मुगु । कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा हालै घोषित नेपालको १३ औँ तथा कान्छो छायाँनाथ राष्ट्रिय निकुञ्जमा नियमित कामकाज सञ्चालनका लागि कर्मचारी खटाइएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले स्थापनाको करिब एक वर्षपछि निकुञ्जको प्रशासनिक तथा संरक्षण सम्बन्धी गतिविधि अघि बढाउन कर्मचारी खटाएको हो।
निकुञ्जका लागि स्वीकृत कुल २७ जनाको दरबन्दीमध्ये तत्कालका लागि १२ जना कर्मचारीलाई स्थलगत रूपमा खटाइएको छ। विभागका अनुसार खटिएका कर्मचारीहरू पुगेसँगै स्थानीयस्तरमै निकुञ्जको कार्यालय स्थापना गरी प्रशासनिक तथा संरक्षण सम्बन्धी कामहरू द्रुत गतिमा अघि बढाउने तयारी भइरहेको छ।
सरकारले छायाँनाथ राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रफल ८४३ वर्ग किलोमिटर र त्यससँग जोडिएको मध्यवर्ती क्षेत्र १७७ वर्ग किलोमिटर निर्धारण गरेको छ। यसअघि यो सम्पूर्ण भू-भाग डोल्पा र मुगुमा फैलिएको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जअन्तर्गत नै पर्दथ्यो।
स्थानीयलाई प्रशासनिक राहत
यसअघि मुगुम कार्मारोङ गाउँपालिकाका बासिन्दाले निकुञ्जसँग सम्बन्धित प्रशासनिक सिफारिस, क्षतिपूर्ति दाबी, योजना सम्झौता तथा सेवा(सुविधा लिनका लागि छिमेकी जिल्ला डोल्पास्थित शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय वा डोल्फू सेक्टरसम्म पुग्नुपर्ने बाध्यता थियो। विकट हिमाली भूगोलका कारण साना प्रशासनिक कामका लागि पनि ४ देखि ५ दिनको जोखिमपूर्ण पैदल यात्रा गर्नुपर्ने सास्ती स्थानीयले भोग्दै आएका थिए।
अहिले आफ्नै गाउँपालिकामै निकुञ्जको कार्यालय स्थापना भएपछि वर्षौँदेखिको यात्रागत झन्झट अन्त्य हुने र स्थानीय तहबाटै सहज रूपमा प्रशासनिक सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।
जैवविविधता र धार्मिक पर्यटनको केन्द्र
हिमाली जैविक विविधताले धनी छायाँनाथ राष्ट्रिय निकुञ्ज क्षेत्रमा विश्वकै दुर्लभ हिउँ चितुवा, कस्तुरी मृग, नाउर, नीलो भेडा, तिब्बती खरायो तथा डाँफे, मुनाल जस्ता पक्षीहरूको महत्त्वपूर्ण बासस्थान रहेको छ। साथै, यो क्षेत्र प्रसिद्ध यार्सागुम्बा सङ्कलनका लागि पनि चर्चित मानिन्छ।
उत्तरी सीमा चीनको स्वायत्त क्षेत्र तिब्बतसँग जोडिएको यो निकुञ्जमा पवित्र धार्मिकस्थल छायाँनाथ ठाकुरजी क्षेत्र समेत पर्ने भएकाले प्राकृतिक संरक्षणका साथै धार्मिक तथा साहसिक पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिने विश्वास लिइएको छ।

