बिशाल बस्नेत
महोत्तरी । महोत्तरीको बर्दिबासस्थित वन क्षेत्रमा हुर्किरहेका टिकका बिरुवामा एसिड तथा अन्य विषाक्त पदार्थ हालेर नष्ट गरिएको घटना सार्वजनिक भएको छ। बर्दिबास–२ स्थित सागरनाथ वन परियोजनाको क्षेत्राधिकारभित्र पर्ने हात्तीलेट वन क्षेत्रको दुई नम्बर प्लटमा १९५ वटा बिरुवा नष्ट गरिएको परियोजनाले जनाएको छ।
करिब तीन बिघा क्षेत्रफलमा लगाइएका बिरुवामा विषाक्त पदार्थ प्रयोग गर्नुका साथै केही बिरुवा काटिएको पाइएको छ।वन क्षेत्र अतिक्रमण गरी जग्गा कब्जा गर्ने उद्देश्यले योजनाबद्ध रूपमा बिरुवा नष्ट गरिएको हुन सक्ने प्रारम्भिक प्रतिवेदनले देखाएको छ।
सागरनाथ वन परियोजना बर्दिबासका प्रमुख प्रेम उपाध्यायले अतिक्रमण गरिएको क्षेत्रमा स्थलगत अध्ययन गरी प्रतिवेदन बनाउने प्रक्रिया अघि बढाइएको बताए। उनले भने,‘एसिड वा केही विषाक्त पदार्थ हालेर अतिक्रमण गर्न खोजिएको जस्तो देखिन्छ, छानबिन गरेर लगभग प्रतिवेदन तयार गरिसकेका छौं ।’ घटनाको प्रतिवेदन जिल्ला वन कार्यालयलाई हस्तान्तरण गरेपछि सोही अनुसार कार्यालयले घटनाको प्रकृति हेरर मुद्दा प्रक्रियामा लैजान सक्छ ।’
वन क्षेत्रमा लगाइएका बिरुवालाई लक्षित गरी यसरी विषाक्त प्रयोग गरेर नष्ट गरिनु सामान्य घटना नभएको भन्दै स्थानीयले गम्भीर अनुसन्धानको माग गरेका छन्।
स्थानीय देवनारायण महतोले वन क्षेत्र कब्जा गर्ने उद्देश्यले भू–माफियाको चलखेल हुन सक्ने भन्दै सत्यतथ्य छानविनगरी दोषिलाई कानुनी कारवाहीमा ल्याउनुपर्ने बताए । उनले भने,‘ यति ठूलो संख्यामा बिरुवा एकैपटक नष्ट गरिनु गम्भीर वन अपराध हो, यस घटनामा संलग्न व्यक्तिको पहिचान गरी कारबाही गर्नुपर्छ।’
अर्का स्थानीय मनमाया महतोले वन क्षेत्रमा गाईवस्तु चराउन जाँदा घटनाबारे जानकारी पाएको बताइन्। उनले भनिन्, ‘हुर्कँदै गरेका बिरुवालाई लक्षित गरी गरिएको क्षति वन क्षेत्र कब्जा गर्ने प्रयास हो, गहिरो अनुसन्धान हुनपर्छ ।’
चार व्यक्ति अनुसन्धानको दायरामा
डिभिजन वन कार्यालय महोत्तरीले घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ। कार्यालय प्रमुख अजय मिश्रले सागरनाथ वन परियोजनाले तयार गरेको प्रतिवेदनका आधारमा थप अनुसन्धान गरी वन ऐनअनुसार मुद्दा प्रक्रिया अघि बढाइने बताए । उनले भने,‘ हामीले प्रारम्भिक प्रतिवेदन तयार पारेका छौं, सोही सिफारिसका आधारमा दोषिलाई कारवाही प्रक्रिया अघि बढाउछौं ।’

अजय मिश्र डिभिजन वन कार्यालय महाेत्तरी प्रमुख
परियोजनाको प्रतिवेदनमा घटनामा चार जना व्यक्ति संलग्न रहेको उल्लेख भए पनि अनुसन्धानको क्रममा रहेकाले उनीहरूको नाम सार्वजनिक गरिएको छैन। डिभिजन वन कार्यालयले प्रतिवेदन प्राप्त भएपछि आवश्यक प्रमाण संकलन तथा अनुसन्धान अघि बढाएर मुद्दा दायर गर्ने तयारी गरेको छ।
कार्यालय प्रमुख मिश्रले बिरुवाको जरामा विषाक्त पदार्थ हालेर नष्ट गर्नु गम्भीर अपराध भएको बताउँछन् । ‘बिरुवाको जरामा विषाक्त पदार्थ हालेर नष्ट गर्नु अपराध हो। यो कुन उद्देश्यले गरिएको हो भन्ने अनुसन्धानबाट स्पष्ट हुन्छ,’ मिश्रले भने, ‘अपराधमा संलग्न जोसुकै भए पनि कानुनअनुसार कारबाही गरेर छाडछौं।’
रास्वपाको स्थलगत अनुगमन, घटनामा चासो नदिएको आरोप
घटनाबारे सार्वजनिक रूपमा जानकारी आउनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेताहरूले घटनास्थलको स्थलगत निरीक्षण गरेको भए पनि घटनालाई बाहिर ल्याउन चासो नदिएको आरोप लागेको छ।
रास्वपाका स्थानीय नेता देवनारायण महतोले नगरस्तरीय नेताहरू घटनास्थलमा पुगे पनि घटनाबारे पर्याप्त चासो नदिएको बताए। तर रास्वपा नगर सभापति परशुराम बस्नेतले घटनास्थलमा पुगेर जानकारी लिएपछि वन कार्यालय र परियोजनाले अनुसन्धान प्रक्रिया अघि बढाइसकेको जानकारी पाएपछि आफूहरूले थप हस्तक्षेप नगरेको बताए।
‘हामी घटनास्थलमा पुगेका थियौं। त्यहाँ वन परियोजना र वन कार्यालयका कर्मचारीले प्रतिवेदन बनाएर प्रक्रिया अघि बढाइसकेको जानकारी दिए,’ बस्नेतले भने, ‘अनुसन्धान प्रभावित नहोस् भनेर हामीले थप चासो नदिएका हौं। दोषी जोसुकै भए पनि कारबाही हुनुपर्छ।’
वन अतिक्रमणको पुरानो घटनासँग जोडिँदै चिन्ता
महोत्तरीमा वन क्षेत्र अतिक्रमण गरी जग्गा कब्जा गर्ने प्रयासको यो पहिलो घटना भने होइन। २०७७ साल मंसिरमा केही व्यक्तिले वन क्षेत्रको जग्गा आफ्नो नाममा ल्याएर सयौँ रुख काटी घेराबार गरेको घटना सार्वजनिक भएको थियो।
रम्तेल डाँडा सामुदायिक वनअन्तर्गतको करिब चार बिघा जग्गा व्यक्तिको नाममा पुगेको घटनामा वन, मालपोत, नापी तथा स्थानीय तहका कर्मचारीको भूमिकासमेतमाथि प्रश्न उठेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त घटनामा तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साह, तत्कालीन वडा अध्यक्ष चूडामणि पोखरेल, वन उपभोक्ता समितिका पदाधिकारी तथा नापी, मालपोत र वनका कर्मचारीसहित २४ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानीसम्बन्धी भ्रष्टाचार मुद्दा दायर गरेको थियो। मुद्दामा केहीले सफाइ पाएका छन् भने केहीमाथि सजाय भएको छ।
स्थानीय कृष्ण गौतम र लिलामणि पौडेलले वनको जग्गा आफ्नो नाममा ल्याएको घटनामा उनीहरूलाई मुख्य दोषी ठहर गरिएको थियो। त्यसपछि अनुसन्धानका क्रममा कर्मचारीदेखि अन्य व्यक्तिसम्म तानिएका थिए।
‘वन अतिक्रमणको प्रयास भए उन्मुक्ति दिनु हुँदैन’
वन महासंघ मधेश प्रदेशका अध्यक्ष सोम शर्माले वन फँडानी र अतिक्रमणमार्फत जग्गा कब्जा गर्ने प्रवृत्ति पुरानै भए पनि सरकारी तथा वन क्षेत्रभित्र लगाइएका बिरुवा नै नष्ट गर्नु अझ गम्भीर विषय भएको बताए।
‘वन क्षेत्र हो भन्ने थाहा हुँदाहुँदै लगाइएका बिरुवा नष्ट गर्नु गम्भीर अपराध हो,’ शर्माले भने, ‘वन अतिक्रमण गरेर जग्गा कब्जा गर्ने प्रयास भएको हो भने संलग्न व्यक्तिलाई कुनै पनि अवस्थामा उन्मुक्ति दिनु हुँदैन।’

(वन महासंघ मधेश प्रदेशका अध्यक्ष सोम शर्मा)
बर्दिबास–२ का वडा अध्यक्ष श्यामराजा सिंहले पछिल्लो समय वन क्षेत्रसँग जोडिएका जग्गामा स्वामित्वसम्बन्धी विभिन्न चर्चा चलिरहेकाले वन क्षेत्रमा निगरानी बढाउनुपर्ने बताउँछन् । ‘वन क्षेत्र अतिक्रमण गरी व्यक्तिको स्वामित्वमा लैजाने प्रयास हुन नदिन स्थानीय तहबाट पनि आवश्यक सहयोग हुन्छ,’ सिंहले भने, ‘घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी पहिचान हुनुपर्छ।’

(बर्दिबास–२ का वडा अध्यक्ष श्यामराजा सिंह)

