ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

वन्यजन्तुको आहारा बढाउन बर्दिया राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थापन

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जले वन्यजन्तुको आहारा र बासस्थान सुधार गर्न घाँसे मैदान व्यवस्थापनको कामलाई तीव्रता दिएको छ।

निकुञ्जभित्र रहेका चित्तल, जरायो, बाह्रसिंगा, रतुवा, लगुना, नीलगाईलगायतका शाकाहारी वन्यजन्तुलाई सहज रूपमा आहारा उपलब्ध गराउने उद्देश्यले हरेक वर्ष घाँसे मैदान व्यवस्थापन गरिँदै आएको हो।

निकुञ्जभित्र वन्यजन्तुका लागि पर्याप्त आहारा उपलब्ध गराउन घाँसे मैदानको क्षेत्र विस्तार तथा व्यवस्थापनलाई बासस्थान व्यवस्थापनको महत्वपूर्ण पाटोका रूपमा लिइएको छ।

घाँसे मैदान व्यवस्थापनपछि नयाँ र कलिला घाँस तथा पालुवा पलाउने भएकाले वन्यजन्तुलाई आवश्यक आहारा सहज रूपमा उपलब्ध हुने गर्दछ।

बर्दिया राष्ट्रिय निकुञ्जभित्र हाल करिब १ हजार २ सय हेक्टर क्षेत्रफलमा घाँसे मैदान रहेको छ। वन्यजन्तुले कलिलो र ताजा घाँस बढी रुचाउने भएकाले पुराना तथा ठूला घाँसलाई काटेर व्यवस्थापन गर्ने गरिएको निकुञ्जले जनाएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी महेश न्यौपानेका अनुसार घाँसे मैदान व्यवस्थापनपछि नयाँ र ताजा पालुवा पलाउने भएकाले वन्यजन्तु निकुञ्जको कोर क्षेत्रमै रहने वातावरण तयार हुन्छ।

यसले वन्यजन्तु आहारको खोजीमा निकुञ्जबाहिर निस्कने क्रम घटाउन सहयोग गर्ने भएकाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा समेत महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

घाँसलाई म्यानुअल रूपमा जनशक्ति प्रयोग गरेर वा ट्र्याक्टरको माध्यमबाट काट्ने गरिन्छ। काटिसकेपछि आवश्यकताअनुसार नियन्त्रित रूपमा जलाउने अर्थात् कन्ट्रोल बर्निङ गरिन्छ। यसबाट घाँसे मैदानमा नयाँ–नयाँ मुनाहरू पलाउन सहज हुन्छ।

मोजाइक बेस्ड विधि घाँसे मैदान व्यवस्थापनको वैज्ञानिक तथा आधुनिक अभ्यास मानिन्छ। यस विधिमा सम्पूर्ण घाँसे मैदानलाई एकैपटक काट्ने वा जलाउने गरिँदैन। बरु घाँसे मैदानलाई साना–साना खण्डमा विभाजन गरी चक्रीय तथा पालैपालो रूपमा व्यवस्थापन गरिन्छ।

यसरी फरक–फरक समयमा विभिन्न क्षेत्रमा घाँस व्यवस्थापन गर्दा केही क्षेत्रमा पुरानो घाँस हटाएर नयाँ पालुवा पलाउने वातावरण तयार हुन्छ भने अन्य क्षेत्रमा वन्यजन्तुका लागि आश्रय र आहारा उपलब्ध भइरहन्छ। यसले घाँसे मैदानको जैविक विविधता र पारिस्थितिक सन्तुलन कायम राख्नसमेत सहयोग पुग्ने निकुञ्जको विश्वास छ।

घाँसे मैदान व्यवस्थापनलाई वन्यजन्तुको आहारा व्यवस्थापनसँगै बासस्थान संरक्षण, वन्यजन्तुको सहज आवागमन र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणसँग जोडेर हेरिएको छ। निकुञ्जले हरेक वर्ष आवश्यकताका आधारमा घाँसे मैदान व्यवस्थापन गर्दै आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top