काठमाडौं। नेपाल बीमा प्राधिकरणले वन्यजन्तुको आक्रमणबाट हुने मानवीय, भौतिक तथा कृषिजन्य क्षतिलाई सम्बोधन गर्न ‘वन्यजन्तु जोखिम केन्द्रित बीमालेख’ जारी गरेको छ।
यस एकीकृत बीमालेखअन्तर्गत वार्षिक १५ सय रुपैयाँ बीमाशुल्क बुझाएर अधिकतम १० लाख रुपैयाँसम्मको क्षतिपूर्ति सुरक्षण पाइनेछ। बीमितले बीमाशुल्क भुक्तानी गरेपछि प्रारम्भ हुने यो बीमाको अवधि एक वर्षको हुनेछ।
यस बीमालेखअन्तर्गत व्यक्तिगत दुर्घटना वा मृत्यु भएमा अधिकतम १० लाख रुपैयाँ (परिवारका बढीमा दुई जनासम्म) र पूर्ण अशक्तता भएमा १० लाख रुपैयाँसम्म पाइनेछ। त्यसैगरी अस्थायी पूर्ण अशक्ततामा ५ लाख रुपैयाँ, गम्भीर घाइतेको उपचारमा १ लाख रुपैयाँ र सामान्य घाइतेको उपचार खर्चबापत २० हजार रुपैयाँसम्मको सुरक्षण दिइएको छ।
वन्यजन्तुको आक्रमणबाट बीमितको मृत्यु भएमा काजक्रिया तथा शव व्यवस्थापनका लागि थप ५० हजार रुपैयाँ सात दिनभित्र भुक्तानी गरिने व्यवस्था छ।
भौतिक तथा कृषि क्षतितर्फ घर तथा भौतिक संरचनामा क्षति भएमा ५ लाख रुपैयाँ, ३ महिनाभन्दा बढी उमेरका पशुधनमा १ लाख रुपैयाँ र कृषि बालीमा ५० हजार रुपैयाँसम्मको क्षतिपूर्ति पाइनेछ। यो बीमालेखमा हात्ती, गैँडा, बाघ, भालु, चितुवा, स्याल, मृग, ब्वाँसो, जङ्गली कुकुर, जङ्गली बँदेल, अर्ना, गोही, गौरीगाई, अजिङ्गर, नीलगाई, बाँदर, दुम्सी र कृष्णसार गरी १८ प्रकारका वन्यजन्तुबाट भएको क्षति मात्र समेटिनेछ।
वन्यजन्तुको आक्रमणबाट क्षति भएमा बीमितले ४८ घण्टाभित्र बीमा कम्पनीलाई जानकारी गराउनुपर्नेछ। प्रहरी प्रतिवेदन, स्थानीय तह वा प्राविधिकको सिफारिस र आवश्यक कागजात पेस भएको सात दिनभित्र दाबी भुक्तानी गरिने प्राधिकरणले जनाएको छ। साथै, अभिकर्ता प्रयोग नगरी सोझै बीमा गरेमा बीमाशुल्कमा २.५ प्रतिशत छुट पाइने व्यवस्था समेत गरिएको छ।








