काठमाडौ । सरकारले वन तथा वातावरण क्षेत्रमा लामो अनुभव बटुल्नुभएका नवराज पुडासैनीलाई वन विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ। मकवानपुर जिल्ला (हेटौँडा) बाट वन विभागको महानिर्देशक बन्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ। नेपालमा वन संरक्षण र कार्बन व्यापारको विकासमा पुडासैनीको भूमिका महत्त्वपूर्ण मानिन्छ। उहाँकै नेतृत्व र संलग्नतामा नेपालले वन संरक्षण तथा कार्बन व्यापारबाट आम्दानी गर्न सफल भएको छ।
वन विनाश रोकेर र वनको जोगावट गरेर (रेडप्लस कार्यक्रममार्फत) दक्षिण एसियामै पहिलोपटक कार्बन व्यापारबाट आम्दानी भित्र्याउन नेपाल सफल भएको उहाँले बताउनुभयो।
पुडासैनीको नेतृत्वमा भएका प्रमुख उपलब्धिहरू:
दक्षिण एसियामै पहिलो सम्झौता: एसियामै पहिलोपटक ‘लिफ कोलिसन’ अन्तर्गत कार्बन बिक्रीसम्बन्धी खरिद सम्झौता (इआरपीए) मा हस्ताक्षर भएको छ। अन्तर्राष्ट्रिय प्रतिवेदन पेस: एकै वर्षमा दुईवटा परियोजनाको कार्बनसम्बन्धी प्रतिवेदन विश्व बैंक र एआरटी (ART) सचिवालयमा बुझाइएको छ।
कार्बन वित्त र रकम वितरण: नेपालमा रेडप्लस कार्यक्रममार्फत १० करोड ७० लाख अमेरिकी डलर बराबरको कार्बन कोष स्थापित भएको छ। यसमध्ये १ अर्ब ३४ करोड रुपैयाँ लाभग्राहीलाई वितरण गर्ने प्रक्रिया सुरु भइसकेको छ।नयाँ रणनीति स्वीकृत: कार्बन व्यापारलाई व्यवस्थित बनाउन सन् २०२५ देखि २०३५ सम्मका लागि नयाँ ‘रेडप्लस रणनीति’ स्वीकृत भइसकेको छ।
पारदर्शी लाभ वितरण: कार्बनबाट प्राप्त आम्दानी सबै क्षेत्रमा न्यायोचित तरिकाले बाँड्नका लागि ‘लाभ वितरण योजना’ र त्यसको अनुगमनका लागि डिजिटल सूचना प्रणाली (MIS) तयार पारिएको छ। नयाँ जिम्मेवारी पाएपछि पुडासैनीले आफूलाई विश्वास गरेर यो जिम्मेवारी दिने मन्त्री तथा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ।
हेटौँडाबाट वन विभागको महानिर्देशक बन्ने पहिलो अवसर पाएकोमा खुसी व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि सबैको साथ र सहयोगको अपेक्षा राख्नुभएको छ। आगामी दिनमा वन संरक्षण र जलवायु परिवर्तन न्यूनीकरणका कामलाई अघि बढाउँदै वन क्षेत्रलाई देशको आर्थिक समृद्धिसँग जोड्न पुडासैनीको नेतृत्व प्रभावकारी हुने विश्वास लिइएको छ।

