संविधान दिवसको अवसरमा भोजपुरमा २०० बिरुवा रोपण

भोजपुर । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा डिभिजन वन कार्यालय भोजपुरको आयोजनामा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

भोजपुर नगरपालिका–९ स्थित जनकल्याण आधारभूत विद्यालयको कम्पाउण्डमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुलशेखर अर्यालको प्रमुख आतिथ्यतामा विभिन्न प्रजातिका २०० वटा बिरुवा रोपण गरिएको हो। कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, वडाध्यक्ष तथा विद्यालय प्रमुखलगायतको सहभागिता रहेको थियो।

वृक्षारोपण कार्यक्रममा धुपी ३०, कल्की ३०, तेजपात ३५, गुराँस २५, अम्बा १०, शिरीष २०, जाकारान्डा २५, गोल्डमोहर २३ र लौठसल्ला २ वटा बिरुवा रोपण गरिएको डिभिजन वन कार्यालय भोजपुरले जनाएको छ। यसैगरी, आहाले सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको पार्कमा सरसफाइ कार्यक्रमसमेत सम्पन्न गरिएको छ।

वृक्षारोपणसँगै विद्यालयको वातावरण सुधारका क्षेत्रमा नियमित कार्यक्रम सञ्चालन गरिने डिभिजनल वन अधिकृत खुद्रुस मियाले बताए। यस्ता कार्यक्रमले वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै सार्वजनिक क्षेत्रहरूमा हरियाली प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top