गुल्मी अविरल वर्षासँगै आएको हावाहुरी र पहिरोले गुल्मीको चन्द्रकोट गाउँपालिका–३ स्थित वार्जिङ सल्यार सामुदायिक वनमा ठूलो क्षति पुर्याएको छ। असोज १० गतेदेखि आएको विपद्का कारण करिब २० हेक्टर वनक्षेत्रमा रहेका १५० भन्दा बढी ठूला सल्लाका रुख ढलेका छन्।
डिभिजन वन कार्यालय गुल्मीका वरिष्ठ वन अधिकृत उपेन्द्र अर्यालका अनुसार लगातारको वर्षा,हुरी र पहिरोका कारण वनक्षेत्रका सल्लाका रुखहरू एकपछि अर्को गर्दै ढलिरहेका छन्। उनका अनुसार घटनास्थलमा अझै पनि जमिन अस्थिर रहेकाले क्षतिको यकिन विवरण संकलन गर्नसमेत जोखिम रहेको छ।
“करिब २० हेक्टर क्षेत्र प्रभावित भएको प्रारम्भिक जानकारी आएको छ। त्यस क्षेत्रमा १५० भन्दा बढी ठूला सल्लाका रुख ढलेको देखिएको छ,” वरिष्ठ वन अधिकृत अर्यालले भने, “पहिरोको अवस्था हेर्दा थप रुख ढल्ने सम्भावना पनि रहेकाले तत्काल मानवीय सुरक्षालाई प्राथमिकता दिनुपर्ने अवस्था छ।”
सल्लाका रुख ढल्ने, ढुंगा खस्ने र पहिरो बस्तीको नजिकसम्म पुग्न थालेपछि चन्द्रकोट गाउँपालिका–३ भुल्केस्थित थप्लुङ–भुल्के क्षेत्रका करिब ३० घरपरिवार सुरक्षित स्थानमा सरेका छन्। स्थानीयहरू आफन्त तथा छिमेकीको घरमा आश्रय लिएर बसेका छन्।
वरिष्ठ वन अधिकृत अर्यालले वन क्षेत्रमा भइरहेको क्षति सामान्य वर्षादका कारण पहिरोले वनको जमिनको संरचना नै कमजोर बनाएका कारण रुखहरू ढल्ने क्रम बढेको बताए।
“सल्लाका रुखहरू ढल्नुको मुख्य कारण अहिले देखिएको पहिरो र जमिनको अस्थिरता हो। ठूलो आकारका रुखहरू समेत जरा सहित ढलेको जानकारी आएको छ ” अर्यालले भने।
स्थानीयका अनुसार शनिबार दिउँसोदेखि नै छिटफुट रूपमा सल्लाका रुख ढल्न थालेका थिए। सुरुमा केही रुख मात्रै ढले पनि साँझतिर पहिरोको रूप लिएर ठूलो क्षेत्रका रुखहरू एकैपटक ढल्न थालेपछि स्थानीयमा त्रास बढेको थियो।
रुख ढल्ने क्रमसँगै माथिल्लो क्षेत्रबाट ठूला ढुंगा खस्न थालेपछि थप जोखिम उत्पन्न भएको हो। पहिरो बस्तीतर्फ आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीयलाई सुरक्षित स्थानमा जान सुझाव दिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले निरन्तरको वर्षाका कारण पहिरो जाने, रुख ढल्ने तथा ढुंगा खस्ने जोखिम बढेकाले स्थानीयलाई सुरक्षित स्थानमा सार्न पहल गरिएको बताए।
“पहिरो र रुख ढल्ने क्रम जारी रहेकाले बस्तीमा जोखिम हुनसक्ने देखिएको छ। त्यसैले स्थानीयलाई सुरक्षित स्थानमा जान सुझाव दिइएको छ,” बोगटीले भने।
चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले पनि रातिको समयमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै नजिकका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको बताए।
उनका अनुसार स्थानीयहरू आफैं आफन्त तथा छिमेकीको घरमा गएर बसेका छन्। तत्काल छुट्टै आश्रयस्थल व्यवस्थापन गर्नुपर्ने अवस्था नरहेको उनले बताए।
डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत अर्यालका अनुसार घटनास्थलको स्थलगत निरीक्षण तथा थप क्षतिको विवरण संकलनका लागि प्राविधिक टोली परिचालन गर्ने तयारी भइरहेको छ। जोखिम कायमै रहेकाले सर्वसाधारणलाई घटनास्थल नजिक नजानसमेत आग्रह गरिएको उनले बताए।

