इलाम । कोशी प्रदेश सरकारले प्रदेशका दुई डिभिजन वन कार्यालयमा डिभिजनल वन अधिकृतको जिम्मेवारी हेरफेर गरेको छ। मोरङमा कार्यरत डिभिजनल वन अधिकृत उत्सव थापालाई इलाम डिभिजन वन कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ भने इलामका डिभिजनल वन अधिकृत वीरेन्द्र शाहलाई तेह्रथुम डिभिजन वन कार्यालयको प्रमुखका रूपमा सरुवा गरिएको छ।
प्रदेश सरकारको प्रमुख सचिवस्तरीय निर्णयबाट बुधबार उक्त सरुवा गरिएको हो। प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा २६ बमोजिम दुवै अधिकृतको सरुवा गरिएको जनाइएको छ।
तेह्रथुममा केही महिनादेखि डिभिजनल वन अधिकृतको पद रिक्त रहँदै आएको थियो। प्रमुख अधिकृत नहुँदा कार्यालयको नियमित प्रशासनिक तथा वन व्यवस्थापनसम्बन्धी काममा समेत प्रभाव पर्दै आएको अवस्थामा नयाँ डिभिजनल वन अधिकृतको जिम्मेवारी तोकिएको हो।
मोरङबाट इलामको जिम्मेवारी पाएका थापाले इलाम जिल्लाको वन संरक्षण, व्यवस्थापन, वन पैदावारको उपयोग तथा सामुदायिक वनसँग सम्बन्धित कामको नेतृत्व गर्नेछन्। त्यसैगरी इलामबाट तेह्रथुम सरुवा भएका शाहले जिल्लाको वन प्रशासन तथा संरक्षणसम्बन्धी जिम्मेवारी सम्हाल्नेछन्।

