ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

‘अबको सामुदायिक वनः युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन’ नारासहित आज सामुदायिक वन दिवस मनाइँदै

काठमाडौं । सामुदायिक वनको संरक्षण, संवर्द्धन र दिगो व्यवस्थापनमा स्थानीय समुदायको योगदानलाई सम्मान गर्दै आज साउन २५ गते सामुदायिक वन दिवस २०८३ देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

यस वर्षको सामुदायिक वन दिवस ‘अबको सामुदायिक वनः युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन’ भन्ने नाराका साथ मनाउन लागिएको हो। दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता समूह, स्थानीय तह, वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघ तथा अन्य सरोकारवाला निकायको सहभागितामा विभिन्न कार्यक्रम आयोजना हुँदैछन्।

वन तथा भू–संरक्षण विभागले सामुदायिक वन दिवसका अवसरमा प्रदेश मन्त्रालय, वन निर्देशनालय, डिभिजन तथा सब–डिभिजन वन कार्यालय, स्थानीय तह, सामुदायिक वन उपभोक्ता महासंघ र सामुदायिक वन उपभोक्ता समूहलाई स्थानीय आवश्यकता र उपलब्ध स्रोतसाधनअनुसार रचनात्मक तथा जनचेतनामूलक कार्यक्रम आयोजना गर्न आग्रह गरेको छ।

दिवसका अवसरमा वृक्षरोपण, वन संवर्द्धन, जनचेतनामूलक कार्यक्रम, सामुदायिक वनका असल अभ्यासको आदानप्रदान, युवा तथा महिलाको सहभागिता प्रवर्द्धन, वनमा आधारित उद्यम तथा हरित रोजगारीसम्बन्धी अन्तरक्रिया लगायतका कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ। सामुदायिक वनको संरक्षण र व्यवस्थापनमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्ति तथा समूहलाई सम्मान गर्ने कार्यक्रमसमेत आयोजना गरिने बताइएको छ।

नेपालमा सामुदायिक वन कार्यक्रमले वन संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन, जैविक विविधता संरक्षण, सामाजिक समावेशीकरण, जलवायु परिवर्तन अनुकूलन तथा हरित अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

वन तथा भू–संरक्षण विभागले सामुदायिक वन संरक्षण र व्यवस्थापनमा स्थानीय समुदाय तथा सामुदायिक वन उपभोक्ता समूहले निर्वाह गर्दै आएको भूमिकालाई महत्वपूर्ण र अनुकरणीय अभ्यासका रूपमा उल्लेख गरेको छ।

विभागका अनुसार समुदायको सक्रिय सहभागिता, स्वामित्वबोध र निरन्तर प्रतिबद्धताका कारण सामुदायिक वन कार्यक्रम नेपालको वन संरक्षणको महत्वपूर्ण आधारका रूपमा स्थापित भएको छ।

यस वर्षको दिवसले विशेषगरी युवालाई सामुदायिक वन व्यवस्थापनमा जोड्ने, वनमा आधारित उद्यम तथा हरित रोजगारीका अवसर विस्तार गर्ने र वन स्रोतको दिगो तथा जिम्मेवार उपयोगलाई थप सुदृढ बनाउने विषयलाई प्राथमिकतामा राखेको छ।

सामुदायिक वन दिवसका अवसरमा देशभर हुने विभिन्न कार्यक्रमले वन संरक्षणमा समुदायको भूमिकालाई थप बलियो बनाउनुका साथै नयाँ पुस्तालाई वन संरक्षण र हरित अर्थतन्त्रसँग जोड्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top