काठमाडौं । सरकारले सामुदायिक वन दिवस २०८३ आगामी श्रावण २५ गते देशभर ‘अबको सामुदायिक वनः युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन’ भन्ने मूल नाराका साथ मनाउने भएको छ।
वन तथा वातावरण विभागले सातै प्रदेशका सम्बन्धित मन्त्रालय, वन निर्देशनालय तथा देशभरका ८४ डिभिजन वन कार्यालयलाई परिपत्र गर्दै स्थानीय तह, सामुदायिक वन उपभोक्ता महासंघ, सामुदायिक वन उपभोक्ता समूह तथा अन्य सरोकारवालासँग समन्वय गरी विविध कार्यक्रम आयोजना गर्न निर्देशन दिएको हो।
विभागका महानिर्देशक धिरेन्द्र कुमार प्रधानद्वारा जारी परिपत्रमा नेपालको वन संरक्षण, संवर्द्धन तथा दिगो व्यवस्थापनमा स्थानीय समुदाय र सामुदायिक वन उपभोक्ता समूहको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरिएको छ।
समुदायको सक्रिय सहभागिता र स्वामित्वबोधका कारण सामुदायिक वन कार्यक्रम वन संरक्षण, जैविक विविधता प्रवर्द्धन, स्थानीय जीविकोपार्जन सुधार, सामाजिक समावेशीकरण, जलवायु परिवर्तन अनुकूलन तथा हरित अर्थतन्त्र विकासको सफल अभ्यासका रूपमा स्थापित भएको विभागको भनाइ छ।
यस वर्षको दिवसको मूल नाराअनुसार सामुदायिक वन व्यवस्थापनमा युवाको अर्थपूर्ण सहभागिता बढाउने, वनमा आधारित उद्यम तथा हरित रोजगारीका अवसर विस्तार गर्ने र वन स्रोतको दिगो तथा जिम्मेवार व्यवस्थापनलाई थप सुदृढ बनाउने विषयलाई विशेष प्राथमिकता दिइने विभागले जनाएको छ।
दिवसका अवसरमा स्थानीय आवश्यकता र उपलब्ध स्रोत–साधनअनुसार सामुदायिक वनका असल अभ्यासको आदानप्रदान, युवा तथा महिलाको सहभागिता प्रवर्द्धन, वनमा आधारित उद्यम र हरित रोजगारीसम्बन्धी अन्तरक्रिया, वृक्षरोपण, वन संवर्द्धन, जनचेतनामूलक कार्यक्रम तथा उत्कृष्ट योगदानकर्ताको सम्मान लगायतका कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ।

