काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बिसहजारी ताल तथा कुमाल ताल नजिकै बहुचर्चित जंगली हात्ती ‘रोनाल्डो’को करेन्ट लागेर मृत्यु भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जभित्रका जोखिमपूर्ण विद्युतीय संरचनाको अध्ययन गर्न समिति गठन गरेको छ।
असोज ३ गते ९सेप्टेम्बर १९० मृत अवस्थामा फेला परेको ५३ वर्षीय रोनाल्डोको मृत्यु नेपाली सेनाको बरन्डाभार क्षेत्रमा रहेको सुरक्षा पोष्टमा विद्युत् आपूर्ति गर्न तानिएको तारका कारण भएको प्रारम्भिक अनुसन्धान तथा पोस्टमार्टमबाट खुलेको हो। रुख वा घाँस तान्ने क्रममा विद्युत्को तार भुइँमा खसेपछि हात्तीले उक्त तार मुखमा हालेर चपाउँदा करेन्ट लागेको बताइएको छ। घटनास्थलमा हात्तीको मुखमा विद्युत्को तार बेरिएको र जिब्रो तथा मुख डढेको अवस्थामा भेटिएको थियो।
घटनापछि विभागले निकुञ्जभित्र वन्यजन्तुका लागि जोखिमपूर्ण विद्युतीय संरचना, नाङ्गा तार तथा अन्य पूर्वाधारको अध्ययन गरी प्रतिवेदन पेस गर्न छानबिन तथा अध्ययन समिति गठन गरेको हो। समितिले चितवन राष्ट्रिय निकुञ्जभित्र तथा आवश्यकताअनुसार अन्य निकुञ्ज क्षेत्रमा रहेका सेना, सुरक्षा पोष्ट र सरकारी कार्यालयमा जडान गरिएका विद्युत् लाइनको सुरक्षा अवस्था अध्ययन गर्नेछ।
समितिले वन्यजन्तुको आवतजावत हुने क्षेत्रमा विद्युतीय तार तथा अन्य संरचनाबाट उत्पन्न हुन सक्ने जोखिम पहिचान गरी यस्ता दुर्घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायबारे सुझाव दिनेछ। साथै, विद्युत् लाइनहरू तोकिएको मापदण्डअनुसार सुरक्षित छन् वा छैनन् भन्ने विषयमा स्थलगत अध्ययन गरी विस्तृत प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ।
३३ भन्दा बढी छावाको बाबु थियो रोनाल्डो
रोनाल्डोको मृत्युले चितवनको वन्यजन्तु संरक्षण क्षेत्रमा गम्भीर क्षति पुगेको संरक्षणकर्मीहरूले बताएका छन्। सौराहास्थित खोरसोर हात्ती प्रजनन केन्द्रमा जन्मिएका ६९ भन्दा बढी छावामध्ये ३३ देखि ३८ वटासम्मको बाबु रोनाल्डो रहेको बताइएको छ। यसले हात्तीको वंश संरक्षण तथा प्रजननमा उसको महत्वपूर्ण योगदान रहेको देखाउँछ।
खोरसोर क्षेत्रमा विगत १२ वर्षभन्दा बढी समयदेखि रोनाल्डोको प्रभाव रहेको थियो। ध्रुवे र गोविन्देजस्ता अन्य जंगली हात्तीलाई नियन्त्रणमा राख्दै प्रजनन केन्द्रका पोथी हात्तीको सुरक्षा र वंश विस्तारमा समेत उसले भूमिका खेलेको संरक्षणसम्बन्धी विवरणमा उल्लेख छ।
शक्तिशाली भाले हात्तीका रूपमा परिचित रोनाल्डोको मृत्युले चितवनको हात्ती संरक्षण र प्रजनन व्यवस्थापनमा समेत असर पर्न सक्ने भन्दै संरक्षणकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्।
‘रोमियो’को मृत्युपछि पनि दोहोरियो विद्युतीय जोखिम
चितवन राष्ट्रिय निकुञ्जको सोही क्षेत्रमा यसअघि २०६४ सालमा ‘रोमियो’ नामक हात्तीको समेत करेन्ट लागेर मृत्यु भएको थियो। विगतमा यस्तै घटना भइसकेको अवस्थामा पनि निकुञ्जभित्रका विद्युतीय संरचनालाई सुरक्षित बनाउन पर्याप्त ध्यान नदिइएको भन्दै संरक्षणकर्मीहरूले प्रश्न उठाएका छन्।
निकुञ्जको कोर क्षेत्र तथा मध्यवर्ती वन क्षेत्रमा रहेका सुरक्षा पोष्ट र अन्य कार्यालयमा विद्युत् आपूर्ति गर्न तानिएका तारहरू वन्यजन्तुका लागि जोखिमपूर्ण हुन सक्ने उनीहरूको भनाइ छ। विद्युतीय लाइनलाई भूमिगत तथा इन्सुलेटेड केबलमार्फत सुरक्षित व्यवस्थापन गर्नुपर्नेमा लापरबाही हुँदा वन्यजन्तुले ज्यान गुमाउनुपरेको संरक्षणकर्मीहरूको दाबी छ।
विभागले समितिको प्रतिवेदन प्राप्त भएपछि निकुञ्जभित्र रहेका जोखिमपूर्ण विद्युतीय तार तथा संरचनालाई सुरक्षित बनाउन आवश्यक कदम चालिने जनाएको छ। रोनाल्डोको मृत्युको घटनाले वन्यजन्तु संरक्षण क्षेत्रमा पूर्वाधार निर्माण र सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको विषयलाई पुनः उजागर गरेको छ।

