ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतका कार्यालय प्रमुखसँग कार्यसम्पादन करार

विराटनगर । कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले मातहतका कार्यालय प्रमुखसँग आर्थिक वर्ष २०८३/८४ मा सम्पादन गर्ने कार्यका लक्ष्यसहित कार्यसम्पादन करार सम्झौता गरेको छ।

कोशी प्रदेश सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०७४ को दफा १८ तथा नियमावली, २०७७ को नियम १४ को उपनियम (१) मा भएको व्यवस्थाअनुसार मन्त्रालयले कार्यसम्पादन करार गरेको हो।

मन्त्रालयमा आयोजित कार्यक्रममा पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वा लिम्बूको उपस्थितिमा प्रदेशका १५ वटा डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत, दुईवटा भू तथा जलाधार व्यवस्थापन कार्यालय तथा एक जलाधार व्यवस्थापन कार्यक्रम कार्यान्वयन इकाइका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृतले प्रदेश वन निर्देशक भरतबाबु श्रेष्ठ र मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटासँग कार्यसम्पादन करार गरेका हुन्।

त्यसैगरी पर्यटन कार्यालय धरान र काँकडभिट्टा, पर्यटन विकास आयोजना विराटनगरका प्रमुखलगायत महाशाखा प्रमुखहरूले पनि सचिव सापकोटासँग आर्थिक वर्ष २०८३/८४ मा सम्पादन गर्ने कार्यको लक्ष्यसहित करार सम्झौता गरेका छन्।

कार्यक्रममा नवनियुक्त मन्त्री खिनु लङ्वा लिम्बूलाई स्वागत गरिएको थियो। सोही अवसरमा अवकाश प्राप्त डिभिजनल वन अधिकृत बद्रीप्रसाद शाह र उदिमप्रसाद राईको बिदाइ तथा सम्मानसमेत गरिएको थियो।

राईले ३५ वर्ष ११ महिना तथा शाहले ३७ वर्ष ३ महिना ७ दिन निजामती सेवामा रहेर योगदान दिएका थिए। मन्त्रालयले दुवैलाई कदरपत्र तथा मायाको चिनोसहित सम्मान गर्दै सेवानिवृत्त जीवन सुखमय रहोस् भन्ने शुभकामना दिएको थियो।

कार्यक्रममा सबै कार्यालयको तर्फबाट डिभिजनल वन अधिकृत वीरेन्द्र शाहले मन्तव्य राखेका थिए भने अवकाश प्राप्त कर्मचारीद्वयले धन्यवाद दिँदै आफ्नो कार्यअनुभव सुनाएका थिए।

कार्यक्रममा मन्त्री लिम्बूले कार्यसम्पादन करारअनुसार निर्धारित लक्ष्य हासिल गर्न सबै कार्यालय प्रमुखलाई निर्देशन दिइन्। उनले वार्षिक समीक्षाबाट प्राप्त सुझाव र निष्कर्षलाई आत्मसात गर्दै चालु आर्थिक वर्षमा शतप्रतिशत प्रगति हासिल गर्ने गरी समयमै काम सम्पन्न गर्न आग्रह गरिन्।

मन्त्रालयले नीतिगत रूपमा गर्नुपर्ने काम अघि बढाउने तथा समयअनुकूल कानुन, ऐन र नियम परिमार्जन गर्न आवश्यक सुझाव दिनुपर्नेमा उनले जोड दिइन्। कार्यशैलीमा परिवर्तन गरी समयको मागअनुसार छिटो, सरल र प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने उनको भनाइ थियो।

मन्त्री लिम्बूले मन्त्रालय बाधा–अड्काउ फुकाउन तयार रहेको बताउँदै प्रदेश सरकारको लक्ष्य पूरा गर्न रातो किताबमा समावेश कार्यक्रम तथा क्रियाकलाप समयमै सञ्चालन गर्न निर्देशन दिइन्। उनले मन्त्रालयको कार्यप्रगति नतिजामुखी बनाउन, वन पैदावार संकलनमा हुन सक्ने अनियमिततातर्फ विशेष ध्यान दिन तथा कडाइका साथ गस्ती परिचालन गर्न आग्रह गरिन्।

उपलब्ध कर्मचारी, स्रोत र साधनको प्रभावकारी उपयोग गर्दै वन पैदावारको हानि–नोक्सानी रोक्न सबै सचेत हुनुपर्ने बताउँदै उनले सुशासन र जनमैत्री सेवामा जोड दिइन्। प्रदेश सरकारको सेवा चुस्त, दुरुस्त र प्रभावकारी छ भन्ने अनुभूति जनताले गर्ने गरी काम गर्नुपर्ने उनको भनाइ थियो।

मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटाले सुशासनको महत्वपूर्ण कडीका रूपमा रहेको कार्यसम्पादन करारलाई अक्षरशः पालना गर्न आग्रह गरे। उनले विषयगत विज्ञताको अधिकतम प्रयोग गर्दै निर्धारित लक्ष्य प्राप्तिका लागि दृढ भएर अघि बढ्न तथा मातहतका जनशक्तिको उचित परिचालन गरी देखिने गरी प्रगति हासिल गर्न कार्यालय प्रमुखहरूलाई आग्रह गरे।

कार्यक्रमका अध्यक्ष एवं प्रदेश वन निर्देशक भरतबाबु श्रेष्ठले मन्त्रालयले लिएको लक्ष्य र उद्देश्य प्राप्तिका लागि इमानदारी र प्रतिबद्धताका साथ काम गर्नुपर्ने बताए।

ऐन तथा नियमको परिधिभित्र रहेर कार्यसम्पादन करारमा उल्लेखित कार्य सम्पन्न गर्दा अनुगमन, व्यक्तिगत विकास तथा समग्र संगठनको लक्ष्य र उद्देश्य प्राप्तिमा सहज हुने उनको भनाइ थियो।

उनले कार्यसम्पादनका क्रममा समस्या आएमा निर्देशनालयले मन्त्रालयसँग समन्वय गर्दै पुलको भूमिका निर्वाह गर्ने बताए। साथै मन्त्रालयस्तरीय समस्या समाधान समितिको निर्णयअनुसार वन पैदावार संकलन तथा बिक्री वितरण निर्देशिकाको मस्यौदा तयार गरी पेश गर्ने समितिलाई धन्यवाद दिए।

कार्यक्रममा वन अधिकृत नरेन्द्र गुरागाईंले स्वागत मन्तव्य राखेका थिए भने वन अधिकृत पटकबहादुर थापाले वन तथा भू–संरक्षण क्षेत्रको समग्र अवस्था र आर्थिक वर्ष २०८२/८३ को प्रगतिबारे प्रस्तुतिकरण गरेका थिए।

कार्यक्रममा मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटाको विशिष्ट आतिथ्यता तथा प्रदेश वन निर्देशक भरतबाबु श्रेष्ठको अध्यक्षता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top