ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

प्रकृति संरक्षणमा लगानी आर्थिक समृद्धि र स्थानीय समुदायको समृद्धिमा लगानी हो : किरण तिमल्सिना

काठमाडौं । प्रकृति संरक्षणमा गरिने लगानी वातावरण संरक्षणमा मात्र सीमित नभई नेपालको दीर्घकालीन आर्थिक समृद्धि, जलवायु उत्थानशीलता तथा स्थानीय समुदायको समृद्धिसँग जोडिएको लगानी भएको बताइएको छ ।

आईयूसीएन नेपाल राष्ट्रिय समितिका अध्यक्ष किरण तिमल्सिनाले प्रकृति संरक्षण, विकास र स्थानीय जीविकोपार्जनलाई एकअर्काबाट अलग गरेर हेर्न नसकिने बताएका हुन् । बुधबारदेखि काठमाडौंमा सुरु भएको २०औँ राष्ट्रिय संरक्षण दिवस तथा दोस्रो राष्ट्रिय संरक्षण मञ्चको उद्घाटन सत्रमा बोल्दै तिमल्सिनाले प्रकृति र विकासबीच सन्तुलन कायम गर्दै दिगो भविष्य निर्माण गर्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताए ।

‘प्रकृति हाम्रा लागि हो, प्रकृतिका लागि हामी’ भन्ने सन्देशसहित आफ्नो स्वागत मन्तव्य राख्दै तिमल्सिनाले प्राकृतिक स्रोतमा निर्भर समुदाय भएको नेपालमा संरक्षण, विकास र स्थानीय जीविकोपार्जनलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

जलवायु परिवर्तन र संरक्षणका चुनौतीमा छलफल

‘Scaling Climate Finance for Biodiversity Conservation and Prosperous Nepal’ विषयमा केन्द्रित दुईदिने मञ्चले नेपालको प्राकृतिक सम्पदा संरक्षणका साथै प्रकृति र विकासबीचको सन्तुलन कायम गर्ने मार्गचित्र तयार गर्न महत्वपूर्ण भूमिका खेल्ने तिमल्सिनाले बताए ।

नेपालमा वन क्षेत्र तथा त्यसअन्तर्गतका विभिन्न व्यवस्थापन पद्धति, समुदायमा आधारित वन व्यवस्थापन, संरक्षित क्षेत्र, प्रजाति संरक्षण, जलाधार, सिमसार, कृषि वन तथा जैविक विविधता व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण सम्भावना, अवसर र अनुभव रहेको उनले उल्लेख गरे ।

तर जलवायु परिवर्तनका असर, वन व्यवस्थापन, मानव–वन्यजन्तु द्वन्द्व, वन डढेलो तथा स्थानीय समुदायको जीविकोपार्जनमा देखिएका चुनौती गम्भीर बन्दै गएको उनको भनाइ थियो । तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण बाढी, हिमनदी तथा हिमतालमा देखिएका परिवर्तनलगायतका विषयमा मञ्चमा छलफल गरिने उनले जानकारी दिए ।

तिमल्सिनाले जलवायु परिवर्तनका असर न्यूनीकरण, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा वन व्यवस्थापनका क्षेत्रमा साझा बुझाइ निर्माण गरी आगामी दिनका लागि प्रभावकारी कार्यदिशा तयार गर्नुपर्ने बताए ।

२७ विषयगत छलफल र नीतिगत घोषणापत्र तयार गरिने

दोस्रो राष्ट्रिय संरक्षण मञ्चमा दुईवटा प्लेनरी सत्र, छवटा प्यानल डिस्कसन, २७ वटा विषयगत सत्र तथा अन्य कार्यक्रम समावेश गरिएको तिमल्सिनाले जानकारी दिए । मञ्चमा हुने छलफलबाट प्राप्त महत्वपूर्ण निष्कर्षलाई समेटेर नीतिगत तथा आगामी दिनको सहकार्यका लागि घोषणापत्र तयार गरिने उनले बताए ।

प्रकृति संरक्षणसँगै स्थानीय समुदायका लागि दिगो रोजगारी र आयका अवसर सिर्जना गर्ने विषयमा पनि छलफल आवश्यक रहेको उनले उल्लेख गरे । संरक्षण र विकासबीचको समन्वय, प्रविधिमैत्री विकास तथा जैविक विविधता संरक्षणमा लगानीका सम्भावनालाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

यसपटक निजी क्षेत्रको सहभागितामा प्रकृतिमैत्री विकास तथा जैविक विविधता संरक्षणमा लगानी र अवसरका विषयमा समेत छलफल गरिने तिमल्सिनाले बताए ।

विचार आदानप्रदानसँगै व्यवहारिक समाधान खोजिने

मञ्च विचार तथा अनुभव आदानप्रदानमा मात्र सीमित नरही व्यवहारिक अवसर, साझेदारीका सम्भावना, संरक्षणका चुनौती न्यूनीकरणका उपाय तथा नीतिगत सुधारका क्षेत्र पहिचान गर्ने उद्देश्यमा केन्द्रित रहेको तिमल्सिनाले बताए ।

उनले मञ्चमा सहभागी संरक्षणविद्, विज्ञ, सरकारी तथा गैरसरकारी संस्था, संरक्षण साझेदार, निजी क्षेत्र, सञ्चारकर्मी तथा अन्य सरोकारवालाबाट सक्रिय सहभागिता र महत्वपूर्ण सुझाव प्राप्त हुने विश्वास व्यक्त गरे ।

उद्घाटन सत्रमा कृषि, वन तथा वातावरण मन्त्रालयकी मन्त्री गीता चौधरी, मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र, आईयूसीएनका क्षेत्रीय काउन्सिलर रोशनी अधिकारी, आईयूसीएन एसिया क्षेत्रीय सदस्य समितिका अध्यक्ष योजी नातोरीलगायत संरक्षण क्षेत्रका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी अतिथि तथा वक्ताहरूलाई स्वागत गर्दै तिमल्सिनाले उद्घाटन सत्र समापनको घोषणा गरेका थिए । उद्घाटनपछि सामूहिक तस्बिर तथा खानाका लागि सहभागीहरूलाई अनुरोध गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top