बारा । डिभिजन वन कार्यालय सिमरा, बाराले पथलैया सामुदायिक वन क्षेत्रभित्र गैरकानुनी रूपमा निर्माण गरिएका घर–टहरा र व्यवसाय १५ दिनभित्र हटाउन अन्तिम ताकेता गरेको छ।
कार्यालयले एक १५ दिने सूचना जारी गर्दै अतिक्रमित वन क्षेत्र खाली गर्न निर्देशन दिएको हो। वन कार्यालयका अनुसार दुधौरा खोला नजिकै, पथलैया सामुदायिक वन, पूर्व–पश्चिम राजमार्ग र खयरघारी क्षेत्रभित्रको चारकिल्लामा अनधिकृत रूपमा घरटहरा निर्माण गरी बसोबास तथा व्यवसाय सञ्चालन गरिएको पाइएको छ।
यो कार्य वन ऐन २०७६ को दफा ४९ (ग) अनुसार पूर्ण रूपमा निषेधित र कानुन विपरीत रहेको सूचनामा उल्लेख छ। सूचनामा उक्त क्षेत्र दुधौरा खोलाको बाढीको उच्च जोखिममा रहेको, बाघ, हात्ती जस्ता वन्यजन्तु विचरण गर्ने कोर (मुख्य) क्षेत्र भएकाले जिउधनको क्षति हुने सम्भावना रहेको जनाइएको छ।
साथै, घना जंगलभित्र वन्यजन्तु अपराध घट्न सक्ने जोखिम रहेको र भूमि ऐन २०२१ (आठौं संशोधन) को दफा ५२ ख (४) अनुसार नकारात्मक सूची (वन क्षेत्र) को जग्गा भएकाले भूमि समस्या समाधान आयोगमार्फत समेत उक्त जग्गा वितरण गर्न नमिल्ने कानुनी स्पष्टता पारिएको छ।
तोकिएको १५ दिनको समयसीमाभित्र अतिक्रमित संरचना नहटाएमा वन ऐन २०७६, वन नियमावली २०७९ तथा प्रचलित कानुन बमोजिम घर–टहरामा प्रयोग भएका काठपात लगायतका मालवस्तु जफत गरी अतिक्रमणकारीमाथि कडा कानुनी कारबाही गरिने चेतावनी डिभिजन वन कार्यालयले दिएको छ।


