प्युठान । सरुमारानी गाउँपालिका–२, प्युठानस्थित श्री बगाले सामुदायिक वन उपभोक्ता समूहले काठ तथा दाउरा बोलपत्रमार्फत लिलाम बिक्री गर्ने भएको छ। समूहले लट न. १-२०८२–०८३ अन्तर्गत असना जातका गोलिया तथा विभिन्न प्रजातिका दाउरा बिक्री गर्न बोलपत्र आह्वान गरेको हो।
समूहले सार्वजनिक गरेको सूचनाअनुसार बिक्रीका लागि असना जातका २७० थान गोलिया रहेका छन्। ती गोलियाको कुल परिमाण २ हजार २२४.५९ क्युबिक फिट रहेको छ। यस्तै, १२ चट्टा दाउरा पनि लिलाम बिक्री गरिनेछ। दाउरामध्ये ३ चट्टा साल र ९ चट्टा अन्य तथा मिश्रित प्रजातिका रहेका छन्।
बोलपत्र फाराम खरिद गर्ने अन्तिम मिति २०८३ भदौ १४ गते कार्यालय समयभित्र तोकिएको छ। इच्छुक बोलपत्रदाताले २०८३ भदौ १५ गते दिउँसो १ बजेसम्म बोलपत्र दाखिला गर्नुपर्नेछ। प्राप्त बोलपत्र सोही दिन दिउँसो २ बजे खोलिने समूहले जनाएको छ।
बोलपत्रमा सहभागी हुनेले कबुल गरेको रकमको १० प्रतिशत धरौटी बुझाउनुपर्नेछ। धरौटी रकम नेपाल बैंक लिमिटेड, खलंगा शाखामा रहेको समूहको खातामा जम्मा गरेको भौचर वा सो बराबरको बैंक ग्यारेन्टी बोलपत्रसँगै संलग्न गर्नुपर्नेछ।
बोलपत्रमा सहभागी हुन डिभिजन वन कार्यालयमा सूचीदर्ता प्रमाणपत्र, वन पैदावार कारोबार दर्ता प्रमाणपत्र, प्यान र भ्याट दर्ता तथा नवीकरण प्रमाणपत्र र करचुक्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ।
समूहका अनुसार लिलामबाट सकार गरिएको काठ तथा दाउरा घाटगद्दी स्थलमा जे जस्तो अवस्थामा रहेको छ, सोही अवस्थामा सकारकर्ताले आफ्नै खर्चमा उठाई लैजानुपर्नेछ।
समूहले तोकिएको म्यादभित्र आवश्यक कागजातसहित बोलपत्र पेश गर्न इच्छुक फर्म तथा व्यवसायीलाई आह्वान गरेको छ। बोलपत्रसम्बन्धी विस्तृत विवरण समूहको कार्यालयबाट प्राप्त गर्न सकिने जनाइएको छ।

