रुपन्देही । सैनामैना नगरपालिका–१०, सालझण्डीस्थित पहिलाखोला सामुदायिक वन उपभोक्ता समूहले घाटगद्दीमा बाँकी रहेको विभिन्न जातका काठ तथा सालको दाउरा शिलबन्दी बोलपत्रमार्फत लिलाम बिक्री गर्ने भएको छ।
समूहले स्वीकृत वन व्यवस्थापन कार्ययोजना आर्थिक वर्ष २०८२-०८३ बमोजिम घाटगद्दीमा रहेका विभिन्न जातका ४५५ थान गोलिया काठ, कुल २ हजार ३८० दशमलव ३६ क्युबिक फिट तथा साल जातको ३ चट्टा दाउरा लिलाम बिक्री गर्न लागेको हो।
समूहले असोज १ गते ‘बुटवल टुडे’ राष्ट्रिय दैनिकमार्फत सूचना प्रकाशित गर्दै काठ तथा दाउरा लट नम्बर १, २ र ३ मा विभाजन गरी शिलबन्दी बोलपत्र आह्वान गरेको छ। लिलाममा सहभागी हुने क्रेताले आफूले सकार गरेको काठ तथा दाउरा आफ्नै खर्चमा जे–जस्तो अवस्थामा रहेको छ, सोही अवस्थामा उठाई लैजानुपर्नेछ।
लिलाममा सहभागी हुन वन पैदावारको कारोबार गर्ने इजाजत प्राप्त, मूल्य अभिवृद्धि कर ९ख्ब्त्० मा दर्ता भएका, कर चुक्ता गरेका तथा सम्बन्धित निकायमा सूचीकृत व्यवसायी हुनुपर्नेछ।
बोलपत्र फाराम समूहको कार्यालय वा डिभिजन वन कार्यालय रुपन्देहीबाट प्राप्त गर्न सकिनेछ। फाराम खरिदको अन्तिम मिति २०८३ असोज २१ गते कार्यालय समयसम्म तोकिएको छ। फारामका लागि रु। १ हजार शुल्क लाग्नेछ, जुन फिर्ता नहुने समूहले जनाएको छ।
बोलपत्र २०८३ असोज २२ गते कार्यालय समयभित्र समूहको कार्यालय वा डिभिजन वन कार्यालय रुपन्देहीमा दाखिला गर्नुपर्नेछ। बोलपत्रसँग कबोल रकमको १० प्रतिशत धरौटीसमेत बुझाउनुपर्नेछ।
धरौटी रकम कामना विकास बैंक, सालझण्डी शाखामा रहेको समूहको बचत खातामा जम्मा गरेको सक्कल बैंक भौचर वा कम्तीमा ६ महिनाको म्याद भएको बैंक ड्राफ्टका रूपमा पेश गर्नुपर्नेछ।समूहका अनुसार बोलपत्र २०८३ असोज २३ गते दिउँसो २ बजे सैनामैना–१० स्थित समूहको कार्यालयमा खोलिनेछ।
बोलपत्र स्वीकृत भएको जानकारी टाँस भएको मितिले १० दिनभित्र सकार गरेको रकम, संकलन खर्च तथा नियमानुसार लाग्ने कर बुझाई लिलाम गरिएका काठ तथा दाउरा उठाइसक्नुपर्नेछ। बोलपत्रमा अंक र अक्षरमा उल्लेख भएको रकम फरक परेमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिइने सूचनामा उल्लेख छ। बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार सामुदायिक वन उपभोक्ता समूहको समितिमा निहित रहने जनाइएको छ।

