अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिका–मकैडाँडामा घरभित्र रहेको कुखुराको खोरमा अड्किएको चितुवाको डिभिजन वन कार्यालय अर्घाखाँचीको टोलीले सफल तथा सुरक्षित उद्धार गरेको छ।
स्थानीयवासीको घरमा रहेको कुखुराको खोरभित्र चितुवा अड्किएको खबर बिहान करिब ८ बजे प्राप्त भएपछि डिभिजन वन कार्यालयबाट तत्काल उद्धार टोली परिचालन गरिएको थियो। टोलीले आवश्यक सावधानी र सुरक्षा उपाय अपनाउँदै चितुवाको सुरक्षित उद्धार गरेको हो।
स्थानीयको खोरमा रहेका चार वटा कुखुरा मारेपछि चितुवा खोरभित्रै अड्किएको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशर खड्काले जानकारी दिए।
उद्धार गरिएको चितुवा स्वस्थ तथा सामान्य अवस्थामा रहेको खड्काले बताए। उनका अनुसार चितुवालाई आवश्यक निरीक्षण तथा व्यवस्थापनपछि उपयुक्त प्राकृतिक वासस्थानमा सुरक्षित रूपमा छाडिनेछ।
मानव बस्ती नजिक वन्यजन्तु देखापर्दा स्थानीयवासीलाई त्रसित नहुन, वन्यजन्तुलाई आफैं नियन्त्रणमा लिन वा घेराबन्दी नगर्न र तत्काल डिभिजन वन कार्यालय वा सम्बन्धित निकायलाई खबर गर्न वन कार्यालयले आग्रह गरेको छ।
वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तुको संरक्षणका लागि यस्ता घटनामा तत्काल उद्धार तथा व्यवस्थापन गर्ने कार्यलाई कार्यालयले प्राथमिकतामा राखेको जनाएको छ।

