ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

अर्घाखाँचीमा बदेलको मात्रै शिकार लाइसेन्स, रातो मृग र चित्तललाई अनुमति छैन : केशव खड्का (अन्तर्वार्ता)

काठमाडाैं । डिभिजन वन कार्यालय, अर्घाखाँचीले भदौ ५ गते जारी गरेको सार्वजनिक सूचनामा बदेल, रातो मृग र चित्तलको शिकारका लागि जिल्ला शिकार अनुज्ञापत्र लिन आवेदन माग गरे पछि सामाजिक सञ्जालहरुमा विभिन्न टिप्पणी सुरु भएको छ । सूचनामा रातो मृग र चित्तल समेतको शिकार गर्ने लाइसेन्स खुला भएपछि यस विषयमा बहस सिर्जना भएको हो । यो विषयमा हामीले साच्चै रातो मृग र चित्तल शिकार गर्न पाइने हो ? यस विषयमा डिभिजन वन कार्यालय, अर्घाखाँचीका वन अधिकृत तथा सूचना अधिकारी केशव खड्कासँग वनका कुरा डट कमले गरेकाे कुराकानीको सम्पादित अंश:

हालै मात्र डिभिजन वन कार्यालयले बदेल, रातो मृग र चित्तल गरी तीनवटा प्रजातिको शिकारका लागि लाइसेन्स दिने सूचना निकालेको रहेछ, यस विभिन्न टिप्पणी पनि सुरु भएको छ यो विषयमा अलिकति प्रष्ट पारिदिनुस् ?

हामीले तीनवटा प्रजातिको नाम उल्लेख गरेर सूचना निकालेका हौं। तर खासमा कार्यालयले यसपटक बदेलको मात्रै शिकार अनुज्ञापत्र जारी गर्ने तयारी गरेको हो। सूचनामा रातो मृग र चित्तलको नाम समावेश हुनु प्राविधिक त्रुटि हो।

त्यसो भए रातो मृग र चित्तलको शिकार गर्न पाइँदैन ?

पाइँदैन। हामीले यो विषय स्पष्ट गरिसकेका छौं। निवेदन माग गर्ने क्रममा कसैले रातो मृग वा चित्तलका लागि आवेदन दिए पनि त्यसका लागि अनुज्ञापत्र जारी हुँदैन। विशुद्ध रूपमा बदेलको मात्रै शिकार अनुज्ञापत्र जारी गर्ने हो।

बदेलको शिकारका लागि लाइसेन्स दिनुपर्ने आवश्यकता किन देखियो ?

अर्घाखाँचीमा बदेलको समस्या धेरै छ। बदेलका कारण कृषि बालीमा क्षति हुने र स्थानीयस्तरमा समस्या सिर्जना हुने अवस्था छ। त्यसलाई व्यवस्थापन गर्न विभिन्न मोडलमा काम भइरहेका छन्। बाँदर व्यवस्थापनका लागि हेरालु खटाउने अभ्याससमेत भइरहेको छ। त्यस्तै बदेल व्यवस्थापनका लागि कानुनले दिएको शिकार अनुज्ञापत्रको व्यवस्थालाई प्रयोग गर्न लागिएको हो।

जिल्ला शिकार अनुज्ञापत्र जारी गर्ने अधिकार डिभिजन वन कार्यालयलाई छ ?

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० ले विभिन्न प्रकारका शिकार अनुज्ञापत्रको व्यवस्था गरेको छ। अन्य प्रकारका अनुज्ञापत्र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गतका निकायबाट जारी हुने भए पनि जिल्ला शिकार अनुज्ञापत्र जारी गर्ने अधिकार डिभिजन वन कार्यालयलाई दिइएको छ।

यस्तो व्यवस्था यसअघि पनि प्रयोग हुँदै आएको थियो , कि पहिलोपटक हो ?

कानुनमा व्यवस्था भए पनि यसको व्यावहारिक अभ्यास खासै भएको देखिँदैन। हामीले अर्घाखाँचीको अवस्थालाई हेरेर बदेलको संख्या बढेको र व्यवस्थापन आवश्यक देखिएकाले यसको प्रयोग गर्न लागेका हौं। अन्य पहाडी जिल्लामा पनि बदेलको समस्या रहेको अवस्थामा यस प्रकारको व्यवस्थापन प्रभावकारी हुन सक्छ।

अब कति जनालाई शिकारको लाइसेन्स दिइन्छ ?

अहिले भदौ १० गतेसम्म इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेका छौं। कति जनाको आवेदन पर्छ भन्ने आधारमा कार्यालयले बदेलको शिकारका लागि आवश्यक कोटा निर्धारण गर्छ। त्यसपछि निर्धारित संख्याका आधारमा अनुज्ञापत्र वितरण गरिन्छ।

एउटा व्यक्तिले एउटा लाइसेन्स पाएपछि कति वटा बदेल मार्न पाउँछ ?

कानुनअनुसार एउटा शिकार अनुज्ञापत्र लिएको व्यक्तिले अनुज्ञापत्रको अवधिभर अधिकतम दुईवटा बदेल मात्रै शिकार गर्न पाउँछ।

लाइसेन्स नलिएको व्यक्तिले बदेल मार्न पाउँछ कि पाउँदैन ?

पाउँदैन। शिकार अनुज्ञापत्र नलिएको व्यक्तिले योजनाबद्ध वा व्यावसायिक रूपमा बदेल मार्न पाउँदैन। लाइसेन्स लिएर मात्रै कानुनले तोकेको सीमाभित्र रहेर शिकार गर्न पाइन्छ।

सूचनामा रातो मृग र चित्तलको नाम किन समावेश भयो त ?

सूचना तयार गर्ने क्रममा ती दुई प्रजातिको नाम समावेश हुन गएको हो। पछि कार्यालयले त्यस विषयमा स्पष्ट गरिसकेको छ। अर्घाखाँचीमा रातो मृग र चित्तलको शिकारका लागि अनुज्ञापत्र जारी गरिँदैन।

रातो मृग र चित्तलको शिकार नदिने अर्को कारण के हो ?

अर्घाखाँचीमा रातो मृग र चित्तलको संख्या बढेर समस्या सिर्जना भएको अवस्था छैन। त्यस्तै ती प्रजातिलाई हानिकारक वन्यजन्तुका रूपमा व्यवस्थापन गर्नुपर्ने अवस्था पनि छैन। त्यसैले तिनको शिकारका लागि अनुज्ञापत्र जारी गर्ने कुरा हुँदैन।

अन्त्यमा, यस विषयमा सर्वसाधारणलाई के भन्न चाहनुहुन्छ ?

बदेलको व्यवस्थापनका लागि कानुनअनुसार शिकार अनुज्ञापत्रको प्रक्रिया अघि बढाइएको हो। इच्छुक नेपाली नागरिकले तोकिएको समयभित्र आवेदन दिन सक्नुहुन्छ। तर शिकार अनुज्ञापत्र पाएपछि पनि कानुनले तोकेको संख्याभन्दा बढी बदेल शिकार गर्न पाइँदैन। साथै रातो मृग र चित्तलका लागि शिकार अनुमति दिइँदैन भन्ने कुरा स्पष्ट रूपमा बुझ्न आग्रह गर्छौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top