काठमाडौं । ललितपुरको सहरी क्षेत्र र घना वनसँग जोडिएका आसपासका बस्तीहरूमा पछिल्लो समय चितुवा पस्ने र उद्धार गरिने घटनाहरू सामान्यजस्तै बनेका छन्।
केही समयअघि ललितपुरको कुसुन्टीस्थित माछापुच्छ्रे स्कुलको स्टोररुमभित्रै चितुवा फेला परेपछि वरपर ठूलो त्रास फैलिएको थियो। सदर चिडियाखाना जावलाखेलको प्राविधिक टोलीले डार्ट गरी बेहोस बनाएपछि मात्र उक्त चितुवालाई सुरक्षित नियन्त्रणमा लिन सम्भव भएको थियो।
यस्तै अचम्मलाग्दो घटना एकान्तकुनास्थित स्विस् दूतावास परिसरमा पनि दोहोरियो। करिब ६० किलो तौल भएको चार वर्षको भाले चितुवा दूतावासको कम्पाउन्डभित्र पुगेपछि सुरक्षाकर्मी र चिडियाखानाको टोलीले संयुक्त रूपमा नियन्त्रणमा लिनुपरेको थियो। यसबाहेक ईमाडोल, टिकाथली तथा गोदावरी क्षेत्रका विभिन्न बस्तीहरूबाट पनि चिडियाखानाको टोलीले थुप्रै चितुवाको जीवितै उद्धार गरिसकेको छ।
ललितपुरका सहरी तथा अर्ध सहरी इलाकामा बारम्बार चितुवा नियन्त्रणमा लिनुपर्ने अवस्था आउनुका पछाडि मुख्यगरी फुल्चोकी, गोदावरी, छम्पी र लेलेजस्ता घना वन क्षेत्रको सामीप्य जिम्मेवार मानिन्छ।
वनमा प्राकृतिक आहारा र पानीको अभाव भएपछि चितुवाहरू बस्ती र सहरका गल्लीतिर छिर्ने गर्छन्। सहरमा सजिलै पाइने कुकुर, बिराला र बाख्राजस्ता घरपालुवा जनावर चितुवाका लागि सहज सिकार बन्ने गरेका छन्। सहरी क्षेत्रमा नियन्त्रण र उद्धार सफल भए पनि वन छेउका ग्रामीण बस्तीमा भने यो द्वन्द्व ज्यानै जाने तहसम्म पुगेको छ।
गोदावरी नगरपालिका–५ सुनारटोलमा साँझ कामबाट घर फर्कँदै गरेका स्थानीय रणबहादुर गर्तौलामाथि बाटोमै चितुवाले अचानक आक्रमण गरेको थियो। घाइते गर्तौलाको ज्यान बचाउने क्रममा स्थानीयबासीले आक्रमणकारी चितुवालाई घटनास्थलमै मारेका थिए।
डिभिजन वन कार्यालय ललितपुरका डिभिजनल वन अधिकृत संयोग बस्नेतका अनुसार बस्ती र वनको सिमाना जोडिएका क्षेत्रमा चितुवाको चहलपहल बढ्दा सतर्कता अपनाउनु अनिवार्य हुन्छ।
यता, यस्ता जोखिम न्यूनीकरण गर्न तनहुँमा भने नयाँ र उदाहरणीय अभ्यास थालिएको छ। डिभिजन वन कार्यालय तनहुँले आर्थिक वर्ष २०८२-०८३ मा जिल्लाका आठ वटा सामुदायिक वनभित्र पोखरी निर्माण अभियान चलाएको छ। डिभिजन वन कार्यालय तनहुँका प्रमुख एवं डिभिजनल वन अधिकृत मनोज रानाभाटका अनुसार सुख्खा याममा पानी खोज्दै वन्यजन्तु बस्तीतिर झर्ने र मानिसमाथि आक्रमण गर्ने गरेकाले वनभित्रै पोखरी बनाइएको हो। वनभित्रै पानी र अनुकूल प्राकृतिक वातावरण पाएपछि वन्यजन्तु मानव बस्तीमा पस्ने क्रम घट्ने र मानव- वन्यजन्तु द्वन्द्वमा कमी आउने अपेक्षा डिभिजनल वन अधिकृत रानाभाटको रहेको छ।
उपत्यकाका वन नजिकका बस्तीहरूमा चितुवाको जोखिम कायमै रहने भएकाले घर वा कम्पाउन्डभित्र चितुवा छिरेमा आत्तिएर घेरा नहाल्न र ढुङ्गा नहान्न वन्यजन्तु विज्ञहरूले सुझाव दिएका छन्।
साँझ बिहानको समयमा बालबालिका र चौपायालाई सुरक्षित राख्न तथा बस्तीमा चितुवा देखिएमा आफैँ नियन्त्रणमा लिन नखोजी तत्काल नेपाल प्रहरी वा सदर चिडियाखाना जावलाखेलमा सम्पर्क गर्न आग्रह गरिएको छ।

