काठमाडौं। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले बाँदर र बँदेलबाट किसानले भोग्नुपरेका समस्यादेखि शान्ति सुरक्षासम्मका विभिन्न विषय उठाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले मुलुकका विभिन्न स्थानमा अविरल वर्षाका कारण बाढीपहिरोबाट भएका क्षति र प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बैठकमा सांसद केपी खनालले कैलालीमा सामुदायिक वनमा ४२ वर्षीय पदम विश्वकर्माको गोली लागि हत्या भएको घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । सांसद अरविन्द साहले बाराको जितपुरमा सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षकी अबोध बालिकालाई तेस्रो दिनमा मृत भेटिएको घटनाको छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न माग गरे
उनले सिसीटिभी क्यामेरा जडान गर्न र बिजुलीको पोलमा बत्तीको व्यवस्था गर्नसमेत सरकारसँग माग गरे । सांसद यज्ञबहादुर बोगटी अछाम मङ्गलसेन नगरपालिका–३ मा आज बिहान जङ्गली बँदेल गाउँ पुगेर पाँच जनालाई घाइत बनाएकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै निःशुल्क उपचार र क्षतिपूर्तिको माग गरे। साथै उनले बाँदर र बँदेलको ज्यादतीले किसान मारमा परेको भनेर बारम्बार उठाउँदा पनि समस्या समाधान नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसद रहबर अन्सारीले बारा जितपुरको तीन वर्षे बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले खोजतलासमा ढिलाइ गरेको टिप्पणी गर्दै त्यस्ता घटनामा तत्काल प्रहरीले खोजी गर्नुपर्नेमा गृहमन्त्रालयको ध्यानाकर्षण गराए ।
सांसद पार्वती विकले गत साउन ३० गते आएको अविरल वर्षाका कारण जाजरकोटमा बाढी आएर ठूलो क्षति भएको र ८९३ जना मानिसलाई होल्डिङ सेन्टरमा राखिएको जानकारी गराउँदै बालबालिका तथा घाइतेहरू धेरै, सुत्केरी, गर्भवतीलाई गाँस, बास र कपासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद गोपाल शर्माले रुकुम पश्चिमा अवरिल वर्षका कारण विद्यालय, बस्तीमा क्षति पुगेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै नागरिकलाई सुरक्षित बासको व्यवस्था गर्न माग गरे।
सांसद प्रशान्त उप्रेतीले हेटौँडामा विद्यालयबाट घर फर्कनले बेलामा चार बालिका मङ्गलबार खोलाले बगाएको दुईको मृत्यु भएको, एक घाइते र एकको अवस्था अज्ञात रहेकोप्रति सरकारको ध्यानार्षण गराउँदै तत्काल पुल निर्माण गर्न माग गरे ।
सांसद वासुमाया तामाङले पछिल्लो समय सामाजिक सञ्जालमार्फत धेरै मानिसको चरित्रहत्या गर्ने काम भइरहेको भन्दै तत्काल यस्ता कार्य रोक्न सरकारसँग आग्रह गरे।

