वनका कुरा , सम्पादकीय
मानव सभ्यताको इतिहास प्रकृतिसँगको सहयात्राको इतिहास हो। वन केवल रूखहरूको समूह होइन, यो जीवनको आधार, वन्यजन्तुको वासस्थान, जलवायु सन्तुलनको मेरुदण्ड र आर्थिक समृद्धिको आधार पनि हो। ‘हरियो वन, नेपालको धन’ भन्ने उक्तिलाई सार्थकता दिदै नेपालले सहभागितामूलक वन व्यवस्थापन मार्फत विश्वमै उदाहरणीय अभ्यास स्थापित गरेको छ।
तर, सामाजिक आर्थिक परिवर्तनसगै वन व्यवस्थापनका मोडालिटीमा परिवर्तन हुन नसक्दा समुदायमा आधारित वन व्यवस्थापनका कार्यक्रमहरू सुस्ताएका छन् । अझ, सङ्घीय शासन व्यवस्थाको कार्यान्वयनसँगै वन क्षेत्रले नयाँ चुनौतीहरूको सामना गरिरहेको छ। वनको अधिकार, स्रोतको उपयोग, राजस्व बाँडफाँड र व्यवस्थापनका विषयमा सङ्घ, प्रदेश र स्थानीय तहबीच स्पष्ट कार्यविभाजन र प्रभावकारी समन्वयको अभाव देखिएको छ।
यसको परिणामस्वरूप वन पैदावारको उचित उपयोगमा अवरोध सिर्जना भएको छ भने वन प्राविधिक, संरक्षणकर्मी, सामुदायिक वन उपभोक्ता समूह तथा सरोकारवालाहरू अन्योल र असमञ्जसको अवस्थामा पुगेका छन्।
यससँगै जलवायु परिवर्तन, डढेलो, वन अतिक्रमण तथा वन्यजन्तु–मानव द्वन्द्वजस्ता चुनौतीहरू दिनप्रतिदिन गम्भीर बन्दै गएका छन्। यी विषय केवल वन क्षेत्रका सरोकार मात्र होइनन्, कुनै रूख राख्ने कि काट्ने भन्ने विषयभन्दा पर राष्ट्रिय सुरक्षा, खाद्य प्रणाली, जलस्रोत, पर्यटन, जीविकोपार्जन र भावी पुस्ताको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएका विषय हुन्।
तर, यस्ता विषयहरूले सार्वजनिक वहसमा निरन्तर र पर्याप्त स्थान पाउन सकेनन्, बरू धेरै पटक देश विकाशका वाधकका रूपमा प्रस्तुत भए । यही आवश्यकता महसुस गर्दै वन, वातावरण, जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनसँग सम्बन्धित समाचार, अनुसन्धान, नीति बहस र प्रेरणादायी अभ्यासलाई केन्द्रमा राख्दै पाठकहरूलाई सुसुचित गर्ने उद्देश्यका साथ ‘वनका कुरा डटकम’ (www.bankakura.com) को औपचारिक शुभारम्भ गरेका छौं।
हाम्रो उद्देश्य केवल समाचार सम्प्रेषण गर्नु मात्र होइन। वन क्षेत्रका वास्तविक समस्या, सम्भावना, अनुसन्धान, नीति तथा व्यवहारबीचको दूरीलाई उजागर गर्दै तथ्यमा आधारित सार्वजनिक बहसलाई प्रवर्द्धन गर्न चाहन्छौँ।
दुर्गम क्षेत्रमा कार्यरत संरक्षणकर्मीहरूको आवाजदेखि नीति निर्माण तहसम्म आवश्यक सूचना, अनुभव र प्रमाणमा आधारित विचार पुर्याउने सेतु बन्ने हाम्रो प्रतिबद्धता छ।
हाम्रा आधारस्तम्भ यहाँहरूको साथ, सहकार्य र सहभागिता
वन प्राविधिक, अनुसन्धानकर्ता तथा नीति निर्माताहरू, वन व्यवस्थापनका चुनौती, नीतिगत सुधार, वैज्ञानिक अनुसन्धान, नवीन अभ्यास तथा प्रमाणमा आधारित विश्लेषणात्मक लेख–रचनामार्फत यस अभियानलाई बौद्धिक नेतृत्व प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
वन तथा वातावरणप्रेमी नागरिकहरू, प्रकृतिसँग जोडिएका प्रेरणादायी अनुभव, संरक्षणका नवीन प्रयास, स्थानीय पहल, तस्बिर, भिडियो वा समाचार हामीसम्म पुर्याएर प्रकृतिको आवाजलाई अझ बलियो बनाउन साथ दिनुहोस्।
सामुदायिक वन उपभोक्ता समूह, स्थानीय संरक्षणकर्मी तथा वनकर्मीहरू, गाउँ–गाउँमा भइरहेका संरक्षणका उदाहरणीय अभ्यास, सफलताका कथा, नवप्रयोग, चुनौती तथा नीतिका कारण उत्पन्न भएका व्यवहारिक समस्याहरू उजागर गर्न आवश्यक सूचना र समाचार उपलब्ध गराई सहकार्य गरिदिनुहुन आग्रह गर्दछौँ।
हाम्रो प्रतिबद्धता
‘वनका कुरा डटकम’ निष्पक्ष, तथ्यपरक, खोजमूलक र उत्तरदायी पत्रकारिताप्रति प्रतिबद्ध रहनेछ। हामी वन, वातावरण र जैविक विविधताका विषयमा प्रमाणमा आधारित बहसलाई प्रोत्साहन गर्दै संङ्घ, प्रदेश र स्थानीय तहबीचको नीतिगत समन्वयलाई सुदृढ बनाउन र जिम्मेवार सार्वजनिक संवादको वातावरण निर्माण गर्न निरन्तर प्रयास गर्नेछौँ।
यो केवल एउटा समाचार पोर्टल होइन —वन, प्रकृति, वातावरण र दिगो भविष्यप्रति समान आस्था राख्ने सम्पूर्ण सरोकारवालाहरूको साझा चौतारी हो।यहा तपाईले जानकारी मात्र होइन, अनुभवी वन प्राविधिकहरू सग प्रत्यक्ष सम्पर्क गरी समस्याको समाधान पनि पाउन सक्नु हुन्छ ।
यसैले, प्रकृतिको आवाजलाई सशक्त बनाऔँ। वन वातावरण क्षेत्रका मुद्दालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याऔँ। तथ्य, अनुसन्धान र जिम्मेवार पत्रकारितामार्फत हरित अर्थतन्त्र मार्फत नेपालको भविष्य निर्माणमा सबै मिलेर अघि बढौँ।


https://shorturl.fm/PE6qU