चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय, हेटौंडाका विद्यार्थीहरूलाई सामुदायिक वनको संरक्षण, व्यवस्थापन तथा दिगो उपयोगसम्बन्धी स्थलगत प्रशिक्षण प्रदान गरिएको छ।
विद्यार्थीहरूलाई पञ्चकन्या सामुदायिक वन, चतुर्मुखी सामुदायिक वन तथा भीमबली सामुदायिक वनको स्थलगत निरीक्षण गराउँदै वन संरक्षण र व्यवस्थापनका विभिन्न पक्षबारे जानकारी दिइएको हो।

स्थलगत प्रशिक्षणका क्रममा विद्यार्थीहरूलाई सामुदायिक वनको संरक्षण तथा व्यवस्थापन, वन स्रोतको दिगो उपयोग, जैविक विविधता संरक्षण तथा वनसँग सम्बन्धित विभिन्न व्यावहारिक पक्षबारे जानकारी गराइएको थियो। कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई स्थलगत अवलोकनमार्फत व्यवहारमा बुझ्न प्रशिक्षणले सहयोग पुग्ने बताइएको छ।

यस क्रममा चतुर्मुखी सामुदायिक वनभित्र सञ्चालनमा रहेको नाइट स्टेका बारेमा समेत विद्यार्थीहरूलाई जानकारी गराइएको थियो। वन संरक्षणसँगै वन क्षेत्रमा आधारित पर्यटन तथा शैक्षिक गतिविधिका सम्भावनाबारे समेत विद्यार्थीहरूले अवलोकन गरेका थिए।

यसैगरी, बरणाभार र क्षेत्र सामुदायिक वन क्षेत्रमा शैक्षिक हब निर्माण गर्नुपर्नेमा जोड दिँदै डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यले वन क्षेत्रलाई संरक्षणसँगै शिक्षा, अनुसन्धान र ज्ञानको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए ।
उनले वन संरक्षण र व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान विद्यार्थीका लागि महत्वपूर्ण हुने बताउँदै वन क्षेत्रको संरक्षणसँगै अध्ययन, अनुसन्धान र शैक्षिक गतिविधिलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

प्रमुख आचार्यले स्थलगत प्रशिक्षणले वन विज्ञान अध्ययनरत विद्यार्थीलाई सामुदायिक वन व्यवस्थापनको वास्तविक अवस्था बुझ्न तथा वन संरक्षणका व्यवहारिक पक्षबारे प्रत्यक्ष अनुभव हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

