छ।

दिनको समयमा हेरालुले बारीमा आउने बाँदर धपाउने गरेका छन्। रातिको समयमा भने बारी वरिपरि लगाइएको काँडेतारको जालीले बँदेल, दुम्सी, मृग, घोरललगायतका वन्यजन्तुलाई बाली क्षेत्रमा प्रवेश गर्न रोक्ने काम गरेको छ।

वडा कार्यालयले प्रत्येक वर्ष बाँदर नियन्त्रणका लागि नौ जना हेरालु परिचालन गर्दै आएको छ। चालु वर्ष साउन र भदौमा ख्याहाको धैरेनी मेयालपानी, रातामाटा, कोटफेरा लगायतका क्षेत्रमा छ जना तथा जोगीथुम क्षेत्रमा तीन जना गरी नौ जना हेरालु खटिएका छन्।

बाँदर हेरालु बिहान ५ बजेदेखि राति ८ बजेसम्म मकैबारी आसपासमा परिचालित हुन्छन्। उनीहरूलाई गुलेली, नक्कली बन्दुकलगायत आवश्यक सामग्री उपलब्ध गराइएको छ। बाँदरको बथान देखिएपछि सामूहिक रूपमा धपाउने र सामान्य समयमा बारीको निगरानी गर्ने व्यवस्था मिलाइएको छ।

स्थानीय रामप्रसाद न्यौपानेका अनुसार बाली जोगाउन बिहानदेखि रातिसम्म निरन्तर बारीमै बस्नुपर्ने अवस्थाबाट किसान मुक्त भएका छन्। हेरालु परिचालन र काँडेतारको व्यवस्थाले मकै खेतीप्रति किसानको उत्साह पनि बढेको छ।

जङ्गली जनावरबाट बाली जोगाउन नसक्दा खेतीयोग्य जमिन बाँझिँदै जाने र त्यसले गाउँबाट बसाइँसराइ थप बढाउने जोखिम देखिएपछि वडा कार्यालयले बजेट विनियोजन गरेर हेरालु र काँडेतारको कार्यक्रम अघि बढाएको हो। स्थानीय किसानको माग र जङ्गली जनावरको बढी समस्या रहेका क्षेत्र पहिचान गरेर हेरालु परिचालन तथा जाली लगाउने काम भइरहेको वडा अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए।

चालु आर्थिक वर्षमा थप ५०० मिटर क्षेत्रमा काँडेतारको जाली लगाउने गरी बजेट विनियोजन गरिएको छ। गत वर्ष नमुनाका रूपमा जङ्गली जनावरले अत्यधिक दुःख दिने क्षेत्रमा जाली लगाइएको थियो। त्यसको प्रभाव सकारात्मक देखिएपछि कार्यक्रम विस्तार गर्न लागिएको हो।

काँडेतारको जालीले बाँदरलाई बारीमा प्रवेश गर्न कठिन बनाउनुका साथै रातिको समयमा आउने बँदेल, दुम्सी, मृग, घोरल र खरायोलगायतका जनावरको प्रवेशमा समेत नियन्त्रण भएको स्थानीयको अनुभव छ।

बाँदर हेरालु विष्णुबहादुर सुनारका अनुसार बिहान ५ बजेदेखि राति ८ बजेसम्म बारी आसपास निगरानी गर्ने गरिएको छ। बाँदरको बथान आएको समयमा सबै हेरालु मिलेर धपाउने र सामान्य अवस्थामा प्रत्येकले आफ्नो क्षेत्रमा निगरानी गर्ने व्यवस्था छ। यसले किसानलाई बाली संरक्षणमा ठूलो राहत पुगेको छ।

जङ्गली जनावरको समस्या ख्याहाको मात्रै होइन। पाल्पासहित पहाडी जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले किसानको बालीमा क्षति पुर्‍याउँदै आएका छन्। खेती गरेर उत्पादन जोगाउन नसक्ने अवस्था लामो समयसम्म कायम रहे कृषि भूमि बाँझिने, उत्पादन घट्ने र ग्रामीण क्षेत्रमा बसाइँसराइ बढ्ने जोखिमसमेत रहन्छ।

एउटा वडाले हेरालु राख्दैमा वा केही सय मिटर क्षेत्रमा काँडेतार लगाउँदैमा जङ्गली जनावरबाट हुने क्षतिको समस्या पूर्ण रूपमा समाधान नहुन सक्छ। तर ख्याहामा अपनाइएको हेरालु परिचालन र काँडेतारको अभ्यासले स्थानीय तह र किसानबीचको सहकार्यबाट तत्कालीन रूपमा प्रभावकारी समाधान निकाल्न सकिने देखाएको छ। यसलाई दीर्घकालीन कृषि संरक्षणको कार्यक्रमसँग जोडेर विस्तार गर्न सके पहाडी क्षेत्रमा जङ्गली जनावरका कारण घट्दै गएको खेतीप्रतिको आकर्षण फर्काउन पनि सहयोग पुग्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top