अनुपा शर्मा
रसुवाको गत्लाङमा बिहानको हुस्सु अझै हटिसकेको थिएन। चिसो हावा पहाडका डाँडाकाँडा हुँदै बिस्तारै बगिरहेको थियो। कतै हरियो वनको झल्को देखिन्थ्यो, कतै वर्षौँअघि लागेको डढेलोको कालो इतिहास बोकेका रूखका ठुटा आकाशतिर फर्किएर उभिएका थिए।त्यही मौन डाँडामाथि अचानक एउटा आवाज सुनियो।
आकाशमा ड्रोन देखियो।
तर त्यो केवल प्रविधिको प्रदर्शन थिएन। ड्रोनको पेटबाट झरिरहेका साना–साना बीउका कणसँगै एउटा डढेको पहाडमा नयाँ जीवनको सपना पनि छरिँदै थियो।
आमाछोदिङमो गाउँपालिका–३, गत्लाङको डढेको डाँडामा मानव हातले पुग्न कठिन हुने भीर र पाखामा अब आकाशबाट बीउ छरिँदै थियो।
प्रकृति फर्काउने यो प्रयासले एउटा प्रश्न पनि जन्माएको छ— के प्रविधिले १७ वर्षदेखि घाउ बोकेको यो डाँडालाई फेरि हरियो बनाउन सक्छ?
१७ वर्षअघिको त्यो आगो
यो कथा आजबाट झण्डै १७ वर्ष पछाडि फर्किन्छ।
फागुनको एउटा दिन। गत्लाङ आसपासको बोँज्योमाने र ज्यार्सा गोठेन सामुदायिक वनमा लागेको आगो सुरुमा सामान्यजस्तै देखिन्थ्यो। तर भिरालो भू–बनावट, बाक्लो सल्ला र धुपीको वन तथा चर्को हावाले आगोलाई केही समयमै नियन्त्रणबाहिर पुर्यायो।
स्थानीयवासीले आगो निभाउन सक्दो प्रयास गरे। तर आगोले मान्छेको प्रयासभन्दा ठूलो रूप लिइसकेको थियो।
एक दिन, दुई दिन होइन—झण्डै १०० दिनसम्म आगो बलिरह्यो।
करिब ४०० हेक्टर वन क्षेत्र आगोको चपेटामा पर्यो। करिब २७५ हेक्टर वन पूर्णरूपमा नष्ट भयो।
रूखभित्रको खोटोसमेत जलेर सकियो। बलिया रूखहरू पनि भित्रबाट खोक्रा भए। आगो निभेपछि बाँकी रहे ती केवल कालो ठुटा—मानौँ कुनै विशाल आगलागीको मौन स्मारक।
स्थानीयका लागि त्यो केवल वन विनाश थिएन। आगो गाउँसम्म आइपुग्ला कि भन्ने डर थियो। कतिपयले त गाउँ नै छाड्ने तयारीसमेत गरेका थिए।
अन्ततः वर्षायाम आयो।
आकाशबाट परेको पानीले आगो निभायो।तर आगो निभ्यो भन्दैमा जंगल फर्किएन। आगो निभेको १७ वर्षपछि पनि किन उस्तै छ डाँडा ?
सामान्यतः प्रकृतिले आफ्नै बाटोबाट घाउ पुर्न थाल्छ। तर गत्लाङको यो भूभागमा त्यो प्रक्रिया अपेक्षाअनुसार अघि बढेन।
डिभिजन वन कार्यालय, विभिन्न संघ–संस्था र सामुदायिक वन उपभोक्ता समूहले पटक–पटक वृक्षारोपण गरे। बिरुवा रोपिए। आशा पलायो। तर केही समयपछि बिरुवा हराए।
समस्या एउटामात्र थिएन।
लामो समयसम्म बलिरहेको डढेलोले माटोको माथिल्लो उर्वर तहसमेत क्षति पुर्याएको थियो। त्यसैले नयाँ बिरुवालाई उम्रन र हुर्कन कठिन भयो।
त्यसमाथि अर्को ठूलो चुनौती थियो—चौरी।
यो क्षेत्र चौरीपालकहरूको पुर्ख्यौली चरन क्षेत्र हो। यहाँ चौरी खुला रूपमा चर्छन्। नयाँ उम्रिएका बिरुवाका कोमल पात चौरीको आहार बन्छन्, कतिपय बिरुवा चौरीकै खुट्टामुनि कुल्चिन्छन्।
बिरुवा जोगाउन लगाइएको तारबार पनि चौरीको धक्काले भत्किन्छ।
कतिपय अवस्थामा गोठालाले बार खोलेर बाख्रा तथा बाछाबाछीसमेत वनभित्र छाड्ने गरेको अनुभव स्थानीयसँग छ।
अर्को समस्या झन् गम्भीर थियो।
डढेलोले बीउ दिने ‘आमा रूख’ नै सखाप पारिदिएको थियो। अर्थात्, जंगल आफैँ पुनर्जन्म लिन आवश्यक प्राकृतिक बीउको स्रोतसमेत कमजोर भइसकेको थियो।
त्यसैले १७ वर्ष बितिसक्दा पनि कालो ठुटाले भरिएको त्यो डाँडाले हरियालीको प्रतीक्षा गरिरहेको थियो।
जहाँ मान्छेको हात पुग्न सकेन, त्यहाँ ड्रोन पुग्यो यही चुनौतीबीच नयाँ उपाय खोजियो।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको वन विज्ञान अध्ययन संस्थान, इसिमोड, वन तथा भू–संरक्षण विभाग, सम्बन्धित साझेदार संस्था र डिभिजन वन कार्यालय रसुवाको संयुक्त पहलमा २०८३ साउन ११ देखि १४ गतेसम्म गत्लाङमा ड्रोन सिडिङ अभियान सञ्चालन गरियो।
परम्परागत वृक्षारोपणमा मानिस बोकेर भीर–पाखामा पुग्नुपर्थ्यो। बीउ बोकेर हिँड्नुपर्थ्यो। कतिपय ठाउँमा पुग्नै सम्भव थिएन।
तर यसपटक उपाय फरक थियो।
मानिस पहाडमा उक्लिएन।
बीउ आकाशमा उड्यो।
ड्रोन डाँडामाथि पुग्यो र लक्षित क्षेत्रमा बीउ छर्न थाल्यो।
हुस्सुले ढाकेको पहाडमाथि उडिरहेको ड्रोन र तल कालो ठुटाबीचको त्यो दृश्य आफैँमा प्रकृति र प्रविधिको एउटा नयाँ संवादजस्तो देखिन्थ्यो।
बीउ मात्रै होइन, बीउभित्रै जीवनको तयारी
ड्रोनबाट बीउ छर्नु सुन्दा जति सजिलो लाग्छ, काम त्यति सामान्य थिएन।
यस अभियानमा मुख्यतः दुई प्रविधि प्रयोग गरियो।
पहिलो—सिड बल प्रविधि
वनको माटोलाई चुन, जैविक मल र राइजोबियम कल्चरसँग मिसाइयो। त्यसमा पानी थपेर डल्लो बनाइयो।
बीउलाई २४ घण्टा तातो पानीमा भिजाएर पूर्वउपचार गरियो।
त्यसपछि बीउलाई तयार गरिएको माटोको डल्लोभित्र राखेर सुकाइयो।
यी साना–साना डल्ला नै पछि ड्रोनको माध्यमबाट डढेको भूभागमा खसालिए। दोस्रो—प्रत्यक्ष छर्ने प्रविधि
बीउलाई चुन र मलसँग मिसाएर ड्रोनको फनेलमार्फत सिधै लक्षित क्षेत्रमा छरियो। यसपटक उद्देश्य केवल रूख हुर्काउनु थिएन।
वनभित्रकै गोठ्याङ र गोम्बुलेजस्ता चरन क्षेत्रमा जई घाँसको बीउसमेत छरियो।
घाँस उम्रिएपछि चौरीको आवतजावतलाई निश्चित क्षेत्रमा सीमित गर्न सकिने र वन क्षेत्रमा रोपिएका बिरुवालाई जोगाउन सकिने अपेक्षा छ।
ड्रोनले बीउ मात्र छरेन, वन पुनर्स्थापनाको रणनीति पनि बोकेको थियो। ५० हेक्टरमा २३० किलो बीउ
चार दिनसम्म चलेको अभियानमा करिब ५० हेक्टर डढेको भूभागमा २३० किलो बीउ छरियो।
त्यसमध्ये १५० किलो धुपीको बीउ ८० किलो घाँसको बीउ थियो।
कहिल्यै मानिसको हातले छुन नसक्ने जस्ता देखिने भीरहरूमा पनि अब बीउ पुगेका छन्।
तर प्रश्न अझै बाँकी छ
यी बीउ उम्रन्छन् कि उम्रँदैनन्?
उम्रिए भने बाँच्लान् कि चौरीले खाइदिन्छन्?
बाँचे भने जंगल बन्न कति वर्ष लाग्ला?
यी प्रश्नको उत्तर अहिले कसैसँग छैन। किनकि बीउ छर्नु सुरुवात हो, जंगल बनाउनु लामो यात्रा।
कालो ठुटाबीच हरियो सपनाको सुरुवात
गत्लाङको डाँडामा त्यस दिन छरिएको बीउको वजन २३० किलो मात्रै थियो। तर त्यसको अर्थ त्योभन्दा धेरै ठूलो थियो।
त्यो १७ वर्षदेखि डढेको जमिनमा जीवन फर्काउने प्रयास थियो। कालो ठुटाबीच हरियो पात देख्ने सपना थियो।
मानिसले पटक–पटक प्रयास गरेर असफल भएको ठाउँमा प्रविधिमार्फत नयाँ बाटो खोज्ने साहस थियो।
र सबैभन्दा ठूलो कुरा प्रकृतिले दिएको घाउ प्रकृतिसँगै मिलेर निको पार्न सकिन्छ भन्ने विश्वास थियो।
ड्रोन आकाशमा उडेर फर्किसकेको छ। बीउहरू माटोमा पुगिसकेका छन्। अब काम प्रकृतिको हातमा छ।
कुनै बीउ हुस्सुमा हराउला।
कुनै माटोमै पुरिएर नष्ट होला।
कुनै चौरीको खुट्टामुनि कुल्चिएला।
तर सायद कुनै एउटा बीउ उम्रिनेछ।
त्यो एउटा बिरुवा बाँच्नेछ। त्यसले अर्को बीउ दिनेछ।
अनि कुनै दिन त्यही डाँडामा कालो ठुटाको ठाउँमा हरियो रूख देखिन थाल्नेछ। त्यो दिन गत्लाङका मानिसहरूले सायद भन्नेछन्, ‘१७ वर्षअघि आगोले खोसेको जंगल फर्किन थालेछ।”
त्यसैले अहिले गत्लाङको आकाशमा उडेको ड्रोन केवल एउटा मेसिन होइन।
यो एउटा प्रश्न बोकेर उडेको छ—
‘डढेलोले मारेको जंगललाई प्रविधिले फेरि जन्माउन सक्छ?’
यसको उत्तर समयले दिनेछ। तर आशाको पहिलो बीउ भने गत्लाङको डाँडामा छरिइसकेको छ।

