सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी र विशाल घाँसे मैदानले भरिपूर्ण कोशी टप्पु वन्यजन्तु आरक्ष जैविक विविधताका दृष्टिले नेपालकै महत्वपूर्ण गन्तव्य हो। तर यही प्राकृतिक सम्पदाले भरिएको आरक्षमा विदेशी पर्यटकको आगमन भने निराशाजनक रूपमा न्यून छ।
आर्थिक वर्ष २०७५-०७६ देखि २०८२-०८३ सम्म आठ वर्षमा कोशी टप्पु वन्यजन्तु आरक्षमा ९० हजार २८३ पर्यटक पुगेका छन्। तर तीमध्ये विदेशी पर्यटकको सङ्ख्या जम्मा २ हजार २९ मात्र छ। अर्थात् आठ वर्षको अवधिमा आरक्ष पुगेका कुल पर्यटकमध्ये विदेशीको हिस्सा करिब २.२५ प्रतिशत मात्रै हो।
पछिल्लो आर्थिक वर्ष २०८२-०८३ मा १२ हजार ८८३ पर्यटक आरक्ष पुगेकामा विदेशी पर्यटक ३०५ जना थिए। आव २०८१-०८२ मा ११ हजार ६०६ मध्ये ३०२ जना र २०८०-०८१ मा १२ हजार ५५६ मध्ये ३२७ जना विदेशी आएका थिए।
त्यसअघिका वर्षमा पनि अवस्था उत्साहजनक देखिँदैन। आव २०७९-०८० मा १२ हजार ४७९ पर्यटकमध्ये ३११ जना, २०७८-०७९ मा ११ हजार १६७ मध्ये १३० जना, २०७७-०७८ मा नौ हजार ८१८ मध्ये ७७ जना, २०७६-०७७ मा ११ हजार १४ मध्ये १८९ जना र २०७५-०७६ मा आठ हजार ७६३ पर्यटकमध्ये ३८८ जना विदेशी थिए। यसले कोशी टप्पुमा पर्यटकीय सम्भावना र वास्तविक विदेशी पर्यटक आगमनबीच ठूलो खाडल रहेको देखाउँछ।
सम्भावना ठूलो, पूर्वाधार कमजोर
कोशी टप्पुमा अर्ना मुख्य आकर्षण हो। तर पर्यटनको सम्भावना अर्नामा मात्रै सीमित छैन। यहाँ ५३५ प्रजातिका पक्षी, ४२ प्रजातिका स्तनधारी, १४१ प्रजातिका माछा र ७७ प्रजातिका पुतली पाइन्छन्। हिउँदमा विभिन्न प्रजातिका विदेशी चरासमेत यहाँ आउने गर्छन्। यति ठूलो जैविक विविधता हुँदाहुँदै पनि आरक्षलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रभावकारी रूपमा चिनाउन नसकिएको सरोकारवालाको भनाइ छ।
कोशी टप्पु वन्यजन्तु आरक्षका सहायक वार्डेन तथा सूचना अधिकारी मिथलेस महतोका अनुसार अन्य राष्ट्रिय निकुञ्ज तथा आरक्षको तुलनामा यहाँ विदेशी पर्यटकको आगमन निकै कम छ। यसको एउटा प्रमुख कारण पर्यटन पूर्वाधार र प्रचारप्रसारको कमी हुनसक्ने उनको भनाइ छ।
उनका अनुसार कोशी टप्पुलाई वन्यजन्तु अवलोकन, बर्ड वाचिङ र सिमसार पर्यटनको विशिष्ट गन्तव्यका रूपमा विकास गर्न सकिन्छ। तर त्यसअनुसारका पूर्वाधार अझै पर्याप्त बन्न सकेका छैनन्।
‘अर्ना हेर्न आउने पर्यटकलाई अरू के दिने ?’
पर्यटन व्यवसायी रमन भट्टराईका अनुसार कोशी टप्पुलाई केवल अर्ना हेर्ने गन्तव्यका रूपमा सीमित गर्नु हुँदैन। अर्नासँगै बर्ड वाचिङ, प्रकृति पदयात्रा, नदी पर्यटन र जङ्गल सफारीलाई व्यवस्थित रूपमा जोड्न सके विदेशी पर्यटक आकर्षित गर्न सकिने उनको भनाइ छ। ‘सुनसरी र उदयपुरका बीचमा रहेको बेलका बीच रिसोर्टबाट जङ्गल सफारी सुरु गरेको छु। आरक्षभित्र जाने सडकको पूर्वाधार छैन,’ उनले भने।
उनका अनुसार व्यवस्थित पदयात्रा तथा बर्ड वाचिङ मार्ग, पर्यटक सूचना केन्द्र, आवश्यक सडक तथा होमस्टे सञ्चालन गर्न सके कोशी टप्पुको पर्यटन गतिविधि विस्तार गर्न सकिन्छ।
अर्नाको सङ्ख्या बढ्यो, पर्यटन किन बढेन ?
कोशी टप्पु वन्यजन्तु आरक्षको अर्को महत्वपूर्ण विशेषता अर्नाको बढ्दो सङ्ख्या हो। सन् १९७६ को गणनामा यहाँ ६३ वटा अर्ना रहेका थिए। सन् २०२१ को गणनामा अर्नाको सङ्ख्या बढेर ४९८ पुगेको छ।
त्यस्तै, यहाँ ३२ वटा खरमयुर र १९ वटा डल्फिन रहेको तथ्याङ्क छ। सिमसार, कोशी नदी प्रणाली, घाँसे मैदान र दुर्लभ चराचुरुङ्गीले आरक्षलाई प्रकृति तथा वन्यजन्तु पर्यटनका लागि आकर्षक बनाएको छ।
विसं २०३२ मा स्थापना भएको कोशी टप्पु वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुरको १७३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। विसं २०४४ देखि रामसार सूचीमा सूचीकृत यो क्षेत्र अन्तर्राष्ट्रिय महत्वको सिमसारसमेत हो।
तर यति ठूलो प्राकृतिक सम्पदा हुँदाहुँदै विदेशी पर्यटकको सङ्ख्या अपेक्षाकृत न्यून हुनु पर्यटन विकासको कमजोर पक्षका रूपमा देखिएको छ।
अब अर्नासँगै ‘अनुभव’ बेच्नुपर्ने
कोशी टप्पुको पर्यटन विकासका लागि अर्नाको संरक्षणसँगै पर्यटकले आरक्षमा बिताउने समय र अनुभव बढाउने पूर्वाधार आवश्यक देखिन्छ।
बर्ड वाचिङका लागि व्यवस्थित मार्ग, वन्यजन्तु अवलोकनस्थल, प्रकृति पदयात्रा, नदीमा आधारित पर्यटन, पर्यटक सूचना केन्द्र, स्थानीय खानाका परिकार र होमस्टेलाई एउटै पर्यटन प्याकेजमा जोड्न सके कोशी टप्पुलाई नयाँ गन्तव्यका रूपमा स्थापित गर्न सकिने सम्भावना छ।यसका लागि पूर्वाधार निर्माणसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा लक्षित प्रचारप्रसार आवश्यक छ।अर्नाको सङ्ख्या बढिरहेको छ। जैविक विविधता पनि उल्लेखनीय छ। रामसार क्षेत्रमा सूचीकृत सिमसार पनि यहीँ छ। तर विश्व पर्यटन बजारमा कोशी टप्पुको परिचय अझै सीमित छ।

