काठमाडौं । चुनावी अभियानका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बडीमालिकालाई चर्चामा ल्याएपछि थप चर्चित बनेको बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्र अब कानुनी रूपमै वन संरक्षण क्षेत्रका रूपमा स्थापित भएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै बाजुरा र अछामका महत्वपूर्ण प्राकृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ घोषणा गरेको हो।
प्रदेश मन्त्रिपरिषद्को साउन १९ गतेको निर्णयअनुसार गरिएको घोषणा सुदूरपश्चिम प्रदेश वन ऐन, २०७७ को दफा २६ (१) मा टेकेर कार्यान्वयनमा आएको हो।
प्रदेश राजपत्रमा प्रकाशित विवरणअनुसार संरक्षण क्षेत्रमा बाजुराको बडीमालिका नगरपालिका–५, ६, ७ र ८ तथा त्रिवेणी नगरपालिका–५, ६, ७ र ९ का क्षेत्र समेटिएका छन्। त्यस्तै अछामको मेल्लेख गाउँपालिका–१ र २ तथा रामारोशन गाउँपालिका–४, ५ र ६ का क्षेत्र पनि संरक्षण क्षेत्रभित्र परेका छन्। कुल ४९८ दशमलव ४ वर्गकिलोमिटर क्षेत्रलाई संरक्षणको दायरामा ल्याइएको प्रदेश सरकारको घोषणामा उल्लेख छ।

चुनावी अभियानका क्रममा धनगढी पुगेका बालेनले बडीमालिकाको प्राकृतिक सौन्दर्यको चर्चा गर्दै यसलाई ‘स्वीजरल्यान्डको बाउ’को संज्ञा दिएका थिए। त्यसपछि बडीमालिकाबारे राष्ट्रिय स्तरमा चर्चा बढेको र आन्तरिक पर्यटकको आकर्षणसमेत पछिल्लो समय बढेको छ ।
बालेनको उक्त अभिव्यक्तिपछि चर्चामा आएको बडीमालिका क्षेत्रलाई अहिले प्रदेश सरकारले संरक्षणको कानुनी दायरामा ल्याएको हो। यसले बडीमालिकाको पर्यटन प्रवर्द्धनसँगै वन, वन्यजन्तु, जैविक विविधता र प्राकृतिक स्रोतको संरक्षणलाई संस्थागत आधार दिएको छ।
बडीमालिका धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्य हो भने रामारोशन प्राकृतिक सौन्दर्य, ताल तथा जैविक विविधताका कारण परिचित छ। दुई जिल्लाका यी महत्वपूर्ण क्षेत्रलाई एउटै संरक्षण भूगोलमा समेटिएसँगै वन तथा प्राकृतिक स्रोतको संरक्षण, जैविक विविधताको व्यवस्थापन र पर्यापर्यटन विकासका लागि आधार तयार भएको प्रदेश सरकारको भनाइ छ।
संरक्षण क्षेत्र घोषणासँगै स्थानीय समुदायको सहभागितामा वन तथा प्राकृतिक स्रोतको व्यवस्थापन, जैविक मार्ग तथा जलाधार संरक्षण र पर्यापर्यटनका गतिविधि अघि बढाउने योजना प्रदेश सरकारको छ। यस क्षेत्रभित्र रहेका सामुदायिक वनलगायतका संरचनालाई यथास्थितिमा राख्दै संरक्षणका कार्यक्रम अघि बढाउने तयारीसमेत गरिएको छ।
यसरी चुनावी मञ्चबाट चर्चामा आएको बडीमालिका–रामारोशन अब प्रदेश सरकारको औपचारिक निर्णय र राजपत्र प्रकाशनमार्फत कानुनी संरक्षणको घेराभित्र प्रवेश गरेको छ। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधताको संगम मानिने यो क्षेत्र अब पर्यटनसँगै संरक्षणको दृष्टिले पनि सुदूरपश्चिमको महत्वपूर्ण भूगोलका रूपमा स्थापित भएको छ।

