ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

चितवनमा पाँच वर्षमा १३३ गैँडाको मृत्यु संरक्षणमा बढ्दो चुनौती, सङ्कटमा बासस्थान

घाँसे मैदान र पानीका स्रोत व्यवस्थापनमा चुनौती, सीमित स्रोत–साधनका कारण संरक्षण प्रयास प्रभावित

चितवन । नेपालमा एकसिंगे गैँडाको प्रमुख बासस्थानका रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा पछिल्लो पाँच वर्षमा १३३ वटा गैँडाको मृत्यु भएको छ। गैँडाको संरक्षणमा नेपालले हासिल गरेको उपलब्धिका बाबजुद प्राकृतिक तथा मानव सिर्जित कारणबाट निरन्तर भइरहेका मृत्युले वन्यजन्तु संरक्षण, बासस्थान व्यवस्थापन र मानव–वन्यजन्तु सहअस्तित्वका चुनौतीलाई उजागर गरेको छ।

चितवन राष्ट्रिय निकुञ्ज प्रशासनका अनुसार आर्थिक वर्ष २०८२-८३ मा मात्रै निकुञ्ज तथा आसपासका वन क्षेत्रमा २२ वटा गैँडा मरेका छन्। तीमध्ये २० वटा निकुञ्जको मुख्य (कोर) क्षेत्रभित्र र दुई वटा राष्ट्रिय वन क्षेत्रमा मृत फेला परेका हुन्।

निकुञ्जको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८-७९ मा ३७ वटा, २०७९-८० मा २३ वटा, २०८०-८१ मा २१ वटा, २०८१-८२ मा ३० वटा र २०८२-८३ मा २२ वटा गैँडाको मृत्यु भएको छ। पाँच वर्षको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७८-७९ मा सबैभन्दा धेरै ३७ वटा गैँडाको मृत्यु भएको देखिन्छ भने २०८०-८१ मा यो सङ्ख्या घटेर २१ मा झरेको थियो। यद्यपि पछिल्ला वर्षमा पनि गैँडाको मृत्यु हुने क्रम रोकिएको छैन।

प्राकृतिक र मानव सिर्जित कारणले चुनौती

चितवन राष्ट्रिय निकुञ्जका अनुसार गैँडाको मृत्युमा प्राकृतिक तथा मानव सिर्जित दुवै कारण जिम्मेवार छन्। उमेर ढल्किनु, आपसमा जुध्नु, दलदल तथा घोलमा अड्किनु र कहिलेकाहीँ वयस्क बाघको आक्रमणमा पर्नु गैँडा मृत्युका प्रमुख प्राकृतिक कारण हुन्।

त्यसैगरी चोरी–सिकारी, विद्युतीय तार ९करेन्ट० को प्रयोग तथा मध्यवर्ती क्षेत्रमा हुने मानव–वन्यजन्तु द्वन्द्वसँग सम्बन्धित घटनाले पनि गैँडाको संरक्षणमा चुनौती थपिरहेका छन्। यी कारणले गैँडाको सुरक्षा व्यवस्थापनसँगै मध्यवर्ती क्षेत्रका बासिन्दा र वन्यजन्तुबीचको सहअस्तित्वलाई थप प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ।

चितवनमै केन्द्रित गैँडाको बासस्थान

नेपालमा रहेका कुल गैँडामध्ये ९२ प्रतिशतभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा सीमित रहेको जनाइएको छ। यसरी ठूलो सङ्ख्यामा गैँडाको बासस्थान चितवनमै केन्द्रित हुँदा निकुञ्जभित्रको बासस्थानको गुणस्तर, घाँसे मैदानको व्यवस्थापन तथा पानीका स्रोतको संरक्षणमा थप दबाब परेको छ।

गैँडाको सङ्ख्या वृद्धि हुँदै जाँदा उनीहरूका लागि आवश्यक घाँसे मैदान, पानीका घोल तथा पोखरीहरूको संरक्षण र व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने चुनौती देखिएको छ। बासस्थानको गुणस्तरमा सुधार ल्याउन नसक्दा वन्यजन्तुको आहार, पानी तथा सुरक्षित विचरण क्षेत्र व्यवस्थापनमा समस्या उत्पन्न हुन सक्ने संरक्षणकर्मीहरूको धारणा छ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार बासस्थान व्यवस्थापनमा सीमित स्रोत–साधन बाधक बनेको छ। उहाँले गैँडाको संरक्षणका लागि बासस्थानको गुणस्तर सुधार र पर्याप्त स्रोत–साधन अपरिहार्य रहेको बताउनुभयो।

“गैँडाको संरक्षणका लागि बासस्थानको गुणस्तर सुधार र स्रोत–साधनको पर्याप्तता अपरिहार्य छ,” थापामगरले भन्नुभयो, “हामीसँग उपलब्ध सीमित स्रोत–साधन र उपकरणका बीच काम गर्नुपर्दा संरक्षण प्रयासमा सोचेजस्तो द्रुत प्रतिफल प्राप्त गर्न सकिएको छैन।”

बासस्थान सुधारमा थप लगानीको आवश्यकता

गैँडाको संरक्षणलाई प्रभावकारी बनाउन बासस्थान सुधार, घाँसे मैदान व्यवस्थापन, साना घोल तथा पोखरीहरूको संरक्षण र मध्यवर्ती क्षेत्रमा विद्युतीय तारबारको नियमित अनुगमनलाई प्राथमिकता दिनुपर्ने संरक्षणकर्मीहरू बताउँछन्।

गैँडाको मृत्युका प्राकृतिक कारणलाई पूर्ण रूपमा नियन्त्रण गर्न सम्भव नभए पनि बासस्थान व्यवस्थापन, जोखिम न्यूनीकरण तथा मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणका उपायलाई प्रभावकारी बनाउन सकिने उनीहरूको भनाइ छ। विशेषगरी विद्युतीय तारबारको उचित प्रयोग र अनुगमन, चोरी–सिकारी नियन्त्रण तथा वन्यजन्तुको सुरक्षित आवागमनका लागि आवश्यक व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिन्छ।

चितवनमा पाँच वर्षमा १३३ गैँडाको मृत्यु भएको तथ्याङ्कले गैँडा संरक्षणमा केवल सङ्ख्या वृद्धि पर्याप्त नहुने देखाएको छ। गैँडाको दीर्घकालीन संरक्षणका लागि गुणस्तरीय बासस्थान, पर्याप्त स्रोत–साधन, प्रभावकारी व्यवस्थापन र स्थानीय समुदायको सहकार्यलाई समान रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top