काठमाडौं। नेपालको प्रशासनिक वृत्तमा अक्सर सुगम, स्रोत-साधनले सम्पन्न र आकर्षक मानिने स्थानमा जान कर्मचारीहरूबीच तीव्र प्रतिस्पर्धा हुने गर्छ। तर वन सेवाका एक वरिष्ठ र प्रभावशाली अधिकारी धनञ्जय लामिछानेको अनुभव भने अलिक फरक र रोचक छ।
नेपाल वन निगम लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नयाँ जिम्मेवारी सम्हाल्नुभएका लामिछानेले आफूलाई सधैं समस्याग्रस्त र अरू जान नमान्ने जटिल ठाउँहरूमा मात्र पठाइने गरेको अनुभव व्यक्त गरेका छन् ।
हाल वन विभागको उपमहानिर्देशकको भूमिकामा समेत रहेका लामिछानेले विदेश भ्रमण, आकर्षक आयोजना वा सुगम मानिने स्थानको छनोट प्रक्रियामा आफ्नो नाम कहिल्यै नपर्ने तर चुनौतीपूर्ण र समस्याले जेलिएका निकायहरू सुधार्ने बेलामा भने सधैं अगाडि सारिने गरेको गुनासो गरे ।
आफ्नो कार्यक्षमता र आत्मविश्वास प्रकट गर्दै उनले भने, ‘समस्याग्रस्त र अरू जान नमान्ने ठाउँमा पद सहजै प्राप्त हुन्छ, तर विदेश र आकर्षक ठाउँमा भने नामै आउँदैन। बरु वन परिसरभित्रका सबै विभाग तथा केन्द्रहरूको जिम्मेवारी वा मन्त्रालयका वन सेवातर्फका चारवटै महाशाखाको नेतृत्व सुम्पिने हो भने पनि म एक्लै चलाउन तयार छु।’
उनकाे यो अभिव्यक्तिले प्रशासनिक क्षेत्रभित्र हुने अवसरको असमान वितरण र पहुँचका आधारमा हुने काज-सरुवाको प्रवृत्तिमाथि व्यङ्ग्य त गरेको छ नै, साथै जटिलभन्दा जटिल प्रशासनिक चुनौतीहरूलाई एक्लै सामना गर्न सक्ने उहाँको उच्च मनोबल र क्षमतालाई पनि उजागर गरेको छ।
लामो समयदेखि वन क्षेत्रको संरक्षण, व्यवस्थापन र नीतिगत सुधारमा क्रियाशील लामिछानेलाई एक निडर, स्पष्ट वक्ता र परिणाममुखी प्रशासकका रूपमा चिनिन्छ। यसअघि पनि समस्याग्रस्त बनेको वन पैदावार विकास समिति तथा अन्य केही जटिल आयोजनाहरूको कुशल नेतृत्व र सञ्चालन गरिसक्नुभएका लामिछानेमा धराशायी वा शिथिल बनेका निकायहरूलाई पुनर्जीवन दिने विशेष क्षमता भएकै कारण उनलाइ नेपाल वन निगम लिमिटेडको नेतृत्व सुम्पिएको विश्लेषण गरिएको छ।
उनकाे यो स्पष्ट र साहसिक भनाइपछि वन क्षेत्रका कर्मचारी तथा सरोकारवालाहरूले उहाँको उच्च आत्मविश्वासको प्रशंसा गरेका छन्। लामिछानेको कुशल र सबल नेतृत्वमा नेपाल वन निगम लिमिटेडले विद्यमान समस्याहरूलाई पन्छाउँदै प्रगति र सफलताको नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ।

