तनहुँ । तनहुँका सामुदायिक वनले आर्थिक वर्ष २०८२र८३ मा वनपैदावार बिक्रीबाट १७ करोड २३ लाख ४५ हजार १२२ रुपियाँको कारोबार गरेका छन्। डिभिजन वन कार्यालयका अनुसार यस अवधिमा एक लाख २२ हजार ३९।९९ क्युफिट काठ र १६३।७६ चट्टा दाउरा उत्पादन तथा बिक्री गरिएको छ।
वनपैदावारबाट एक करोड ६० लाख १६ हजार ७५१ रुपियाँ मूल्य अभिवृद्धि कर, १७ लाख ८६ हजार ७५६ रुपियाँ प्रदेश सेवा शुल्क र दुई लाख ४९ हजार ७६५ रुपियाँ रोयल्टी सङ्कलन भएको छ। सामुदायिक वन उपभोक्ता समूहको कोषमा नौ करोड १५ लाख ४० हजार ५५१ रुपियाँ आम्दानी भएको छ।
वन व्यवस्थापन तथा काठदाउरा सङ्कलनबाट २१ हजार ४६० प्रत्यक्ष रोजगारी सिर्जना भएको छ। तनहुँमा ६२४ सामुदायिक वनबाट करिब ६८ हजार घरधुरी लाभान्वित हुँदै आएका छन्।

