चिसाङ नदी उकास क्षेत्रमा वृक्षारोपण, नदी कटान र वन क्षति न्यूनीकरणमा जोड
मोरङ । संविधान दिवस, २०८३ को अवसरमा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा मोरङको बेलबारी नगरपालिका–८ स्थित सिंहदेवी सामुदायिक वनको चिसाङ नदी उकास क्षेत्रमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बाँस, खयर, जामुन, सतिसाल, गोल्डमोहरलगायत विभिन्न प्रजातिका करिब ७ सय बिरुवा रोपण गरिएको हो।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की अध्यक्षतामा ग भदाैं १५ गते बसेको बैठकको निर्णयानुसार संविधान दिवस, असोज २, ३ र ४ गतेसम्म) भव्यताका साथ मनाउने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्दै
डिभिजन वन कार्यालय मोरङको संयोजकत्व तथा सिंहदेवी सामुदायिक वन उपभोक्ता समूह र बेलबारी नगरपालिका–८ को सहकार्यमा असोज ४ गते आइतबार वृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो।

पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङवा (लिम्बू) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाको विशिष्ट आतिथ्यता रहेको थियो।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशका प्रमुख सचिव नारायणप्रसाद भट्ट, प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा। इन्द्रप्रसाद सापकोटा, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयका सचिव पुष्करप्रसाद पोखरेल, प्रदेश वन निर्देशनालय धरानका वन निर्देशक भरतबाबु श्रेष्ठ तथा डिभिजनल वन अधिकृत विक्रम अमात्यलगायतको सहभागिता थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, सञ्चारकर्मी, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा उपभोक्ता र स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो।

कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटाले सहभागीलाई स्वागत गर्दै वृक्षारोपण कार्यक्रमको उद्देश्य र प्रदेश सरकारको संविधान दिवससम्बन्धी कार्यक्रमबारे जानकारी गराए।
सिंहदेवी सामुदायिक वनका अध्यक्ष लक्ष्मण तामाङले रोपिएका बिरुवाको संरक्षण, हुर्काइ तथा विकासका लागि प्रतिबद्धता व्यक्त गरे। वृक्षारोपण कार्यक्रम सञ्चालनका लागि सिंहदेवी सामुदायिक वन छनोट गरेकोमा प्रदेश सरकार र डिभिजन वन कार्यालय मोरङप्रति आभार व्यक्त गरे।

आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले वृक्षारोपण, वन संरक्षण र वन क्षेत्रलाई आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा जोड दिए। यस्ता गतिविधिलाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाउने धारणा उनको थियो।
कोशी प्रदेश प्रमुख परशुराम खापुङले स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकको सुनिश्चितताका लागि वृक्षारोपण महत्वपूर्ण रहेको उल्लेख गरे।
कार्यक्रममा पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङवा (लिम्बू) ले वृक्षारोपण गरिएको क्षेत्र चिसाङ नदी उकासमा रहेकाले भविष्यमा हुनसक्ने नदी कटान तथा वन क्षेत्रमा पुग्ने क्षति न्यूनीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

उनले कार्यक्रममा सहभागी स्थानीय उपभोक्ता, विद्यार्थी, स्थानीय क्लब, संघसंस्था तथा अन्य सरोकारवालालाई धन्यवाद दिँदै कार्यक्रम सफल बनाउन डिभिजन वन कार्यालय मोरङ र सिंहदेवी सामुदायिक वन उपभोक्ता समूहको भूमिकाको प्रशंसा गरे।
कार्यक्रमको सञ्चालन डिभिजन वन कार्यालय मोरङका डिभिजनल वन अधिकृत विक्रम अमात्यले गरेका थिए।

