पोखरा । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयले केही डिभिजनल वन अधिकृत (डीएफओ) तथा वन अधिकृतहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयको बिहीवार भएको प्रमुख सचिव स्तरीय निर्णय अनुसार विभिन्न वन कार्यालय तथा निकायमा नयाँ जिम्मेवारी तोकिएको हो।
निर्णय अनुसार कोमलराज काफ्लेलाई वन निर्देशनालय, करुणा कार्कीलाई डिभिजनल वन अधिकृतका रूपमा कास्की, दीपक पण्डितलाई डिभिजनल वन अधिकृतका रूपमा बागलुङ र शिव श्रेष्ठलाई डिभिजनल वन अधिकृतका रूपमा लमजुङको जिम्मेवारी दिइएको छ। त्यस्तै, सरोज पन्थीलाई वन तथा वातावरण मन्त्रालयमा पदस्थापन गरिएको छ।
कास्की डिभिजन वन कार्यालयको नेतृत्वमा करुणा कार्कीलाई जिम्मेवारी दिइएसँगै जिल्लाको वन तथा वातावरण संरक्षणका क्षेत्रमा महत्वपूर्ण चुनौती सामना गर्नुपर्ने अभिभारा थपिएको छ । विशेषगरी वन अतिक्रमण नियन्त्रण, फेवाताल तथा यसको जलाधार क्षेत्रको संरक्षण, सामुदायिक वन व्यवस्थापन र पर्यापर्यटन प्रवर्द्धन उनका प्रमुख चुनौतीका रूपमा रहनेछन्।
कास्कीमा बढ्दो सहरीकरणसँगै वन क्षेत्रमाथिको दबाब बढिरहेको छ। सार्वजनिक तथा वन क्षेत्रको अतिक्रमण नियन्त्रणसँगै वन संरक्षण र विकासका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनु उनका लागि चुनौतीपूर्ण हुनेछ।
महिला डिभिजनल वन अधिकृतका रूपमा कास्कीको जिम्मेवारी सम्हाल्न पुगेकी कार्कीका लागि वन संरक्षणसँगै विभिन्न सरोकारवाला निकाय, स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह र स्थानीय समुदायबीच प्रभावकारी समन्वय कायम गर्नु अर्को महत्वपूर्ण जिम्मेवारी हुनेछ।

